म्याद थप्न स्वास्थ्य सचिवको अस्वस्थ चलखेल

काठमाडौैं, २८ कार्तिक । स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी २ बर्ष म्यादथप गर्नका लागि चर्को दौडधूपमा लागेकी छिन् । स्वास्थ्य सेवा ऐनअनुसार ६० बर्ष उमेर पुगिसकेकाले उनी २०७४ मंसिर १८मा अवकाश हुँदैछिन् । जागिर अवधि सकिन लागेकी उनलाई थप २ बर्ष म्यादथपका लागि प्रधानमन्त्रीपत्नी आरजु देउवा र स्वास्थ्य मन्त्री दीपक बोहराले स्वीकृति दिइसकेका छन् । 
स्वास्थ्य मन्त्री बोहरा रुपन्देहीमा चुनावमा ब्यस्त भएकाले उनी २०७४ कात्तिक २३ गते भैरहवामै पुगेर मन्त्रीबाट फाइल सदर गराएकी छिन् । र, सोमबारको मन्त्रिपरिषद बैठकमा सचिव रेग्मी आफैं प्रस्ताव बोकेर सिंहदरवारमा गएकी छिन् । चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठमार्फत् आरजु देउवा र मन्त्री बोहरालाई चुनाव खर्च उठाएर बुझाएपछि उनको म्याद दुई बर्ष थप्न लागिएको छ । स्वास्थ्य सेवा ऐनमा ६० बर्ष पुगिसके पनि विशेषज्ञ सेवाका हकमा पटक पटक गरी ३ बर्षसम्म म्याद थप गर्न सकिने ब्यवस्था छ । तर त्यसरी म्यादथप भएको १२ तहको विशेषज्ञ सचिव हुनसक्दैन । तर सचिव रेग्मी भने म्यादथप गरेर ऐनविपरीत सचिवमै यथावत हुनेगरी लागेकी छिन् ।
डा.भोलाराम श्रेष्ठ सचिव रेग्मीका दाहिने हातका रुपमा मन्त्रालयमा चिनिन्छन् । उनले नै स्वास्थ्य मन्त्रालय अन्तर्गतका महाशाखा, क्षेत्रीय निर्देशक, जनस्वास्थ्य कार्यालयहरु र मेडिकल उपकरण र औषधि आपूर्तिकर्ताहरुसँग एकमुष्ट रकम उठाएर आरजु र बोहरालाई दिएर एक ब्यक्तिको लागि म्यादथप गर्न लागिएको छ । मेडिकल माफिया भनेर चिनिएका हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनका विशाल पण्डित र बायोमेड इन्टरनेशनलका उमेश अग्रवालहरुसँग पनि सचिव रेग्मीको म्यादथपका लागि आरजु र बोहरालाई पैसा बुझाउनुपर्छ भन्दै भोलारामले असुली गरेको स्रोतले बताएको छ ।

Related News