ओरहान पामुकको हिउँ

–अभय श्रेष्ठ । कुमारित्व भंग भएको भनी हल्ला चलाइएकी युवतीको नियति के हुन्छ ? प्रस्ट छ– आत्मशक्ति कमजोर भएका युवतीहरू आत्महत्या गर्छन् । शिक्षकद्वारा यस्तो हल्ला चलाइएकी धार्मिक विद्यालयकी एक किशोरी अनेक आपत् झेल्न बाध्य हुन्छे । निश्चित भइसकेको बिहे केटातर्फबाट रद्द गरिन्छ । हरेक केटा तर्कन थाल्छन् । हजुरआमाको आरोप त अझै मुटु छेड्ने खालको हुन्छ । अन्तत: ऊ आत्महत्या गर्छे । तर विडम्बना, पोष्टमर्टम रिपोर्टअनुसार ऊ कुमारी नै थिई । कार सहरमा यसको असर कस्तो भइदियो भने किशोरीहरूद्वारा आत्महत्याको महामारीे फैलियो । यीमध्ये धेरैजसोमा धर्मनिरपेक्षतावादी राज्य र इस्लाम विद्रोहीबीच द्वन्द्वको प्रत्यक्ष असर थियो । विद्रोहीको दबाबमा उनीहरू टाउकामा स्कार्फ लगाउँछन् । तर विद्यालय स्कार्फ लगाएका युवतीलाई प्रवेश दिँदैन । त किशोरीहरू के गरून् ?
कठ्ठर इस्लाम र धर्मनिरपेक्षतावादीबीचको द्वन्द्व । राज्यको विभिषिकाबाट कोही अछुतो रहनसक्छ ? यसै वर्षको नोवेल साहित्य पुरस्कार विजेता ओर्हान पामुकको उपन्यास स्नो यस प्रश्नको चित्तबुझ्दो जवाफ हुनसक्छ जुन कति अर्थमा हाम्रै सन्दर्भसँग मेल खान्छ ।
विगत १२ वर्षदेखि जर्मनीमा निर्वासित टर्केली कवि तथा पत्रकार का बे आमाको अन्त्येष्टिका लागि इस्तान्बुल फर्कन्छ । बाह्रैमास हिउँले ढाकिने कार सहरमा उसकी सुन्दरी सहपाठी इपेक लोग्नेसँग पारपाचुके गरेर बसेकी हुन्छे जसलाई विश्वविद्यालयका दिनमा ऊ एकहोरो प्रेम गथ्र्यो । किशोरीहरूको आत्महत्या र केही दिनपछि नै हुनलागेको नगरपालिका निर्वाचनको समाचार दिन इस्तान्बुल रिपब्लिकबाट प्रेस पास लिएर ऊ त्यहाँ पुग्छ । इपेक सोध्छे– ‘के साँच्चै चुनावको समाचार लेख्न आएको ?’ ‘होइन’– ऊ भन्छ– ‘तिमीसँग बिहे गर्न आएको ।’
केटी कति भुतुक्कै पार्ने खालकी छे भने ४२ वर्षे अविवाहित कविलाई मन थाम्नै हम्मे । आफ्नै होटलको एक कोठामा बसिरहेको कासँग ऊ भन्छे– म पनि तिमीसित समर्पित हुन चाहन्छु तर मेरा बा यही घरमा हुन्जेल त्यो सम्भव छैन । नभन्दै बाबु बाहिर निस्केका बेला ऊ कासँग समर्पित हुन्छे । प्रेम र यौन प्रसंगलाई उपन्यासमा पामुकले निकै महत्व दिएका छन् ।
6a00d83451bcff69e200e54f696c718834-640wi
धर्मनिरपेक्ष राज्यको कार्यशैली मध्ययुगीन तानाशाहको जस्तै हुन्छ । इस्लाम विद्रोहीहरू भूमिगत हुन्छन् जो टर्कीलाई इस्लाम राज्य बनाउन चाहन्छन् । राज्य उनीहरूलाई इरानको समर्थनमा उचालिएका आतंककारी ठान्छ ।
स्कार्फधारी युवतीलाई प्रवेश नदिने विद्यालय निर्देशकको हत्या हुन्छ । सहरभरि धरपकड हुन्छ र घोषित चुनाव रोकिन्छ । बोर्डर सिटी गजेटको सम्पादक सरदार बे झूठको खेती गर्न माहिर छ । सर्कुलेसन जम्मा ७५ रहेको त्यो दैनिक भूमिगतरूपमा सरकारी इशारामा काम गर्छ तथापि यसलाई प्रभावकारी अखबार मानिन्छ । राष्ट्रिय नाट्यशालामा हेडस्कार्फ जलाउने युवती प्रमुख पात्र भएको सुनियोजित नाटक सरकारी पक्षबाट प्रदर्शन हुँदैछ जहाँ महान् कवि काले आफ्ना सुन्दर कविता सुनाउने छन् । गजेटमा छापिएको खबर पढेर का अचम्भित हुन्छ किनभने उसलाई कुनै निमन्त्रणा थिएन । सम्पादक ठट्टा गर्छ– यहाँ समाचारअनुसारको घटना हुन्छ, घटनाको समाचार होइन । इपेक र उसको बाबु टर्गुट बे कालाई सम्भावित तनावबारे सचेत गराउँदै नाट्यशालामा कविता प्रस्तुत गर्न आग्रह गर्छन् ।
