​मानवीयताका पक्ष

छविरमण सिलवाल । नेपाली साहित्यमा श्रीओम श्रेष्ठ रोदनलाई चिनाई रहनु पर्दैन । बहुआयामिक व्यक्तित्व भएका रोदन मधुपर्कका प्रधान सम्पादक हुन । झम्सिखेल ललितपुरमा जन्मेका रोदनका हालसम्म निबन्धसंग्रह पाँच, नियात्रासंग्रह दुई, लघुकथासंग्रह दुई, कवितासंग्रह दुई, स्रष्टा वार्तासंग्रह एक गरी एक दर्जन पुस्तकहरु प्रकाशन भैसकेकाछन् । 
उनको पछिल्लो निबन्धसंग्रह हो भनौँ कि नभनौँ । उनका निबन्धहरुले नभनेरै धेरै कुराहरु भनिरहेका छन् । रोदनले नेपाली साहित्यको एउटा सुसुप्त रुपमा रहेको लघुकथा विधालाई पनि स्थापित गरेका छन् । संस्थागत रुपमै नेपाली लघुकथा समाजको स्थापना गरेर लघुकथाको महत्वका साथै थुप्रै सर्जकहरुलाई लघुकथा लेखनमा प्रेरणा दिइरहेका छन् । लघुकथा विधामा पुरस्कार प्रदान गरिरहेका छन् । विगत केही वर्ष देखि भाद्र ५ गते लघुकथा दिवस पनि मनाई रहेका छन् । 
वास्तवमा भोगेर लेखिने साहित्यको महत्व बेग्लै हुन्छ । अहिलेको साहित्यको माग भनेकै यथार्थपरक घटना र परिवेशमा रहेर लेखिने साहित्यको छ । चाहे त्यौ कुनै पनि विधामा होस । यसरी लेखिएका सिर्जनाहरुले एउटा इतिहासकै प्रतिनिधित्व गरिरहेका हुन्छन् । श्रीओम नेपाली निबन्धमा बेग्लै शैली र शिल्पका साथ लेख्छन् । उनका निबन्धहरुले जताबाट हेरे पनि आम मान्छेका यथार्थ बोलिरहेका पाइन्छन् । निबन्धमा प्रस्तुत हुने निजात्मकता आत्मप्रकटिकरणको कलात्मक र यथार्थताको सुन्दर संयोजन उनका निबन्धका प्रमुख विशेषता हुन । अझ भन्नै पर्दा समाजमा भएका विकृत पक्षलाई उजागर गरेर सुन्दर संयोजनमा सिर्जनाहरु प्रस्तुत गर्ने गर्दछन् । र, निबन्ध मार्फत समाजमा धेरै काम गरेका तर समाजले विर्सेका पात्रहरुलाई निबन्धमार्फत सम्झेका छन् । 
लेखक पनि यही समाजमा घुलमिल भएर समाजका यावत कुराहरुसंग पौठाजोरी खेलिरहेका एक साहित्य साधक भएकाले यहि समाजले सिकाएर खारीएका लेखक बन्न पुगेका छन् । उनको पछिल्लो निबन्धसंग्रह भनौँ कि नभनौँ भित्रका निबन्धहरु पनि यहि समाजभित्रका पात्र  परिवेशमा आधारित छन् । नेपालीहरुले सपनाको देश मानेका अमेरिकामा उनी पनि पुगेका थिए, त्यहाँ बसोवास गर्दा देखेका भोगेका कुराहरु प्रस्तुत संग्रहमार्फत पढन सकिन्छ । धेरै मान्छेहरु अमेरिका पुगेपछि नेपाल फर्कनै चाहँदैनन तर रोदनले त्यसो गरेनन् । उनले सोचे अनागरिक भएर अर्काको देशमा बस्नु भन्दा रैतिनै भएर पनि आफ्नै भूमिमा रहनु सार्थक मानेर स्वदेश फर्किए । तर नेपालमा गएर के हुन्छ यस्तो स्वर्गमा आएर पनि किन नेपाल फर्केको भनेर गाली गर्नेहरुको भिडको पर्वाह नगरेर उनी नेपालै आए । यी कुराहरु मैले यहाँ उल्लेख गर्न किन खोजेको भने प्रस्तुत संग्रहमा अमेरिकाको बसाईको प्रसंगहरु पनि रहेका छन् ।  
