दुर्गमको एउटै गाउँमा ६६ वटा पसल

सोलुखुम्बु, २७ पुस । दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई/चार वा बढीमा आठ/१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् । 
गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा लाग्छ । 
त्यसैले अन्य कुनै पनि गाउँबाट त्यहाँ आवश्यक सामान किन्न आउँँदैनन तर गाउँकै दुईसय २३ घरका लागि ६६ वटा पसल रहेका छन् । अन्यत्र हिँड्ने बाटो पनि खासै नपर्ने भएकाले आवतजावत गर्नेले पनि त्यो गाउँमा सामान किन्दैनन, तैपनि घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन् । 
कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् र ट्रेकिङबाट फर्किएपछि पसलको सामान ल्याउने गरेको उनीहरुको भनाइ छ । पसल धेरै भएकाले कतिपयको सामान त एक वर्षसम्म बिक्री नभएर घरमै प्रयोग गरेर पनि सकिने गरेको पसल सञ्चालक नवीन कुलुङ बताए । 
प्रतिस्पर्धा भएकाले सस्तोमै सामान पाउँदा पसल नचलाउनेलाई सहज भएको छ । स्थानीय राजाराम कुलुङले भने, “चाचालुङमा पसल गर्ने फेसन नै चलेको छ, वल्लो घरमा पनि पसल, पल्लो घरमा पनि पसल, सहर जस्तै छ, तर किन्नेहरु आक्कल झुक्कल मात्र आउँछन्, किन्नेलाई त फाइदा छ ।” सामान किन्नका लागि जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर एकोहोरो तीन दिनभन्दा बढीको बाटो प्रतिकेजी रु ५० सम्म ज्याला तिर्नुपर्छ । रासस 

Related News