​स्वराज भ्रमणको सन्देश

दृष्टि न्यूज

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको गत साताको नेपाल भ्रमण निकै चर्चा र विवादको विषय बन्यो । उनी जुन सन्दर्भमा आइन् र जसरी राजनीतिक भेटघाट गरिन्, त्यो आलोचनाको विषय पनि बन्यो । तर, उनको भ्रमणले विशेष सन्देश प्रवाह गरेको छ र भूराजनीतिक महत्वका दृष्टिले अर्थपूर्ण पनि छ ।
स्वराजले नेपालका प्रमुख राजनीतिक दल र उच्च सरकारी पदाधिकारीहरुसँग भेटघाट गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिन् । उनको यो भ्रमण यस्तो समयमा भयो कि नेपाली जनताले नयाँ संविधान जारी भएपछिको पहिलो संघीय एवं प्रदेश सभाका निम्ति जनादेश व्यक्त गरेका छन् । भारतीय सहानुभूति रहेका सत्तारुढ शक्तिहरु नराम्रोसँग पराजित भएका छन् भने नेपालविरुद्ध नाकाबन्दी लगाउँदा त्यसको सामना गर्न अडान लिएको नेकपा एमाले तथा यसका नेता केपी शर्मा ओलीप्रति अपार जनसमर्थन प्रकट भएको छ ।
दक्षिणी छिमेकी भारतको संस्थापनले नेपालका केही महत्वपूर्ण राजनीतिक घटनामा अनपेक्षित व्यवहार प्रदर्शन गरेका कारण नेपाली जनताको भावनामा चोट पुगेको कुरा पछिल्लो निर्वाचनका क्रममा व्यक्त जनमतबाट पनि बुझ्न सकिन्छ । ती अनपेक्षित व्यवहारको समर्थन नगरेवापत एमाले अध्यक्ष ओलीले सत्ता गुमाउनुपरे पनि नेपाली जनताको विश्वास जित्न समर्थ भए । यसको ठीक विपरीत कांग्रेस नेतृत्वले दक्षिणी शक्तिको आशिर्वाद स्वरुप सत्ता प्राप्त गरे पनि नेपाली जनताको विश्वास गुमाए । पछिल्लो निर्वाचनमा भारतीय चाहनाविपरीतको जनमत व्यक्त भएको र नेपालमा भारतको मित्रशक्ति पराजित भएको टिप्पणी नेपालमा भन्दा बढी भारतीय सञ्चार माध्यमले गरेका छन् । यसको अर्थ हो, बाम गठबन्धनको विजयले भारतीय संस्थापनलाई सोच्न बाध्य बनाएको छ ।
विगतमा हरेक नयाँ राजनीतिक घटनाक्रम हुँदा नेपाली नेताहरुको दिल्ली दरबारमा लर्को लाग्ने गरेको पृष्ठभूमिमा हेर्ने हो भने स्वराज भ्रमणले यतिखेर भूराजनीतिक नक्सा उल्टिएको बुझ्न सकिन्छ । स्वराजको नेपाल आगमनले के स्पष्ट पार्छ भने भारतले अझै नेपाल मामिलालाई बेसरोकार छाड्न चाहेको छैन तर उसले चाहेको दिशामा पनि नेपाल अग्रसर भइरहेको छ्रैन । संविधान जारी हुँदा होस्, भारतीय नाकाबन्दीविरुद्ध नेपाल सरकारले लिएको अडान र चीनसँग गरेका केही रणनीतिक महत्वका समझदारी होऊन्, नेपालले आफ्नो स्वतन्त्र व्यक्तित्व निर्माण गरेको छ र स्वतन्त्र रुपमा निर्णय लिने क्षमता प्रदर्शन गरेको छ । नेपालमा जे हुन्छ, भारतीय इच्छाअनुरुप नै हुन्छ भन्ने मान्यता खण्डित गरेको छ । हिजो भारत यहाँको राजनीतिक मामिलामा व्यवस्थापकको भूमिकामा थियो भने अब उसको त्यो हैसियत पनि विस्तारै कमजोर हुँदै छ । तसर्थ, नेपाली नेताहरु दिल्ली जाने होइन, भारतीय नेता नेपाल आउने अवस्था बनेको छ । यस अर्थमा केही हदसम्म स्वराज भ्रमणलाई सकारात्मक रुपमा लिन सकिन्छ । 
विगतमा संविधान जारी हुनबाट रोक्न मोदीले विशेष दूतका रुपमा विदेशसचिव सुव्रमण्यम जयशंकरलाई पठाएका थिए । जयशंकर एक प्रशासक थिए । भारतीय प्रशासनतन्त्रलाई ब्रिटिस शासकले छाडेर गएकोले जुत्तामा खुट्टा घुसारेको संरचनाका रुपमा लिइन्छ, जो पुरातन र प्रभुत्ववादी सोचबाट ग्रस्त छ । जयशंकरले पनि त्यही सोचको प्रतिनिधित्व गर्थे । उनले नेपाली नेताहरुलाई जतिसुकै चर्को चेतावनीको भाषा प्रयोग गरे पनि ३ असोज ०७२ मा संविधानसभाबाट संविधान जारी भइछाड्यो । त्यो संविधानको कार्यान्वयनस्वरुप आज संघीयता, समावेशी लोकतन्त्र र गणतान्त्रिक व्यवस्था कार्यान्वयनले महत्वपूर्ण चरणमा प्रवेश गरेको छ र संक्रमणकाललाई विदा गरेको छ ।
नेपाली जनताले आफ्नो अभिमतमार्फत् बाम गठबन्धनलाई रोजेपछि भारतीय राजनीतिक नेतृत्व तहमा आत्मसमीक्षाको भाव देख्न सकिन्छ । निर्वाचन परिणाम आएपछि मात्रै एमाले अध्यक्ष ओलीलाई दुईपटक टेलिफोनमा संवाद गर्नु र मोदीका विशेष दूतका रुपमा यसपटक विदेशमन्त्री स्वराज आउनुले नेपाल भारत सम्बन्ध अब प्रशासनतन्त्रसँग होइन, सोझै राजनीतिक तहसँग ‘डिल’ गर्ने गरी एक तह माथि उक्लिएको छ । र, नेपालको संविधानप्रति चिसो प्रतिक्रिया जनाएको भारत अन्ततः समर्थन गर्न बाध्य भएको छ । यस अर्थमा पनि स्वराजको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ । 
हो, दक्षिणी छिमेकीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो देखाउनु हुँदैन । सूक्ष्म व्यवस्थापनको सोचबाट माथि उठी उसले समान हैसियतको सार्वभौम मुलुकको रुपमा व्यवहार गर्नुपर्छ । नेपाली जनताको अभिमतबाट आउने जस्तोसुकै लोकतान्त्रिक शक्तिको सरकारलाई स्वागत गर्न र सहकार्यका निम्ति हात बढाउन तयार भएर रहनुपर्छ । आफूले नचाहेको शक्तिको उदय भयो भन्दैमा शंशय राख्नु जरुरी छैन । नेपालको राजनीति भारतले आफ्नो पकडभन्दा बाहिर गएकोमा चिन्तित हुनु पनि पर्दैन । बरु छिमेकीहरु आफै निर्णय गर्न र आफ्ना समस्या आफै सुल्झाउन समर्थ भएकामा खुसी हुनुपर्छ ।

Related News