​समाज जाग्दा, अभियानमा सफलता

दृष्टि न्यूज

जीवन डाँगी, रोल्पा १८ पुस । समाज परिवर्तनका लागि शिक्षाको निकै महत्वपूर्ण भूमिका हुन्छ तर, पनि स्तरीय शिक्षामा कसैको ध्यान केन्द्रित भएको देखिँदैन । पछिल्लो समयमा बिभिन्न तहबाट शैक्षिक सुधारका बहस सुरु हुन थालेका छन् । समुदायमा शिक्षाप्रति नागरिकमा चेतना पलाउँदा केही अभियानको सुरुवात भएको छ ।
समाजमा प्राविधिक शिक्षाको चर्चा छ । तर पनि शिक्षामा लगानी गर्ने निकायको भने कमी देखिन्छ । रोल्पा सदरमुकामबाट झण्डै ५५ किलोमिटरको दूरीमा रहेको सुकिदह गाउँपालिकाको नमूना विद्यालय बनाउने प्रयासमा लागेको छ । सुरु सुरुमा अभियानले सफलता पाउनेमा, कसैलाई विश्वास भने लागेकै थिएन । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि त्यहाँका सरोकारवाला र देश तथा विदेशबाट चर्चा सुरु भयो । नमूना अभियानका लागि सहयोगी हात पनि फैलिँदै गए ।
सिद्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालय बनाउने अभियानमा यहाँका अभिभावक दिनराँत नभनी खटिरहेका छन । प्रविधियुक्त विद्यालय बनाई, रोजगारीको लागि विदेशमा गएका नेपाली र शिक्षामा सरोकार राख्नेहरुले विद्यालयलाई सहयोग गरिरहेको विद्यालयका प्रधानध्यापक गोरखबहादुर वलीले जानकारी दिए ।
गैर आवासीय नेपाली संघ स्वीडेनको सहयोगले विद्यालयमा २ कोठे आधुनिक भवन बनेको छ । विद्यालयको अगाडि सानो प्रांगण थियो । अहिले मेसिन लगाएर मैदानको आकार चौडा भएको छ । चौर फराकिलो हुँदा आफूहरुलाई खेल्न तथा अन्य शैक्षिक क्रियाकलाप गर्न सहज भएको विद्यार्थीले भने ।
शिक्षामा सहयोग गर्न पाउँदा, हर्सित छु : दधि
दधि आर्चाय पर्वतबासी हुन् । उनी यतिबेला रोजगारीका लागि बेलायत पुगेका छन् । आर्चाय पर्वत सेवा समाज युकेकोे अध्यक्षसमेत हुन । उनले नेपालका बिभिन्न गाउँमा बिभिन्न प्रयोजनका लागि सहयोगी हातहरु फैलाएका छन् ।
विद्यालयको अक्षयकोषका लागि दधिले ५१ हजार सहयोग गरेका छन् । उनीसँगै विदेशमा बस्ने धेरै नेपालीहरुले नमूना विद्यालय बनाउने अभियानमा साथ दिएका छन् ।
समाज रुपान्तरणका लागि लागिपरेका जो कोहीलाई पनि आफूहरुले सहयोग गरेको उनले बताए । शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा आफूहरु निकै हर्सित भएको दधिको भनाइ छ । आवश्यक परे जुनसुकै समयमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । युग सुहाउँदो शिक्षा प्राप्तिका लागि समाज जाग्नुपर्ने दधिले बताए ।
अभियानले सफलता पाउँदै
नमूना विद्यालय सुरुवात गर्न निकै कठिनाई भए पनि, अहिले अभियानमा सहयोगी मनहरुको संख्या बढ्दै गएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलकराम वलीले बताए । रोल्पाका मात्रै होइन, हामी राप्तीकै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने अभियानमा लागेका छौँ– नमूना विद्यालय अभियानका संयोजक प्रेमबहादुर वलीले भने । शैक्षिक जागरणका निम्ति सबै सरोकारवाला पक्षमा सहयोग गर्न समेत उनले आग्रह गरे ।
स्वीडेन बन्यो, ५३ विद्यार्थीको सहयोगी 
चाईल्ड टु चाईल्ड कार्यक्रमबाट ५३ जना गरिब, अपांग, जेहेन्दार तथा द्वन्द्वपीडित बालबालिकाहरु छनौट भएका छन् । शैक्षिक सामग्री उपलब्ध गराउने नमूना विद्यालय अभियानका संयोजक प्रेमबहादुर वलीले बताए ।
चाईल्ड टु चाईल्डु कार्यक्रम, गैरआवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठको पहलमा २ वर्षका लागि सम्झौता भएको छ । स्वीडेनमा बस्ने नेपालीहरुका बालबालिकाहरुको खाजा खर्चबाट बचेको रकम, सिदार्थ माविका यी विद्यार्थीहरुले पाउनेछन् ।

Related News