​७० मेगावाटको पुरा क्षमतामा चल्यो मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र

दृष्टि न्यूज

लमजुङ  । नदीमा पानीको बहाव बढेपछि मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रमा  पुरा क्षमतामा चलेको छ । केन्द्रमा पानीको सतह बढेपछि ७० मेगावाट क्षमताको सो केन्द्रबाट पुरा क्षमतामा विद्युत् उत्पादन भएको हो । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि केहीदिनयता औसत प्रतिदिन ७१ मेगावाटसम्म विद्युत उत्पादन भैरहेको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रका केन्द्र प्रमुख पशुपतीराज गौतमले बताए । यसअघि मध्य हिउँदका बेला लामो समयसम्म खडेरी हुँदा खोलामा पानीको बहाब घटेपछि ७० मेगावाट क्षमताको यस केन्द्रबाट औसत प्रतिदिन २५ मेगावाटसम्म मात्र विद्युत उत्पादन भएको थियो । लामो खडेरीका कारण विभिन्न क्षेत्रमा रहेका पानीका मुहान सुक्दै गइरहेका बेला मस्र्याङ्दी नदीमा भने पानीको वहाव बढेको छ । 
मस्र्याङदी नदिमा पानीको मात्रा कम भएकोले मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रमा जडित ३५÷३५ मेगावाट क्षमताका २ वटै टर्वाइन २४ सै घण्टा चल्न सकेका थिएनन् ।’  जलविद्युत केन्द्रका प्रमुख गौतमले भने, ‘लगातार परेको बर्षाका कारण मस्र्याङदी नदिमा मिसिने स—साना खहरेखोला तथा छहराहरुमा पानीको बहाबमा बृद्धि भएपछि मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा एक्कासी बृद्धि भएको हो ।’ उनका अनुसार परियोजनाको बाँध क्षेत्रमा पानी बढि भएर चौविसै घण्टा खोलामा फ्याँक्नुपरेको छ । 
रन अफ द रिभर प्रविधिको यो केन्द्रमा पानी कम हुँदा पानी संचीत गराउँदै उत्पादन लिनुपर्ने भएपनि बर्षा लागेकोले अहिले त्यसो गर्न नपरेको मध्यमस्र्याङदी जलविद्युत केन्द्रका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार जेठ २० अगाडी केन्द्रबाट औसत ६५ मेगावाट विद्युत उत्पादन भएको थियो भने यो साता बाट निरन्तर रुपले विद्युत उत्पादनमा बृद्धि हुदै गएको छ । निर्माण सम्पन्न पश्चात अहिलेसम्म परियोजनाबाट बिद्युत उत्पादन २५ मेगावाटभन्दा तल नघटेको परियोजनाले दावी गरेको छ । बर्षायाममा पानीको बहाब प्रचुरमात्रामा भएपछि ७० मेगावाट क्षमताको जलविद्युत केन्द्रबाट ७४ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
यसअघि मध्यमस्र्याङदी जलविद्युत केन्द्रको बिद्युतगृहमा जडित २ वटै टर्वाइन र जलाश्यमा समस्या देखिएको थियो उक्त समयमा एक हप्तासम्म केन्द्रले विद्युत उत्पादन बन्द गरीे बृहत मर्मत संभार समेत गरेको थियो । मर्मतका क्रममा केन्द्रले इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्बाइन, जेनेरेटर लगायतको सामग्रीको मर्मत गरेको केन्द्र प्रमुख गौतमले बताए । 
वर्षायाम शुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी र २ मेगावाटको छ्याङ्दीबाट पुरा क्षमतामा विद्युत उत्पादन भइरहेको छ । 

Related News