​वाहवाही पाएर क्रिकेटर सन्दीप फर्किए

दृष्टि न्यूज

काठमाडौं, ८ जेठ ।
एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पिनर सन्दीप लामिछाने मंगलबार नेपाल फर्किएका छन् । १७ वर्षीय सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरेका थिए । 
सन्दीपले आइपिएलबाट आफूले धेरै कुरा सिकेको बताउँदै भने, ‘त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्नेछु ।’
उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा समेत व्यक्त गरे । सन्दीपले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । तीन खेलमै उत्कृष्ट प्रदर्शन गर्दै उनले कूल ५ विकेट झारेका थिए । सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । 

Related News