​सेक्स ह्यारेस्मेन्ट भर्सेज ‘मि–टु’

एमपी सुब्बा

एमपी सुब्बा । एक अन्तवार्तामा अभिनेत्री तथा मोडल बेनिशा हमालले ‘एक जना बैंकका सिईओबाट आफूमाथि यौंनहिंसाको प्रयत्यन भएको’ भन्ने आशय व्यक्त गरेपछि चर्चामा आएकी छन् । बलिउडमा ‘मि–टु’ अभियानले चर्चा पाइरहेका बेला यी अभिनेत्री बेनिशाले यो साता एक यु–ट्युब च्यानलसँग कुरा गर्दै यस्तो खुलासा गरेकी हुन् ।
बेनिशाले अन्तर्वातामा ‘एक बैंकको लागि गरिएको फोटोसुट सकिएलगत्तै कफी खाने क्रममा फोटोसुटका कोर्डिनेटरले बैंकका सीईओले नगरकोट जाने भनेको भन्दै आफुलाई प्रस्ताव राखेको’ बताएकी छन् । उनले उक्त प्रस्ताव राख्ने व्यक्तिलाई ‘चड्कन हानेको’ समेत बताएकी छन् । तर, उनले बैंकको सिईओको नाम खुलाएकी छैनन्, न त बैंकको नाम नै । 
अभिनेत्री बेनिशाको खुलासा नेपाली फिल्मी क्षेत्रमा लागि नौलो भने होइन किनकि, यसअघि पनि केही अभिनेत्री र मोडलले आफूमाथि विभिन्न प्रलोभनमा पार्न खोज्दै ‘सेक्स ह्यारेस्मेन्ट’को प्रयत्न भएको बताइसकेका छन् । तर, अधिकांशले नाम र मिति खुलाएका छैनन् र उनीहरु खुलाउन चाहँदैनन् पनि । 

के हो ‘मि–टु’ ?
कुनैपनि व्यक्तिमाथि अनि कुनै पनि स्थानमा यौनजन्य हिंसा हुन सक्छ । चाहे त्यो कार्य क्षेत्रमा होस् या सार्वजनिक स्थल नै किन नहोस् । त्यसबारे कतिपयले प्रतिकार गर्छन् त कतिपय चुपचाप निरीह भएर बस्छन् । बोल्नेहरुले पछिल्लो समय शोसल मिडियामार्फत अभियान चलाएका छन् । त्यसै अभियानलाई ‘मि–टु’ नाम दिइएको छ ।

कसरी सुरु भयो ‘मि–टु’ ?
अमेरिकी सामाजिक अभियान्ता ताराना बुर्केले सन् २००६ मा सामाजिक सञ्जाल ‘माईस्पेस’मार्फत ‘मि–टु’ शब्दको प्रयोग सुरु गरेकी हुन् । यौन शोषण वा उत्पीडनमा परेका महिलाहरुबिच ‘सहानुभुतिका माध्यमबाट सशक्तिकरण’ अभियानलाई प्रचार–प्रसार गर्नका उनले यो अभियानको सुरुवात गरेकी थिइन् । तत्पश्चात यस अभियानले बिस्तारै ‘भाइरल’ रुप लिदै गएको हो । 
‘मि–टु’ अभियान सञ्चालनमा आएपछि हलिउडका थुप्रै सेलिब्रेटी विवादमा आएका छन् । फिल्मी र फेसन दुनियाँका सेलिब्रेटी मात्र नभएर राजनीति, व्यापारी र खेलाडीसम्म यो अभियानले विवादमा तानेको छ । 

बलिउडमा ‘मि–टु’
बलिउड फिल्म उद्योगमा मलायम फिल्म क्षेत्रबाट यो अभियानको सुरुवात भएको थियो । त्यसपछि बलिउडमा ‘मि–टु’ प्रवेश गरेको हो । पहिलोपटक बलिउड अभिनेत्री तनुश्रीले अभिनेता नाना पाटेकरले आफुमाथि ‘यौनहिंसा’ गरेको आरोप लगाएकी थिइन । साथै, अभिनेत्री राखी सावन्तले समेत तनुश्रीले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यो हालैको कुरा हो, जो अझै बलिउडमा सेलाइसकेको छैन । 
त्यस्तै, ‘बिग–बोस’की पूर्वप्रतिस्पर्धी पुजा मिश्राले अभिनेता सलमान खानसँगै उनका दुई भाईलाई ‘मि–टु’ अभियानको चुँगुलमा पारिन् । उनले ‘आफु बेहोस भएको बेला बलात्कार गरेको आरोप’ लगाएकी छन् । यससँगै भारतमा ‘मि–टु’ वाक्यांश ‘भाइरल’ बनेको छ । ‘मि–टु’ भित्रिएसँगै पछिल्लो समय भारतमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफुमाथि भएको यौनहिंसालाई सामाजिक सञ्जालमार्फत आवाज बुलुन्द गर्दै आएका छन् ।

