​हिरोइन हुन चाहन्थेँ, गायिका भएँ– सहिमा श्रेष्ठ, गायिका

दृष्टि न्यूज

पाश्र्वगायन र स्टेज कार्यक्रमका लागि चर्चित र व्यस्त गायिका हुन्, सहिमा श्रेष्ठ । उनलाई ‘यो वर्ष कतिवटा स्टेज कार्यक्रम गरेँ’ थाहै छैन । ‘एक सयभन्दा बढी नेपालमै गरेँ होला, गन्ती नै छैन’ सहिमाले भनिन्, ‘विदेशमै डेढ दर्जनभन्दा बढी कार्यक्रममा पर्फमेन्स गरेँ ।’ पाश्र्वगायनमा सहिमा ‘आइटम नम्बर’बाट चम्किएकी हुन् । ‘आइटम गीत’ र स्टेज पर्फमेन्स पनि ‘आइटम’ नै, यही नै सहिमाको विशेषता पनि । सयौँ आधुनिक र दर्जनौँ नेपाली फिल्ममा ‘आइटम नम्बर’ गाएर ‘नम्बर एक’ गायिका बनेकी सहिमा नाच्न पनि पारंगत छिन् । उनी स्टेजमा नाच्दै गाउँछिन् । जसलाई आफ्नो ‘स्टाइल’ भन्छिन् । यिनै सहिमासँग एमपी सुब्बाको जम्का भेट :
तपाइँ हिजोआज साहै्र व्यस्त देखिनुहन्छ नि ?
व्यस्त नै छु । रेकर्डिङमा भन्दा स्टेज कार्यक्रममा व्यस्त छु । साथै, केही साताअघि मात्र आफ्नो भिडियो रिलिज गरेकी थिएँ, त्यसको प्रमोशन पनि गर्दैछु । अब आउँदो शुक्रबार नयाँ भिडियो रिलिज गर्दैछु ।’
यो वर्ष साह्रै व्यस्त हुनुभयो । कतिवटा स्टेज शो गर्नुभयो नि ?
गन्ती छैन । दिनैजस्तो गर्दै आएकी छु । कहिलेकहिँ त एक दिनमै दुईटा शोसम्म गर्न भ्याएकी छु । गनेको भए एक सयभन्दा माथि पुग्थ्यो होला ।
स्टेज शोबाट राम्रो आम्दानी हुन्छ भनिन्छ, त्यसो भए यो वर्ष टन्नै कमाउनु भयो होइन त ?
आम्दानी नहुने होइन, हुन्छ । कमाए पनि होला । तर, जति कमाए पनि बच्दैन । जति व्यस्त भइन्छ, त्यहीअनुसार आफूलाई मेन्टेन्स गर्नुपर्छ । कमाएको पैसा मेन्टेन्समै जान्छ ।
तपाइँ कतिको फेसन कन्सस हुनुहुन्छ ?
म फेसन कन्सस होइन । तर, बाध्यताले बनाउँदोरहेछ । एउटा स्टेजमा लगाएको लुगा अर्को ठाउँमा त्यही लगाउन मिल्दैन । हरेक स्टेजमा नयाँ लुगा लगाउँदा फेसन कन्ससजस्तो देखिएकी छु ।
तपाइँ स्टेज शोमै व्यस्त देखिनुहुन्छ । कतिखेर गीत रेकर्डिङ गर्नुहुन्छ ?
समय मिलाएर गर्छु । स्टुडियोमा गीत गाउन धेरै समय पनि त लाग्दैन । काठमाडौंमा भएका बेला गीत रर्कड गर्छु । 
तपाइँ फिल्म र आधुनिक कुन बढी गाउनुहुन्छ ?
उस्तै होला । फिल्मका गीत पनि गाइरहेकी हुन्छ । आधुनिक पनि गाएकै छु । समग्रमा भन्नुपर्दा बराबरजस्तै गाउँदै आएकी छु ।
फिल्म र आधुनिक गीतमध्ये फाइदा कुनमा छ ?
