​शीर निहुरियो

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । नेपाली जनता वाम गठबन्धनको सरकारको प्रतिक्षामा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको एजेन्डालाई प्राथमिकतामा राख्ने विश्वास गरिएको छ । दुई छिमेकीबीच समदूरीको सम्बन्ध विस्तार गरेर नेपाललाई सधैँका लागि नाकाबन्दी मुक्त देश बनाउने अभियानलाई पूर्णता दिने आशा जनताले गरेका छन् । यस क्रममा छिमेकी चीनसँग गरिएका सम्झौताहरु कार्यान्वयन हुनेछन् । जुन कुराले नेपालको भारतनिर्भरता क्रमशः कम हुँदै देश आत्मनिर्भरताको बाटोमा लाग्ने छ । त्यसका लागि स्थिर सरकारको आवश्यकता पर्छ । राजनीतिक स्थिरताकै लागि एमालेले माओवादीसँग चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको प्रक्रिया थालेको हो । यो प्रक्रिया पूरा हुनासाथ नेपालमा वामपन्थीको सरकारलाई दश÷बीस वर्षसम्म कसैले हल्लाउन सक्ने छैन । ६÷६ महिनामा सरकार फेरिने रोगको अन्त्य हुनेछ । धमिलो पानीमा माछा मार्ने तत्वहरु क्रमशः निरुत्साहित हुँदै जानेछन्  यसै क्रममा विदेशी शक्तिको आडमा फोहोरी खेल खेल्ने राजनीतिक खेलाडीहरुको समेत भूमिका अन्त्य हुनेछ ।
यो कुरा शेरबहादुर देउवालाई मन परेको छैन । फोहोरी खेलबाटै पार्टी सभापतिबाट चौथो पटक प्रधानमन्त्री बनेका देउवा विदेशी शक्तिबाटै परिचालित भएका कारण सत्ता छाड्न मानिरहेका छैनन् । नेपाली जनताले चुनावमार्फत् नेपाली कांग्रेसलाई धुलो चटाउँदासमेत देउवा निर्लज्ज सत्तामा टास्सिरहेका छन्  यो उनको रहर होइन, बाध्यता हो भन्ने कुरा जनताले बुझेका छन् । हिजो जुन शक्ति संविधान बनाउन नदिन सक्रिय थियो, आज त्यही शक्ति वाम गठबन्धन फोड्न उद्यत छ भन्ने कुराको उदाहरण देउवा स्वयं हुन् । नभए, प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री लेखेरै दिने शब्द उनको मुखबाट निस्कने थिएन । यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने वाम गठबन्धनको सरकार बन्न नदिने खेल कतैबाट सुरु भएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव प्रयोग भएका छन् ।
आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी पनि हुँ भन्ने । तर, जनमतको कदर नगर्ने कांग्रेस सभापति देउवाको चरित्रलाई समयमै सुधार्न सकिएन भने भोलिका दिनमा सिंगो नेपाली कांग्रेस जनताबाट तिरस्कृत हुँदै जानेछन् । गत संसदीय निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले उम्मेदवारको ‘मुख’ होइन, पार्टी र आस्थाको ‘रुख’ हेरेका कुरा समानुपाति परिणामबाट झल्किन्छ । जननेता मदन भण्डारीले भनेझैं ‘एउटा माघले जाडो जाँदैन ।’ तर, कांग्रेस सदाको लागि हारेको जस्तो मनस्थिति बोकेर सत्तामा टाँस्सिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई बधाई शुभकामना दिँदै भारत भ्रमणको निम्ता समेत गरेको अवस्थामा देउवाले हलो अड्काएर बस्नु भनेको उनले मोदीको विश्वास पनि गुमाउनु हो ।
वाम गठबन्धनले बहुमत ल्याएपछि नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुले समेत ‘वेटिङ पिएम’का रुपमा ओलीलाई बालकोट पुगेरै बधाई दिनुका साथै ओलीको कार्यकालमा नेपालको विभिन्न देशसँग सम्बन्ध बलियो हुने विश्वास दिलाएका छन् । ती कुटनीतिज्ञहरु पनि अहिलेसम्म सरकार नबनेकोमा आश्चर्यचकित भएका छन् । संविधानसभाबाट निर्मित संविधान कार्यान्वयन तहमै देउवाले देखाएको यो हठी स्वभावले कांग्रेसको मात्र होइन, सिंगो नेपाली जनताकै शीर निहुरिने काम भएको छ ।

Related News