​इन्स्पेक्टरबाट प्रताडित सई

बुटवल, २५ पुस । ओभरलोड सवारी साधन नियन्त्रण गर्दा रुपन्देहीका एक ट्राफिक प्रहरीलाई उनका हाकिमले उल्टै कार्वाही गर्ने चेतावनी दिँदै पटक–पटक स्पष्टीकरण लिएर हतोत्साहित पारेका छन् । 
जिल्ला ट्राफिक कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले ओभरलोड सवारी साधन नियन्त्रण गरेकोप्रति असहमति जनाउँदै मुर्गियाका ट्राफिक सई दामोदर मल्ललाई स्पष्टीकरण सोधेका हुन् । घटना गत पुस १४ गतेको कपिलवस्तुको कृष्णनगर नाकाबाट बुटवलका लागि आएका ६ बटा ट्रक ओभरलोड भेटिएपछि सई मललले आफ्नो ड्यूटी निर्वाह गर्दै कार्वाहीका लागि ट्रकहरु लुम्विनी अञ्चल यातायत कार्यालय बुटवलमा पठाएका थिए । यातायतले ओभरलोड बोकेका ट्रकहरुलाई जरिवाना गरेपछि मल्लले ट्रक छाडिदिएका थिए । 
भोलिपल्ट ओभरलोड बोकेका ट्रक कार्वाहीमा परेको समाचार स्थानीय एक पत्रिकामा मल्ललाई हवला दिँदै प्रकाशित भयो । समाचार प्रकाशित भएपछि ट्राफिक प्रहरी निरीक्षक बस्नेतले कार्वाहीको खबर मिडियालाई किन दिएको भन्दै मल्ललाई २४ घण्टाभित्र जवाफ पेश गर्न भन्दै पत्र काटेका थिए । 
जिल्ला ट्राफिक प्रहरी स्रोतका अनुसार मल्लले पहिलो स्पष्टीकरणको जवाफ दिएपछि पुनः जवाफ चित्तबुझ्दो नआएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधेर कार्वाही गर्ने तयारीमा छन् । ट्राफिक स्रोतका अनुसार बेलहिया नाका हँुदै भित्रिने ओभरलोडको बारेमा ब्यापक विरोध भएपछि यहाँ पछिल्ला दिनहरुमा ओभरलोडमा कडाई भएको छ । भैरहवा नाका हुँदै ओभरलोड बोक्न नपाएपछि केही ब्यापारीले जिल्ला ट्राफिक प्रहरीसँगको सेटिङमा कृष्णनगर नाका हुँदै ओभरलोड भित्र्याइएको थियो । केही महिनायता कृष्णनगर नाका हुँदै बुटवलमा दैनिक दर्जनौ ट्रकहरु सेटिङमा बुटवल भित्रिरहेका थिए । 
त्यसरी भित्रिरहेको ओभरलोड नियन्त्रणका लागि मल्लले सक्रियता देखाए पनि जिल्लाले सिधैँ नरोक भन्न नसकेर समाचारको बिषयलाई लिएर कार्वाही अगाडि बढाउन थालेको ट्राफिक स्रोतको दावी छ । यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेका मल्लले भैरहवामा अब्यबस्थित ठेला नियन्त्रणमा सक्रियता देखाएका थिए । त्यसलगत्तै उनलाई अस्थायी ट्राफिक चेकपोष्ट बेलहिया पठाइएको थियो । बेलहियामा गएपछि उनले ओभरलोड नियन्त्रण अभियान थालेका थिए । उनको अभियानलगत्तै ओभरलोडमा केही सुधार आइरहेको थियो । ओभरलोड नियन्त्रण अभियानमा सक्रिय रहिरहेका बेला उनलाई जिल्लामा तानिएको थियो । जिल्लाबाट उनलाई मुर्गियामा पठाइएको हो । मुर्गियामा पनि उनले ओभरलोड नियन्त्रण अभियान चलाउन थालिरहेका बेला जिल्ला ट्राफिकले उनको मनोवल गिराउने उद्देश्यले स्पष्टीकरण सोधेको हो । 

Related News