शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जनता जाग्दै

​शिवम् सिमेन्टमा लालबाबुको ध्यान जाला ?

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । एउटै ऐन कसैका लागि चैन छुट दिने अनि त्यही सानालाई जेलको चिसो छिडीमा रात बिताउने कष्टडी बन्छ भने न्यायिक शासनको हालत के होला ? दण्डहिनताको विषयमा आवाज उठाउनेहरुको लागि एउटा नमुना काण्डको रुपमा शिवम् सिमेन्टको उद्योग र सो उद्योगले सञचालन गरेको खानीमा यस्तै दृष्य देखिएको छ । 
शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ । रातिको समयमा सिमेन्टको क्लीङकर पिँध्ने काम हुँदा वरपरका बासिन्दा सुत्न नसकेको, धुलोका कारण प्राणघातक क्यान्सर जस्ता रोगहरुको सिकार हुन पुगेका छन् । पीडित स्थानीयबासीलाई सिमेन्ट उद्योगले प्रदुषण न्यूनिकरण गर्ने प्रतिबद्धता पटक पटक गर्दै आएको भएपनि राजनीतिक दल, स्थानीय युवाहरुलाई परिचालन गरेर वातावरण प्रदुषण सम्बन्धी आवाज उठाउन नदिई सेटिङ गर्दै आएको छ । 
स्थानीय गुण्डाहरु परिचालन गर्ने, सो बापत दैनिक भत्ता दिई कोही उद्योगका विरुद्धमा गाउँमा बोल्ने गरेको छ वा छैन भनि सुराकी गर्न लगाउने कार्य सो उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु सक्रिय छन् । वातावरण प्रदुषण गर्ने सिमेन्ट उद्योगको संरक्षणको लागि गुण्डा परिचालन गर्दै आएको शिवम् सिमेन्टलाई पूर्व गृहमन्त्री तथा हालका प्रदेश नं ३ का सांसद इन्द्र बहादुर बाँनियाको समेत साथ र सहयोग रहेको बताइन्छ । सिमेन्ट उद्योगका अध्यक्ष सुरेन्द्र गोयल, प्रबन्ध निर्देशक मारुसहितको टोलीले बानियाँलाई यसअघिको निर्वाचन खर्च बापत करोडौं रुपैयाँ चन्दा दिएको चर्चा हटियामा अझै सेलाएको छैन । हरेक राजनीतिक पार्टीहरुलाई प्रभावित पार्न माहिर बनेका सिमेन्ट उद्योगका सञ्चालक तथा प्रबन्ध निर्देशक मारुले केही पत्रकारहरुलाई विदेश भ्रमण समेत गराएर आफ्नो पक्षमा राम्रो प्रचार गर्न लगाउने गरेका छन् । आफ्नो गल्ती सुधार गरेर सर्वसधारणसँग नजिकको सम्बन्ध विकास गरेर निर्वाध उद्योग सञ्चालन गर्नुको साटो उल्टै गुण्डा परिचालन गर्ने, प्रहरीलाई पैसा खुवाएर आवाज उठाउनेलाई थुन्ने जस्ता कार्य गर्नुले हटियाको शिवम् सिमेन्ट उद्योग कुनै पनि बेला अप्ठेरोमा पर्न सक्ने पीडित स्थानीयबासीको भनाई छ ।
आठ वर्षअघि स्थापाना भएको उद्योगले स्थानीयबासीलाई चर्को प्रदुषणको मारमा पार्दै आएको भएपनि प्रदुषण नियन्त्रण सम्बन्धमा कुनै पनि काम गरेको छैन । स्थानीय सडकमा ठूला ट्रक गुडाएपछि उडेको धुलो नियन्त्रणको लागि दिउँसोको समयमा ट्याक्टरद्वारा पानी हाल्ने गरिएको भएपनि रातिको समयमा अत्याधिक मात्रामा धुलो उड्ने र सर्वसधारणलाई थप सास्ती हुने गरेको छ । सिमेन्ट उद्योगबाट दैनिक उत्सर्जन भइरहेको प्रदुषणका कारण स्थानीयबासीले सागसब्जीमा धुलो बसेर खानै नहुने समस्या भोगेका छन् भने पिउने पानी समेत प्रदुषित भएको छ । उद्योगबाट उत्सर्जन भएको कार्वनका कारण हटिया, हर्नामाडी, गंगटे, चुच्चेखोला, राजदेवीसम्मका स्थानीयबासी प्राणघातक क्यान्सरको जोखिममा परेका छन् । यसमा मन्त्री लालबाबु पण्डितको ध्यान जानुपर्छ ।
उद्योगको चर्को प्रदुषणपछि आक्रोसित स्थानीयबासीहरु मध्ये वातावरणको क्षेत्रका क्रियाशिल दिगो वातावरण तथा संस्कृति संरक्षण मञ्चका अध्यक्ष माधव गौतमलाई सिमेन्ट उद्योगले प्रहरी मार्फत झूठा मुद्दा लगाएर गैर कानुनी रुपमा हिराशतमा समेत राखेको छ । हटियास्थित सिमेन्ट उद्योगले गरेको प्रदुषण नियन्त्रण गर्नुको साटो उल्टै पीडितलाई राज्यको निकायहरुलाई आर्थिक प्रभावमा पारेर दमन गर्ने शिवम् सिमेन्टलाई कुन कानुनका धाराले छुट दियो गम्भिर प्रश्न चिन्ह खडा भएको छ । 