नेपालमा ‘मि–टु’
‘मि–टु’ केहो ? धेरै नेपालीलाई थाहा थिएन र अझै थाहा नहुनु पनि सक्छ । थाहा पाउन् पनि कसरी ? जबकि, यो अभियान एक महिलाले सुरुवात गरेकी हुन् । तर, यो अभियान आम यौंन उत्पीडनमा परेका महिलाका लागि थियो । नेपालमा यो अभियानको समर्थन गर्दै केही साताअघि नेपाली महिला पत्रकारले ‘आफूविरुद्ध भएको यौन हिंसा’बारे सामाजिक सञ्जालमार्फत बोल्न सुरु गरेका थिए ।
‘मि–टु मुभमेन्ट’मा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले ‘काठमाडौं महानगरपलिकाको पुर्वमेयर केशव स्थापितले आफूलाई यौन दुव्र्यवहार गरेको’ कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । तर, त्यसको स्थापितले प्रतिवाद गर्दै आफू लागेको आरोप ‘निराधार’ भनेका छन् । 
हुन त  नेपाली फिल्म क्षेत्रमा केही यस्ता घटना बाहिर नआएका होइनन् । केही वर्षअघि फिल्म ‘सायद–२’ का निर्माता सुनिल रावलले उक्त फिल्मकी अभिनेत्री स्यारोन श्रेष्ठले आफूमाथि ‘यौनहिंसा’ गरेको बताएकी थिइन् । तर, त्यो विषय खाशै चर्चामा आएन । कारण अभिनेत्री र निर्माता रावलबिच सम्झौता भएपछि घटना त्यत्तिकै सेलाएको थियो । 
यस्तै, करिब पाँच वर्षअघि म्युजिक भिडियो निर्देशक मुनाल शिशिरले ‘आफुलाई यौन प्रस्ताव राखेको’ भन्दै मोडल आयुषा राईले सामाजिक सञ्जालमा लेखेकी थिइन् । त्यो विषयले पनि गम्भीर मोड लिएन ।
तर, पछिल्लो समय अर्थात यसै साता अभिनेत्री बेनिशाले पुन ‘मि–टु’ अभियानलाई नेपालमा ब्यूँताएकी छन् । जसको अभिनेत्री ऋचा शर्मा, रीमा विश्वकर्मा, सुरक्षा पन्त, केकी अधिकारीलगायतले सामाजिक सञ्जालमार्फत समर्थन गर्न थालेका छन् । 
स्मरणीय कुरा के छ भने यस्ता ‘मि–टु’ अभियानमार्फत खुलासा गरिएका कुरा शतप्रतिशत सही नहनु पनि सक्छ किनकि, यसअघि कतिपय घटनाले यस्तो देखाइसकेको छ । हालैमात्र पोर्चुगलमा फुटवलर क्रिस्टियानो रोनाल्डोमाथि एक मोडलले ‘आफूमाथि यौंनहिंसा गरेको’ आरोप लगाएकी थिइन् । तर, त्यो असत्य सावित भएको थियो । यो अभियानमा ‘दुश्मनी’माथि लक्षित पनि हुन सक्छ ।
त्यस्तै, अभिनेत्री बेनिशाले पनि बैंकर र बैंकको नाम खुलाएकी छैनन् । कार्यक्रम प्रस्तोताले उनलाई व्यक्ति, बैंक वा सीईओको नाम खुलाउन मिल्छ ? भनेर सोधेको प्रश्नमा बिनिशाले ‘आफुलाई याद नभएको’ बताएकी छन् । उनले भनेकी छन्, ‘त्यो समयमा म मा त्यति हिम्मत थिएन कि यो कुरा मेरो परिवारलाई सेयर गर्न सकुँ । कहाँ, कसलाई के भन्नेबारे आफु अनविज्ञ थिएँ ।’ परिवारले गाली गर्ने डरका कारण उक्त कुरा भन्न नसकेको उनले बताएकी छन् । त्यसैले कतै बेनिशाको त्यो अभिव्यक्ति कतै चर्चाका लागि मात्र पो हो कि ? भन्ने आशंका उब्जिएको छ । तर, बेनिशा भन्छिन्, ‘कुनै दिन सम्झेर नाम भन्नेछु ।’
हुन त कतिपय महिला कलाकार छोटो समयमै चर्चा कमाउने वा अवसर पाउन लागि यस्ता क्रियाकलापमा सहभागी हुने गरेका छन् । तर, बेनिशा करिअर बनाइसकेकी एक नेपाली अभिनेत्री तथा मोडल हुन् । उनलाई स्क्याण्डल मच्चाएर नाम चम्काउन आवश्यक छैन । 
पीडितले न्याय पाउन ‘मि–टु’को भन्दा हिम्मतको आवश्यकता छ । बेनिशामाथि यौंन दुव्र्यवहार भएकै हो भने त्यो बैंकरले कानुनी सजाय भोग्नैपर्छ । तर, त्यसका लागि बेनिशाले नाम खुलाउने हिम्मत गर्नुपर्छ । यदि चर्चाकै लागि ‘मि–टु’को शिकार कसैलाई बनाउन खोजिएको हो भने कुनै न कुनै दिन ‘तीर’ आफैतिरै फर्कँने भन्ने कुरा बुझ्नुपर्छ । 

Related News