​सपनाबाटै तर्सिने रोग

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाबाटै तर्सने नेपाली कांग्रेसले संसदमा कस्तो खालको रचनात्मक भूमिका खेल्ने हुन् भन्ने कुराले धेरैको मथिंगल खल्बलिएको छ । प्रमुख प्रतिपक्षको रुपमा रहेको कांग्रेसले ओली सरकारले गरेका राम्रा कामहरुको विरोध मात्रै नगरे पनि कांग्रेस सुधारिएको अनुभूति जनताले गर्ने थिए । तर, दुर्भाग्य ओली सरकारले सय दिनमा गरेका राम्रा कामलाई राम्रो भन्न पनि कांग्रेस हिचकिचाइरहेको छ । उसको यस्तो चरित्रले रचनात्मक भूमिकाको आशा गर्नु पनि व्यर्थ हुन्छ । कांग्रेस पार्टी नेपालको इतिहासमा यति कमजोर र निरीह देखिएको यो नै पहिलो पटक हो । खासगरी यसको नेतृत्व ‘भिजन’विहीन मात्र होइन, भ्रष्ट भएको कारण सिंगो कांग्रेसको मनोबल गिर्दो छ । कांग्रेसको मनोबल बढाउन केही नेताहरु जागे पनि नेतृत्वले आफ्नो कमी कमजोरी नठम्याएका कारण विपीले जन्माएको कांग्रेस आज सिद्धान्तविहीनहरुको भीडमा परिणत हुँदै गएको छ । यदि त्यसो नहुँदो हो त आफूले चुनाव हार्नुको कारण वाम गठबन्धनलाई दिने थिएनन् । वाम गठबन्धन नभइदिएको भए पनि कांग्रेस यो परिणामभन्दा माथि उठ्ने ठाउँ थिएन । त्यसको आधार कांग्रेसले स्थानीय निकायको निर्वाचनमा गुमाइसकेको थियो । नेपाली कांग्रेसका सभापति स्वयंले भरतपुर पुगेर ‘हसिया हथौडा’लाई भोट मागेको दिनदेखि कांग्रेसले नैतिक हैसियत गुमाएको हो । विचार मिल्ने पार्टीबीच एकता, गठबन्धन हुनु स्वभाविकै हो । तर, विचारै नमिल्ने पार्टीसँग चुनावी गठबन्धन गर्नु कांग्रेसको गल्ती थियो भनेर सरल भाषामा निष्कर्ष निकाल्न नसक्ने पार्टीले आफूलाई कसरी सुधारको बाटोमा लैजाला भन्ने चिन्ता कांग्रेसका कार्यकर्ताले लिनुपर्छ ।
जननेता मदन भण्डारीले आफूलाई मन पर्ने नेतामध्ये एक विपी कोइरालाको नाम लिएका थिए । भण्डारीले विपीको साहित्य पढेर मन पर्ने नेता भनेका थिएनन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानलाई लिएर उनले यसो भनेका थिए । पदमा पुग्दैमा कोही नेता हुँदैनन् । नेता हुन विपी र मदन भण्डारीको जस्तै गुण हुनुपर्छ । विपी, पुष्पलाल र मदन भण्डारी आज हामीबीच छैनन् । तर, तिनीहरुले स्थापना गरेको पार्टी हामीसँग छ । त्यही पार्टीको नेतृत्वमा आज मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ । मुलुकको यो राजनीतिक परिवर्तन सम्भव हुनुको पछाडि पनि कांग्रेस र कम्युनिष्ट पार्टीकै योगदान हो । यत्रो योगदान पु¥याउने मदन भण्डारीको पार्टी आज सगरमाथाको शिखरमा पुगेको छ भने विपीको नेपाली कांग्रेस बागमतीको किनारमा फ्याँकिएको छ । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुन् । ०४८ सालमा बहुमत पाएको नेपाली कांग्रेस जनचाहना अनुरुप हिंड्न नसक्दा आज जनताबाट तिरस्कृत हुनुपरेको हो । त्यसका लागि कांग्रेसले सबै भन्दा पहिला आफूभित्रको कमी कमजोरी सच्याउनु पर्छ ।
राजनीति भन्ने कुरा आफ्नो र आफ्नो परिवारका लागि मात्र गरिने पेशा होइन । यो त देश र जनताका लागि गरिने कठिन यात्रा हो । यही यात्रामा हिंड्दा  विपी कोइराला आठ वर्ष जेल बस्नु प¥यो भने आठ वर्ष निर्वासनमा जानु प¥यो । त्यो के का लागि थियो ? प्रधानमन्त्री ओलीसमेत १४ वर्ष जेल बसेका नेता हुन् । त्यो के का लागि थियो ? पक्कै पनि उनीहरुको सपना ‘सुखी नेपाली, समृद्ध नेपाल’को लागि थियो । जुन कुराको अभिभारा अहिले प्रधानमन्त्री ओलीले बोकिरहेका छन् । दिन रात विकासको सपना देखिरहेका छन् । यदि कांग्रेसको स्थापना पनि सुखी नेपाली, समृद्ध नेपालको लागि भएको हो भने कांग्रेस ओलीको सपनाबाट तर्सनु पर्दैन । सकिन्छ साथ दिऔं, सकिन्न राम्रा कामको पनि विरोध गर्ने संस्कार त्यागौं । अनि मात्र देश बन्छ ।

Related News