​संविधानले ‘विद्रोह’ जन्माउन सक्छ

शम्भु श्रेष्ठ

शम्भु श्रेष्ठ । चौथो संविधान दिवस मनायौं । संविधानका बारेमा विभिन्न गुलिया भाषणमा रमायौं । संविधानसभाबाट जारी भएको यो संविधानलाई एकथरिले उत्कृष्ट संविधान भनिरहेका छन् । अर्काथरि संविधान दिवसलाई ‘कालो दिवस’भनिरहेका छन् । उत्कृष्ट र कालो भन्ने दुवै सरकारमा छन् । लोकतान्त्रिक व्यवस्था भनेको संसारकै सबैभन्दा खत्तम व्यवस्था हो भनिन्छ । तर, यो भन्दा अर्को उत्तम व्यवस्था नभएकोले लोकतान्त्रिक व्यवस्थालाई नै राम्रो भन्नुपरेको छ । संविधान आफैँमा पूर्ण कुरा होइन । यो संविधानलाई लिएर उपप्रधानमन्त्री उपेन्द्र यादवले असन्तुष्ट जनाएका छन् । दुई नम्बर प्रदेशका मन्त्रीहरु संविधानको विरुद्ध आवाज उठाइरहेका छन् । यही संविधानअन्तर्गत निर्वाचित भएर सांसद बनेकाहरु पनि संविधानको विरोधमा उत्रिएका छन् । यो विरोधलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै यो संविधान शिलालेख होइन, संशोधन हुनसक्छ भनिरहेका छन् । संविधान संशोधन गर्ने शर्तसहित मधेसी फोरम सरकारमा सहभागी भएको छ । यो संविधानप्रति असन्तुष्ट छिमेकी राष्ट्रले नाकाबन्दी नै लगाउनु प¥यो । मधेसमा त्यत्रो आन्दोलन भयो । तै पनि संविधानमा आफ्ना माग समेटिने आशाले मधेसकेन्द्रित दलहरु तिनै तहको निर्वाचनमा सहभागी भए । मधेस केन्द्रित दलहरुको माग सम्बोधन नहुँदासम्म यो संविधानले पूर्णता पाउन सक्दैन भन्ने उनीहरुको दाबी छ ।
समयमै ध्यान दिन सकिएन भने यो संविधाननै असन्तोष र विद्रोहको बिऊ रोप्ने कारण हुनसक्छ । एक मधेस एक प्रदेशको माग लिएर लामो समयसम्म आन्दोलनरत दलहरु दुई नम्बर प्रदेशमा खुम्चिएका छन् । थारुहटको मुद्दा अहिलेका लागि ओझेलमा परेजस्तो देखिए पनि त्यो कुनै बेला ब्यूतन सक्छ । प्रदेशको नामांकन र राजधानीको मुद्दा पनि थाँती नै रहेको छ । पूर्व माओवादीले जातिय द्वन्द्व निम्त्याउन विभिन्न जातजातिलाई उचालेको कारण प्रदेशहरुको नाम पनि जातीय आधारमा गरिनुपर्ने आवाज उठेको छ । बाहिरबाट हेर्दा यो संविान शान्त नदीजस्तो देखिन्छ । यसप्रतिको असन्तुष्टि तीव्र धारको रुपमा बगिरहेको छ । यो ख्यालठट्टा गर्ने विषय होइन । संविधानलाई लिएर असन्तोष पोखेका समूह वा दलहरुसँग समयमै वार्ता गरेर समस्या सुल्झाइएन भने यही संविधानलाई टेकेर अर्को विद्रोह जन्मन सक्छ ।
लोकतन्त्र भन्ने शब्द आफैँमा केही होइन । यसको सामान्य अर्थ जनताद्वारा जनताका लागि निर्वाचित सरकार हो भन्ने बुझिन्छ । यस अर्थमा लोकतन्त्र भनेको एउटा विधिको शासन व्यवस्था हो । जसको माध्यमबाट देश र जनता अगाडि बढ्छन् । छिमेकी भारतलगायत बेलायत, अमेरिका, युरोप, जापानजस्ता देश यही विधिको माध्यमबाट समृद्ध बनेका छन् । तिनको दाँजोमा हामी पुग्न सबैभन्दा पहिला शासक देश र जनताप्रति इमान्दार बन्नुपर्छ । राजनीति गर्ने हरेक व्यक्ति उच्च नैतिकवान हुनुपर्छ । बोलेका कुरा पु¥याउने नेता नै राजनेता बन्ने हो । नेपालमा त्यसको ठिक उल्टो संस्कार बसेको छ ।
राजनीतिमा लामो समय गुजारेका जस्तासुकै त्यागी नेता भए पनि पदमा पुगेपछि बद्नाम भएको इतिहास छ । यसो हुनुको पछाडि पद र शक्तिको दुरुपयोग नै हो । ००७ सालदेखि लोकतन्त्रका लागि लडेका नेताहरु लोकतन्त्र आइसकेपछि बद्नाम हुनुपर्ने कारण अरु नभएर आफ्नो व्यवहार र चरित्र नै हो । यो कुरामा सुधार ल्याउन नसक्ने नेता जति पटक प्रधानमन्त्री, मन्त्री बने पनि उनीहरुलाई जनताले पत्याउँदैनन् । लोकतन्त्रमा निर्णायक शक्ति भनेकै जनता हुन् । विगतमा नेपाली कांग्रेस, माओवादी र एमालेलाई जनताले छानीछानी हराएको, छानीछानी जिताएको इतिहास पनि छ ।
अन्त्यमा, यो संविधान एउटा किताब हो । त्यहाँभित्र लाखौं हजारौं शब्द होलान् । त्यो शब्द घोकेर देश बन्दैन । देश बनाउन ती शब्दलाई व्यवहारमा लागू गर्नुपर्छ । संविधानप्रति असन्तुष्ट  दलहरुले पनि आफ्नो माग सडकमा होइन, सदनमा राख्नुपर्छ । वार्ता, सहमतिबाटै संविधानको मुद्दा टुंग्याउनु पर्छ । जनताबाट निर्वाचित भएकाहरु नै कालो झण्डा बोकेर संविधानविरुद्ध सडकमा प्रदर्शन गर्ने चरित्र लोकतान्त्रिक चरित्र होइन ।

Related News