टुँडिखेलमा आज आयोजित सलमान खानको कार्यक्रम स्थगित

२० हजार दरका पाँच हजार टिकटको पैसा फिर्ता अन्योलमा

दृष्टि न्यूज

काठमाडौं । 
भारतीय सांस्कृतिक अभियानसहित नेपाल आउन लागेको बलिउड सुपरस्टार सलमान खानको नेपाल आउने कार्यक्रम दोस्रो पटक स्थगित भएको छ । भोलि जेठ १२ गते शनिबारका लागि तोकिएको कार्यक्रम स्थगित भएको आयोजक संस्था ओडिसी नेपालले बक्तव्यमार्फत जनाएको छ । यसअघि गत मार्च १० मा नेपाल आउने कार्यक्रम एक साताअघि स्थगित गरिएको थियो । 
एकीकृत जनक्रान्तिको नारा दिएर विभिन्न गैर राजनीतिक गतिविधि गर्दै आएको नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरको धम्कीका कारण दोस्रो पटक पनि खानको नेपाल भ्रमण स्थगित भएको हो । 


‘द ब्यांग टुर’ नामक भारतीय सांस्कृतिक परियोजना अन्तर्गत नेपाल आउन लागेको खानको सो पार्टीले चर्को विरोध गर्दै आएको थियो । भारतीय सांस्कृतिक साम्राज्यवादको विस्तार र नेपाली माटोमा विदेशी सांस्कृतिको प्रभाव रोक्न माग गर्दै सो पार्टीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले सशक्त विरोध गर्दै आएको थियो । 
कार्यक्रमको आयोजक संस्थाले ओडीसी इन्टरनेसनलले फेसबुक पेजमा एक सूचना मार्फत विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाउँदै अर्को सूचना नभएसम्मको लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । 


खानको नेपाल यात्रा स्थगित गरिएको सम्बन्धमा ओडिसीसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । उता, विरोधी संस्था अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले भने नेपाली संस्कृतिमाथिको विदेशी संस्कृतिको साम्राज्यवादी हैकम लाद्ने प्रयास संगठनको निरन्तर अभियानद्वारा असफल बनाएको प्रतिक्रिया दिएका छन् । थपलियाले संक्षिप्त प्रक्रियामा भने, ‘म फेरि पनि आयोजक संस्था र सुपरस्टार सलमान खानलाई आग्रह गर्न चाहन्छु, सलमान खानलाई व्यक्तिगत रुपमा स्वागत गर्न हामी तयार छौं तर दबङ द टूर नामक भारतीय संस्कृति विस्तार गर्ने अभियान नेपालमा सफल हुन दिदैनौं ।’ उनले नेपालमा बढ्दो विदेशी संस्कृतिको अतिक्रमणप्रति जनतामा आएको चेतनाको कारण अभियान सफल भएको प्रतिक्रिया दिए ।

आयोजक संस्था ओडिसीका अनुसार प्रतिटिकट २० हजार, १० हजार, पाँच हजार र तीन हजार दरका कूल पाँच हजार वटा टिकट बिक्री भइसकेका छन् । करिब चार महिनाअघि देखि टिकट काटेको ओडिसीले उपभोक्ताको टिकटको पैसा फिर्ता गर्ने पहल नगरी अझै अर्को सूचनाको बाहाना गर्नु ठगी भएको गुनासो दर्शकहरुले गरेका छन् । ओडिसीले केही करोड रुपैयाँ सो कार्यक्रमबापत खर्च गरिसकेको छ भने टिकट फिर्ता गर्न गर्न रकम अभाव समेत हुनसक्ने अनुमान गरिएको छ ।

Related News