उस्तै–उस्तै हो । राम्रो ब्यानरको फिल्ममा गाउँदा राम्रो प्रमोशन हुन्छ । त्यसले चर्चामा ल्याउँछ । कुनै–कुनै आधुनिक गीतले पनि राम्रो प्रमोशन गरेको हुन्छ । 
तर, तपाइँ त फिल्मकै गीतबाट चम्किनुभयो नि ?
त्यसै भन्नुपर्ला । तर, मैले गाएका आधुनिक तथा अरु गीत पनि दर्शकले रुचाएका छन् । फिल्ममा गाएका आइटम नम्बर गीतहरु बढी चर्चामा आएकाले यस्तो देखिएको मात्र हो ।
तपाइँ यति व्यस्त हुनुहुन्छ । गायनमा आफ्नो रेट राख्नुभएको छ ?
नर्मले कसैलाई घाटा नहुने गरी आफ्नो रेट राखेकी छु । मेरो स्टुडियो रेट भनेको एउटा गीत गाएको न्युनतम १५ हजार रुपैयाँ लिन्छु । अब बढीमा त जति पनि हुनसक्छ । अहिलेको महँगीमा खाश १५ हजार धेरै पनि होइन । 
तपाइँ स्टेज कार्यक्रममा गाउँदा खुबै नाच्नुहुन्छ है ?
हो, यो मेरो आफ्नै स्टाइल हो । स्टेज कार्यक्रम भनेको दर्शकलाई मनोरञ्जन प्रदान गर्नु पनि हो । त्यसैले पनि दर्शकसँगै नाच्दै गाउने गर्छु । दर्शकसँग नाच्दै गाउँदा रमाइलो लाग्छ ।
तपाइँ राम्रो नाच्नु पनि हुन्छ । फिल्म हिरोइन बन्ने मन छैन ?
म सानैदेखि नाच्थे । गायनमा आउनुभन्दा अगाडि फिल्ममा हिरोइन बन्ने मेरो रहर थियो । तर, घर परिवारले हिरोइन बन्न दिनुभएन । त्यसपछि गायनमा लागेकी हुँ ।
मोडलिङ त गर्दै आउनुभएको छ नि ?
मोडलिङ आफ्नै गीतमा मात्र गर्दै आएकी छु । अरुको भनेको अञ्जु पन्त दिदीको एउटा गीतमा गरेकी छु । त्यो पनि बाध्य भएर गरेकी हुँ । मलाई अरुको गीतमा मोडलिङ गर्ने मन छैन ।
धेरै स्टेज कार्यक्रम गर्नुहुन्छ । कस्ता–कस्ता फ्यानहरु भेट्नु भएको छ ?
फ्यानको त कुरै छाडौँ । स्टेजमै आएर गुलाबको फूल दिनेदेखि लिएर तिमी विना बाँच्नै सक्दिनँ भन्नेहरुसम्म पनि भेटेकी छु ।
प्रेम प्रस्तावचाहिँ कतिको आउँछ ?
केटी मान्छे हुँ, नआउने कुरै भएन नि । त्यसरी प्रेम प्रस्ताव आउनुलाई म नराम्रो मान्दिनँ किनकि, माया गर्नु भनेको त राम्रो नि । पे्रम स्वीकार्नु वा नस्वीकार्नु आफनै ठाउँमा छ । 
तपाइँलाई आफ्नो क्षेत्रमा खराब कहाँ र केमा लाग्छ ?
खाशै खराब छैन । यो कलाकारिता क्षेत्रमा मलाई एउटै कुरामा मात्र खराब लाग्छ । त्यो के भने जोसँग हिड्यो, कफि खायो, त्यहीसँग नाम जोड्ने र हल्ला गर्ने प्रवृति खराब लाग्छ । एउटै क्षेत्रको भएपछि कामले भेट्दा समेत यिनीहरु डेटिङमा रहेछन् भन्ने गर्छन् । त्यो पनि बाहिरका मान्छेले नभएर कलाकारिता क्षेत्रकै मान्छेहरुले यस्तो सोच्छन् । मलाई यस्तो प्रवृति पटक्कै मन लाग्दैन । 

Related News