समृद्ध नेपालको ढोका खोल्न चीनको यात्रा

​रमेश घिमिरे

रमेश घिमिरे ।  नेपाली जनताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमण जुन १९ देखि हुने भएको छ । यद्यपि, यसको आधिकारिक घोषणा हुन भने अझै बाँकी छ ।
यसभन्दा पहिले प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीताका मार्च २० देखि २७ सम्म चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा उत्तरी छिमेकी चीनको भ्रमण गरेर दक्षिणी छिमेकीसँगको निर्भरताबाट नेपाललाई मुक्त गराउनाका निम्ति युगान्तकारी सम्झौता गरेका थिए ।
आफूले गरेका ती १० बुँदे सम्झौताको शीघ्र कार्यान्वयन नै प्रधानमन्त्री ओलीको मुख्य उद्देश्य हुनु पर्दछ । त्यसबेला गरिएको सम्झौतापत्रमा निम्न बुँदा समाविष्ट छन् ।
१. नेपाल–चीन पारवहन सम्झौता ।
२. कर्णाली प्रदेशको हुम्लामा रहेको हिल्सामा सीमा नदीमाथि पुल निर्माण गर्ने, त्यसको व्यवस्थापन र त्यसको मर्मतसम्भा सम्बन्धी सम्झौता ।
३. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना कार्यान्वयनको लागि आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता ।
४. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना कार्यान्वयनको लागि मिश्रित ऋणको प्रावधानसहितको खाका सम्झौता ।
५. नेपालमा तेल र ग्यासको खोजीमा चिनियाँ सहयोग सम्बन्धमा सम्भाव्यता अध्ययन सुरु गर्नाका निमित्त पत्र आदान–प्रदान ।
६. जलवायु परिवर्तनलाई सम्बोधन गर्ने वस्तुको व्यवस्थासम्बन्धी समझदारीपत्र ।
७. खुला व्यापार क्षेत्रको सम्भाव्यता अन्ययन सम्बन्धमा संयुक्त अध्ययन थाल्नेबारेको समझदारी ।
८.  बौद्धिक सम्पत्ति प्रणाली सुदृढ पार्ने सम्बन्धी समझदारीपत्र ।
९.  चीनको बैंकिङ नियमन आयोग र नेपाल राष्ट्र बैंकबीच समझदारीपत्र ।
१०. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौता ।
यी सम्झौता समझदारी बाहेक केरुङ–काठमाडौं रेल, जलविद्युत विकास, अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माण, अवरुद्ध तातोपानी नाका खोल्ने, इन्धन भण्डारण तथा इन्धन व्यापार विषयहरुले पनि प्रवेश पाएका थिए ।
यसपछि २०७५ जेठ १८ मा चीनले विश्वलाई नै जोड्न अघि सारेको ‘वान बेल्ट वान रोड’मा नेपाल सहभागी भइसकेको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शंकर बैरागी र चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए । चीन–नेपाल सम्बन्धमा यो सम्झौतालाई कोसेढुंगाका रुपमा लिन सकिन्छ । आगामी दिनमा नेपाल–चीन सम्बन्धका सबै पाटाहरु  यसै सम्झौताले निर्देशित हुनेछन् । ओबिओआर परियोजना चिनियाँ राष्ट्रपति सी जिन पिङद्वारा चीनलाई केन्द्रमा राखेर विश्वलाई जोड्न सुरु गरिएको महत्वाकांक्षी परियोजना हो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जुन परिकल्पना गरेका छन्, त्यो परिकल्पना त्यति बेला मात्रै साकार हुनेछ जब चीनसँग आफूले गरेका पूर्व सम्झौतालाई इमान्दारिताका साथ कार्यान्वयनमा ल्याइने छ । २०–३० वर्षको छोटो समयमै चीनले विश्वलाई नै चकित पार्ने गरी जुन आर्थिक विकास गरेको छ, नेपालले त्यसको सिको गर्दै नेपाललाई समृद्ध बनाउने योजना यस भ्रमण लगत्तै थाल्नु पर्दछ ।
(स्वतन्त्र पत्रकार) rmshghimire@yahoo.com

Related News