​समतामूलक दसैँको पक्षमा

दृष्टि न्यूज

 हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण चाड दसैँ भित्रिसकेको छ । धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने गरिन्छ । यसको सांस्कृतिक पक्ष अझ विशाल छ । भिन्नभिन्न भाषा, जाति वा भूगोलका नेपालीलाई एकआपसमा जोड्ने बलियो कडीका रूपमा यो पर्व रहँदै आएको छ । धनी गरिब यसभित्रका केही कुरीतिलाई छाड्दिने हो भने दसैँ भातृत्व विकास, सामाजिक सद्भाव र पारस्परिक प्रेम विकासको एउटा महत्वपूर्ण माध्यम हो । हो, त्यही दसैँ घरघरमा भित्रिएको छ । 
समाजमा विद्यमान अन्याय, अत्याचार, विभेदमाथिको विजयको प्रतीक दसैँको सार्थकता चाहीँ हाम्रो समाजमा कति स्थापित छ ? यो प्रश्न अहिले पनि उत्तिकै सान्दर्भिक छ । दसैँलाई मूलतः असत्यमाथि सत्यको विजयपछिको उत्सव भनिए पनि नेपाली समाज त्यो दिन ल्याउन वर्षौंदेखि संघर्षरत छ । नेपाली समाजमा अहिले पनि जातीय, भाषिक, लैंगिक विभेद कायम छ । आर्थिक शोषण, उत्पीडन कायमै छ । वर्षौंदेखि नेपाली समाजमा विद्यमान यो विभेद अन्त्यका निम्ति धेरै प्रयत्न भएका छन् । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको गठनपश्चात यसले संगठित स्वरूप ग्रहण गरेको हो । त्यसैले नेपाली समाज अहिले जुन राजनीतिक, सामाजिक परिवर्तनको लक्ष्यनजिक आइपुगेको छ, यसको श्रेय २००६ साल वरिपरिको त्यही परिघटनालाई जान्छ । लक्ष्य पूर्णतः प्राप्त भइसकेको भने छैन । समुन्नत समाजवाद प्राप्त नभएसम्म समानताको समाज र विजयको उल्लास मनाउने दिन आइसकेको मान्नु हुँदैन । 
संगठित पहलयता नेपाली नागरिकले ६९ वर्ष बिताएका छन् । अर्थात, त्यति नै दसैँ मनाएका छन् । तै पनि समाजमा विभेदको अन्त्य भएको छैन । भेदभाव हट्न सकेको छैन । आखिर किन ? दसैँलाई राजनीतिक लक्ष्य प्राप्तिको अभियानसँगसँगै जोड्ने नेताहरूको अभावका कारण यसो भएको हो । यही समाजमा त्यस्ता केही पात्र भने थिए, जसले आफ्नो जीवन कालभरि दसैँलाई राजनीतिक परिवर्तनको महान् उद्देश्यसँग जोडे । श्रद्धेय मदन भण्डारी तिनैमध्येका एक हुन् । उनले पार्टीको नेतृत्व गरुञ्जेल सचेततापूर्वक दसैँलाई राजनीतिक अभिष्ट पूरा गर्ने माध्यमकै रूपमा मनाए । अर्थात् सत्यको जितको वास्तविक प्राप्तिको दिशामा दसैँलाई डो¥याउने चेष्टा गरिरहे । 
तिनै पुष्पलाल र मदन भण्डारीले देखेको समाजवादको लक्ष्य पछ्याउने क्रममा मुलुकमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा बलियो पार्टीका रूपमा स्थापित छ । उसकै नेतृत्वमा दुईतिहाइ नेतृत्वको बलियो सरकार बनेको छ । उसकै नेतृत्वदायी पहलमा तीन वर्षअघि जारी भएको संविधानले समाजवादउन्मुख लक्ष्य लिएको छ । र, त्यही लक्ष्य पूरा गर्ने प्रमुख कार्यभार पार्टी नेतृत्व तथा सरकार प्रमुख केपी शर्मा ओलीको काँधमा आएको छ । तर, उनी कसरी अगाडि बढ्छन् भन्ने कुराले समाजवादको लक्ष्यमा उनी सहयोगी बन्छन् कि बन्दैनन् भन्ने निक्र्यौल गर्नेछ । 
दृष्टि साप्ताहिकको जन्म पुष्पलालले देखेका सपना साकार पार्नकै निम्ति भएको हो । समाजवादी मुलुक निर्माणको उद्देश्य पूरा गर्न दृष्टि सधैँ साधक बनिरह्यो । हिजोजस्तै आज पनि दृष्टि आफ्नो लक्ष्यमा अडिग छ । अविचलित छ । र, पार्टी र सत्तामा बसेकाहरूलाई दायाँबायाँ हुन नदिन प्रतिबद्ध छ । दसैँलाई वास्तविक विजयको उत्सव बनाउन हामी निरन्तर लागिरहेका छौँ । घरदैलोमा आइसकेको यस वर्षको दसैँले यसको वास्तविक अर्थ पूरा गर्ने गरी समाजको बदलावका निम्ति अघि बढ्न सबैलाई प्रेरित गरोस् । दृष्टि साप्ताहिकको तर्फबाट हार्दिक मंगलमय शुभकामना । 

Related News