​चिसो र सितलहरका कारण जनजीवन अत्यन्तै कष्टकर

सर्लाही, २० पुस । केही दिनयता बढेको चिसो र सितलहरका कारण सर्लाहीसहित तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्ने, घाम नलाग्ने, चिसो बतास चल्ने भएपछि यहाँको जनजीवन अत्यन्तै कष्टकर भएको हो ।
विशेषगरी निम्न आयस्रोत भएका र विपन्न मजदुर वर्ग बढी चिसोबाट प्रभावित भएका छन् । त्यस्तै चिसो र शीतलहर कारण आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएको कारण किसान समेत चिन्तीत भएका छन् ।
चिसोले गर्दा  स्थानीय वजारहरुमा पनि मानिसहरुको चहलपहल घट्नुका साथै वृद्धवृद्धा र बालबालिका समेत चिसोका कारण प्रभावित भएका छन् । चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वास लगायतका रोगीहरु उपचारका स्थानीय स्वास्थ्य क्लिनीक तथा स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको सर्लाही अस्पताल मलंगवाका मेडिकल अधिकृत अभिनाश सिंहले बताउनु भयो । 
चिसोका कारण विद्यालय जाने बालबालिकाको संख्या समेत कम भइरहेको छ भने केही विद्यालयहरुले जाडोलाई मध्यनजर गर्दै जाडो विदासमेत दिएका छन् । चिसोबाट बच्नका लागि बढी बाक्लो तथा न्यानो कपडा लगाउन, अनावश्यक बाहिर ननिस्कन, झोलिलो र तातो खानेकुरहरु खान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । 
यस्तै बाक्लो हुस्सुकै कारण सवारी साधन चलाउन समस्या हुने गरेको, दिउसो नै हेटलाईट बालेर सवारी चलाउनु परेको हरिवन सासापुरका ट्रक चालक शम्भु न्यौपानेले बताउनु भयो । चिसोकै कारण सवारी दुर्घट्ना समेत बढेका छन् । गएको एक साताभित्र मात्रै जिल्लामा सवारी दुर्घट्नाबाट ६ जनाले ज्यान गुमाई सकेको जिल्ल ट्राफिक प्रहरी प्रमुख पाँचु चौधरीले बताउनु भयो । यस्तै जाडो वढे सँगै बाक्ला सुईटर ज्याकेट लगायतका कपडाहरुको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् ।

Related News