उम्मेदवार कुट्ने अपराधीमाथि कडा कारबाही गरः एमाले


काठमाडौं, २९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति एमालेले आपत्ति जनाएको छ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का सूर्यध्वजाबाहक महिला सदस्य कुमारीदेवी सदालाई बुधबार राति ८ः३० बजे कुटपिट गरिएको छ । कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ गरेको भए पनि छोड्नका निम्ति दबाब दिइरहेको बुझिन आएको छ । एमालेले उम्मेदवारमाथि कुटपिटमा उत्रने अपराधीहरुमाथि कडा कारवाही गर्न माग गरेको छ । 
पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं. ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोसिस समेत भएकोमा पार्टी यसप्रकारका गुण्डागर्दीप्रति निन्दा र क्षोभ प्रकट गर्दछ । वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको जानकारी प्राप्त भएको छ । आज बिहान फत्तेपुर बजारमा राखिएको टाइम बम नेपाली सेनाको डिस्पोजल टोलीले नष्ट गरेको छ । यस्ता आतंकपूर्ण हर्कतहरु नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न मूलतः सत्ताधारीहरुको जोडदार ध्यानाकर्षण गराइन्छ । 
आज सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ । 

Related News