​२६ दिनपछि यसरी स्वीकृत भएको रहेछ नवराज सिलवालको राजीनामा

काठमाडौं, १ कात्तिक । नवराज सिलवालले डीआइजी पदबाट दिएको राजीनामा २६ दिनपछि सरकारले स्वीकृत गरेको थियो । उनको राजीनामा असोज २१ मा स्वीकृत गरेको पत्र दृष्टि अनलाइनलाई प्राप्त भएको छ । उनले २०७४ भदौ २८ मा राजीनामा दिए पनि गृहमन्त्रालयले स्वीकृत नगरी उनलाई मानसिक तनाव दिने काम गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै डिजाइनमा उनको राजीनामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले स्वीकृत नगरेको समाचार सार्वजनिक भएको थियो । गृहमन्त्री जनार्दन शर्मा(मंगलबार विनाविभागीय बनाइएका) ले पटक पटक राजीनामा स्वीकृतिका लागि पेश गर्न दिएको निर्देशन सचिव रेग्मीले देउवाकै निर्देशनमा रोकेका थिए । अन्ततः असोज २१ गते उनले सिलवालको राजीनामा स्वीकृत गरेको पत्र दृष्टिलाई प्राप्त भएको छ । असोज २१ मै राजीनामा स्वीकृत भएपछि सिलवाल एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । र, एमाले अध्यक्ष केपी शर्मा ओलीले त उनलाई गृहमन्त्री नै बनाउने उद्घोष गरेका छन् ।
सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २४ दिन पुग्दा पनि गृहमा लुकाएर राख्ने काम सचिव रेग्मीले गरेका थिए । 
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सनाखत गरी स्वीकृतिका लागि असोज १ गते गृह मन्त्रालय पठाएका थिए । उनको राजीनामा स्वीकृति गर्नु मनासिव हुने व्यहोराको पत्रमा आईजीपी अर्याल आफैंले हस्ताक्षर गरेका थिए ।


Related News