मान्छे कुनै कुरामा अल्झेर त पुक्लुक्कै हुन्छ, भने अप्रेशन गरेपछि केको ग्यारेन्टी हुन्छ र ! आखिर संसारमा ग्यारेन्टी नभएको मान्छे मात्रै त हो नि । अरु नभएका कुनै र केही पनि छैनन् । जुन कुराको विकल्प हुँदैन, त्यो कुरासंग तर्केर के गर्न सकिन्छ र ? स्वीकार्नु र सहनुभन्दा कुनै उपाय नै हुँदैन । मानविय जीवनका यही कटुसत्यलाई निबन्ध मार्फत रोदनले भनौँ कि नभनौँ पुस्तकमा प्रस्तुत गरेका छन् । 
हुनतः उनका निवन्धहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेता पनि पुस्तकको रुपमा भर्खरै आएको छ । उनका निबन्धहरु समाजमा रहेका विविध पात्रका चरित्र र समाजको यथार्थ चित्रणलाई आफ्नो मौलिक स्वरुपमा सुन्दर समायोजन गरेका छन् । समाजको विकृतिको चिरफारमात्र नगरेर समाजका सुन्दर पक्ष र समाजमा सुन्दर कार्य गरेर पनि ओझेलमा पारीएका केही बौद्धिक व्यक्तिका सुन्दर पक्षलाई सम्झना योग्य बनाएका छन् । उनीहरुलाई समाजले सम्मान गर्नुपर्छ भन्ने पक्षमा वकालत गरेका छन् । 
उनका निबन्धहरुमा केही व्यक्ति चित्र, केही व्यंग्य, केही विदेशी भूमिमा लेखकको लिएको अनुभव, मान्छेका जीवनको आरोहअवरोह, राजनीतिक शुन्य चेतनाले मान्छेहरुले भोगेका पीडा, भूकम्पले देखाएको मान्छेको औकात लगायत विविध विषयवस्तुहरु रहेका छन् । मान्छे आफैले आफ्नो बाटो बनाउँने हो, जसरी मूलालाई कसैलो डोब खनिदिनु पर्दैन । गोरेटा, घोेरेटो र राजमार्ग त्यो पनि कति लेनको यो आफै तय गर्नै हो मान्छेले । जस्तो बाटो बनायो त्यही अनुसार हिँडन सकिन्छ भन्ने मूल सन्देश रोदनका निबन्धहरुले दिएका छन् । उनी नभनेरै थुप्रै कुराहरु भनिरहेका छन् । त्यसैले म भन्छु भनौँ नि नभनौ होइन, अब भनौ मजाले  दोधारमा नबसौ र हरेक विकृतिको पर्दाफास गरौ भन्ने सन्देश प्रवाहित गरिरहेकाछन् उनका निबन्धहरुले । 
प्रस्तुत संग्रहमा एक्काइस ओटा चोटिला निवन्धहरु रहेका छन् । प्रेम प्रर्दशनको र्कितिमान शिर्षकको निबन्धमा ताजमहलको बारेको भ्रम र यथार्थ चित्रण गरेका छन् हेरौंः राजा हुनुको अर्थ निर्जिल भूमिमा मात्र राज गर्नु हैन । जनताका मनमनमा पनि राज्य गर्न सक्नुपर्छ । तर शाहजहाँले जनताको ह्ृदयमा राज गर्न सकेनन् । यसैले पनि ताजमहल त्रासको प्रतिक र घृणाको प्रतिक पोे बन्यो कि ? यति भनौ ताजमहल प्रेममहल हैन, प्रेममहल ताजमहल हुनै सक्क्तैन । उनका आत्मपर निबन्धहरु स्वच्छन्द रुपमा विचरण गरिरहेका छन् । मान्छेलाई हेर्ने दृष्टिकोण उनको निकै उच्च छ । कोही मान्छे नचिनेरै पनि चिनेजानेको जस्तै हुन्छन कोही मान्छे चिनेरै भए पनि नचिनेको बहाना