त्यसो त, हेटौडाको त्यही प्रहरी प्रशासन शिवम् सिमेन्ट उद्योगका सञ्चालक रघुनन्दन मारुविरुद्ध जिल्ला वन कार्यालय मकवापनुरले पक्राउ गर्न लगाउँदा भने होटलमा राखेर अतिथि बनाएको खुलेको छ । हालको आमभन्ज्याङमा रहेको खानी क्षेत्रको वनमा अबैध रुपमा रुख कटान गरेको फेला परेपछि जिल्ला वन कार्यालयले प्रहरीलाई पक्राउ गर्न पुर्जी जारी गरेको आधारमा प्रहरीले गत मंसिर २८ गते पक्राउ ग¥यो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले वनको  पत्रको आधारमा पक्राउ परेका मारुलाई नियम अनुसार प्रहरी हिराशतमा राख्नुपर्ने थियो, तर त्यसो गरेन र तीन तारे होटल सामनामा राखेर मन्त्रीलाई झै सम्मान व्यक्त ग¥यो । जिल्ला वन कार्यालयलाई प्रहरीले पक्राउ परेको र आफ्नो हिराशतमा रहेको पत्राचार ग¥यो तर, शिवम्का निर्देशक मारु भने होटलमा बसेर रिहा गर्न अदालतमा सेटिङ गरिरहेका थिए । अन्ततः मारु सफल भए र केही दिनपछि अदालतबाट सयौं रुख कटान गरेको मुद्दामा जम्मा सात लाख रुपैयाँ धरौटीमा रिहा भए । रुख कटान जस्तो जघन्य अपराधका अभियुक्तलाई हिराशत भनेर होटलमा राख्ने उद्योगबाट पीडित भएर वातावरण संरक्षणको लागि  आवाज उठाउँदा प्रहरीले झुठा मुद्दा लगाएर प्रहरी हिराशतमा बस्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? हेटौडाबासी प्रश्न गरिरहेका छन् । हटिया क्षेत्रका उद्योगका कारण प्रदुषणका चेपटामा परेका जनताले कहिले न्याय पाउँछन् अनि वनको स्वीकृतिबिना रुख कटाउन गर्ने कार्यमा संलग्न अभियुक्तहरुलाई अपराध अनुसारको दण्ड सजाय नदिँदा कानुनी राज्यको उपहास भएन र ?

Related News