संगीतकार र गायिकाभन्दा जेठो गीत

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् 


​काठमाडौं, २४ पुस । संगीतकार तथा गीतकार शरण छिनाम ‘बटुवा २’ एल्बमको तयारीमा छन् । गीत रेकर्डिङको काम सकेर अन्तिम तयारीमा रहेको बताउने संगीतकार छिनामले हालै युट्युबमार्फत एउटा गीत सार्वजनिक गरेका छन् । 

‘प्रीतिको फूल फुल्नै नसक्ने मेरो छाती कुनै मरुभूमि होइन, आँसुको दह जम्नु नै पर्ने मेरो आँखा कुनै तलाउ होइन’ बोलको उक्त गीतमा निखिता थापाले स्वर भरेकी छन् । गीतकार श्रीपुरुष ढकालको शब्द रहेको यो गीतको भिडियो टीभी नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो । ‘यो गीत उहाँले २०३७ साल फागुनमा लेख्नुभएको रहेछ’, उनले भने, ‘गीतका शब्दले त मलाई छोयो नै त्यसमा पनि मभन्दा जेठो गीत रहेछ । त्यही भएर झन् माया लागेर आयो ।’ कुनै पत्रिकामा छापिएको उक्त गीत मन परेर गीतकारकहाँ माग्न गएको उनले सुनाए । 

‘उहाँ यो गीतमा स्वर र संगीत सुनेर खुसी हुनुहुन्छ’, उनले भने, ‘अरु गीतमा कतिपयले अनुमतिबिना रेकर्ड गर्दा रहेछन् । त्यसमा उहाँको गुनासो रहेछ ।’

‘बाटो हिँड्ने बटुवाको’ बोलको गीतबाट कुशल संगीतकारका रुपमा स्थापित छिनामले नयाँ एल्बम चाँडै रिलिज गर्ने जानकारी दिए । उनले यसअघि ‘बटुवा’ र ‘सँगालेर आएँ’ एल्बम बजारमा ल्याएका थिए । 

                                                                                                                        माघ १ गते शनिबार सामग्रीका लागि पुनः प्रकाशन 

Related News