बनाउँछन् । चितवनका साहित्यकार एल बि क्षेत्रीको बारेमा उनले लेखेको निबन्ध निकै सुन्दर छ । उनी अगाडी लेख्छन् तपाईँ सेना भएर हतियारले लड्नुभो अरुसंग । सरले आवश्यक समयमा मात्रै बन्दुक बोक्नुभो होला, आवश्यकतामा मात्र लड्नुभो होला तर हामी बन्दुक नहुनेका लागि जीवन एउटा युद्ध नै हो । हामी नलडीकन एकछिन पनि आराम गर्न पाउँदैनौ । आफै समाप्त नहुन्जेलसम्म निरन्तर लडिरहनुपर्छ आफ्नै जिवनसंग । 
नेपाली राजनीतिमा देखिएको विकृति रोदनका निबन्धका अर्को विषयवस्तु हुन । यही विकृतिले गर्दा नेपालीहरु खाडीका गर्मिला रापहरुमा सेकिन बाध्य भएका छन् । यो समयलाई आग्लो लगाएर बन्द गर्न नसकेमा हामीले भयावह पिडाको समाना गर्न तत्पर रहनु पर्छ भन्ने सन्देश प्रवाहित गरिरहेका छन् । मान्छेहरु स्वार्थी बन्दै गएको देखेर चकित छन् लेखक र स्वार्थका विरुद्ध उत्रन नसक्नु आफ्नै कमजोरी ठान्छन् । अगाडी लेख्छन्ः ओहो, मानिस किन आफ्नो इच्छाका लागि यति धेरै स्वार्थी बन्छन् । हुनतः यो स्वार्थ पनि हो कि हैन । हो भने पनि मेरो कि उनको ? खोइ र, आजसम्म स्वार्थको निष्पक्ष परिभाषा हुन् सकेको । 
प्रस्तुत पुस्तकमा समालोचक डा.लक्ष्मणप्रसाद गौतम लेख्छन्ः समकालीन नेपाली निबन्धका क्षेत्रमा निबन्धकार रोदन निबन्धको प्रस्तुति र शैलीमा पृथक, पहिचान बनाएका सशक्त निबन्धकार हुन् भन्ने कुरा उनका निबन्धसंग्रहले नै देखाउँछ । निबन्धमा निजात्मकता र आत्मप्रकटीकरणको कलात्मक र यथार्थ प्रस्तुति पहिलो र अनिवार्य शर्त हो । श्रीओमका निबन्धहरु विविध विचार वा दर्शनभन्दा पनि मान्छेलाई केन्द्र बनाएर लेखिएका छन् । बाह्य रुपमा हेर्दा कुनै वर्णन वा आत्माभिव्यन्जनाजस्ता लागे पनि अन्तर्तहसम्म पुग्दा उनका निबन्धहरु आफैभित्रको आत्मदर्शन र आत्मपहिचान हो भन्ने स्पष्ट देखिन्छ । 
उनका निबन्धका प्रत्येक शब्दशब्दले विशिष्ठ भावहरु प्रकट गरिरहेका छन् । र, महत्वपूर्ण भावहरुको उठान गरिरहेका छन् । मानवियताको पक्षमा लड्न सफल भएका छन् । करिव तिसको दसकदेखि नेपाली साहित्यमा कलम चलाई रहेका रोदनका सिर्जनाहरु नेपाली साहित्यमा विशिष्ठ कोटीमा पर्दछन् । बहुमुखी प्रतिभाका धनि रोदनका यी निबन्धहरु इतिहासमा सुनौला अक्षरमा लेखिरहनेछन् । यदी मान्छेले मान्छेभित्रको मानवियता बुझ्न सक्दैन भने त्यस्तो मान्छेको के मुल्य हुन्छ र ? साहित्यलेखन पनि त्यस्तै हो । सधै मानवको कल्याणमा लेखिनु पर्छ, सुन्दर समाजको पक्षमा लेखिनु पर्छ, भातृत्वको प्रेमको पक्षमा लेखिनु पर्छ । यी र यस्तै सुन्दर भावनाहरुसंग साक्षतकार भएर लेखिएका निबन्धहरुको संग्रह भनौ कि नभनौ होइन कि अब खुलेरै भन्ने बेला आएको छ । 

Related News