​इंग्ल्याण्डविरुद्ध क्रोएसिया : यस्तो छ यी दुई टीमको ब्याकग्राउण्ड

दृष्टि न्यूज

काठमाडौं । रसियामा जारी २१औँ संस्करणको ‘विश्वकप–२०१८’अन्र्तगत सेमिफाइनल खेल आज अर्थात बुधबार राति नेपाली समयअनुसार पौने १२ बजे इंग्ल्याण्डविरुद्ध क्रोएसिया भिड्दैछन् । विश्वकप यात्राको दौरानमा सेमिफाइनलसम्म यी दुवै टीमले आ–आफ्नो तर्फबाट राम्रो खेल्दै आएका छन् । त्यसैले बुधबार राति हुने सेमिफाइनलबाट कुन फाइनलमा पुग्छ भन्ने  अनुमान गर्न कठिनाइ छ ।    
इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २–१, पानामालाई ६–१ ले हराएको थियो भने बेल्जियमसँग १–० ले पराजित भएका थिए । र, अन्तिम १६ मा कोलम्बियासँग १–१ को बराबरीपछि टाइबे्रकरमा ४–३ ले विजयी भएका इंग्ल्याण्डले क्वार्टरफाइनलमा स्वीडेनलाई २–० ले हराउँदै सेमिफाइनलसम्म पुगेको हो ।


‘विश्वकप’मा योसहित इंग्ल्याण्ड तेस्रोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा इंग्ल्याण्डमै आयोजना भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो भने सन् १९९० मा इटाली र त्यसपछि यसपटक रसियामा जारी विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै, क्रोएसियाले पनि दावेदार र बलियो टीमलाई पराजित गर्दै सेमिफाइनलसम्म पुगेको हो । क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले पराजित गराएका थिए भने अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको थियो । क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वार्टरफाइनलमा रसियासँग २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी भएको थियो ।
बुधबार राति हुने सेमिफाइनलमा विजेता हुने टीमले फाइलनमा फ्रान्ससँग भिड्नु पर्नेछ । फ्रान्सले मंगलबार राति भएको खेलमा बेल्जियमलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ । बुधबार राति पराजित हुनेले बेल्जियमसँग थर्ड पोजिशनका लागि भिड्नेछ ।  

Related News