काको कविता प्रस्तुतिपछि अभिनेत्री फन्डा इजर स्कार्फ जलाउने युवतीको भूमिकामा देखापर्छे । विद्रोहीबाट मञ्चमै आक्रमण हुन्छ । एकैक्षणमा सेनाको हुल नाट्यशाला प्रवेश गर्छ र जथाभावी गोली चलाएर सर्वसाधारणसहित दर्जनौ विद्रोहीको हत्या गर्छ । मारिनेमा नेसिप नामक त्यो सुन्दर विद्रोही युवक पनि हुन्छ जसले कालाई विद्रोहीका नाइके ब्लूसँग भेट गराएको थियो । सहर दिउँसै मसानजस्तो सुनसान हुन्छ । सरकार यो घटनालाई महान् क्रान्तिको नाम दिन्छ ।
ब्लू र उसकी सेक्रेटरी युवती हान्डे पक्राउ पर्छन् । यसअघि ब्लूसँग काको भेट भएको थाहा पाएपछि गजेटमा काबारे इस्लाम विद्रोहबीच शंका उत्पन्न गराउने यस्तो लेख छापिन्छ जसले कालाई इस्लाम धर्मनिन्दक र पश्चिमा जासुसका रूपमा चित्रण गरेको हुन्छ । कविको सुरक्षार्थ सेना अधिकारी सुनय जैम दुई सुरक्षाकर्मी खटाउँछ र ब्लू र सरकारबीच वार्ताका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गर्छ । रहस्यहरू खुल्दै जान्छन्, इपेककी बहिनी कादिफ स्कार्फधारी व्रिद्रोही किशोरीकी प्रमुख र ब्लूकी प्रेमिका रहिछ । सुनयको सर्तअनुसार ब्लूको मुक्तिका लागि स्कार्फधारी युवतीकी प्रमुख कादिफले नाटकमा स्कार्फ जलाउने युवतीको भूमिका गर्नुपर्छ जुन राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । दुवै पक्षको कुरा मिल्छ र काको रोहबरमा ब्लू र हान्डेलाई गोप्य ठाउँमा छाडिन्छ । ब्लू अब कादिफले त्यो नाटक नगरोस् भन्ने चाहन्छ । उसको सन्देश लिएर फर्कँदै गर्दा सरकारी गुण्डा जेड डेमिरकलद्वारा का अपहरित हुन्छ । ब्लूलाई छाड्न भूमिका खेलेको भन्दै मुहमत नामक गुण्डा उसलाई कुटपिट गर्छ । डेमिरकलले इपेक र ब्लूको प्रेमबारे सबै रहस्य खोलेपछि का असाध्यै निराश हुन्छ । इपेक स्वयं यो कुरा स्वीकार्छे । ऊ कतिसम्म भन्छे भने, बहिनीले उसको प्रेमी खोसेकी मात्र हो तर ब्लूले वास्तविक प्रेमचाहिँ अझै पनि उसैलाई गर्छ । तर अब ऊ ब्लूलाई बिर्सन चाहन्छे र कासँग फ्रांकफर्टमा सुखमय दाम्पत्य जीवन बिताउन चाहन्छे । फ्रांकफर्ट जान उसले का र आफ्नो सुटकेस तयार पारिसकेकी हुन्छे ।
कादिफले स्कार्फ खोल्दा कट्टर इस्लाम विद्रोहीबाट हुने सम्भावित खतराबारे बाबुचाहिँ चिन्तित हुन्छ । कादिफलाई ब्लूको सन्देश दिनबाट इपेकले नै रोकेकी थिई । अब टर्गुट र इपेक दुवै कादिफकहाँ त्यो सन्देश पुर्‍याउन कालाई आग्रह गर्छन् । कालाई शंका हुन्छ, ऊ नाट्यशाला गएकै बेला इपेक ब्लूलाई भेट्न जान्छे । अन्तत: सहमतिअनुसार नै इपेकलाई कोठामा ताल्चा लगाएर ऊ कादिफलाई भेट्न जान्छ । त्यसपछि प्यारी इपेकलाई उसले फेरि कहिल्यै भेट्न पाएन ।
काले कादिफलाई सन्देश त पुर्‍यायो तथापि सम्झौताविपरीत उसले नाटक छाड्न मानिन । सुनयकै इशारामा गजेटमा अभिनेता सुनयको हत्याको खबर छापिन्छ । नभन्दै कादिफले नाटकमा रिभल्भर चलाउँदा उसको मृत्यु हुन्छ ।
‘हाम्रो समयको अत्यन्तै सान्दर्भिक ग्रन्थ’– पामुकलाई नोवेल पुरस्कार दिलाउन सबैभन्दा बढी भूमिका खेलेको उपन्यासबारे अमेरिकी साप्ताहिक टाइमले भनेको छ । न्यू स्टेट्सम्यानका अनुसार यो त्यस्तो अनुपम उपन्यास हो जसले कुनै पनि गैरआख्यानले भन्दा राम्ररी धर्मनिरपेक्षतावादी र कट्टर मुस्लिमबीचको द्वन्द्व चित्रण गरेको छ । कार सहरमा द्वन्द्वबीच चार दिनको बसाइमा का १८ वटा कविता लेख्छ जसलाई ‘हिउ’ँ शीर्षक दिएर ऊ संग्रह निकाल्न चाहन्छ । द्वन्द्व र कविको दैनिकीलाई पामुकले धैर्यपूर्वक सूक्ष्म चित्रण गरेका छन् । कति ठाउँमा फ्लासब्याक, अध्यायपिच्छे कवितात्मक शीर्षक र घटना वयानमा रहस्य राख्दै पाठकलाई डोर्‍याउने उनको शैली मार्खेजसँग नजिक छ जो उनका आदर्श पनि हुन् । के सुनयको योजना आत्मघाती थियो ? इपेकले कासँग फांकफर्ट नजाने निर्णय किन गरी ? जेल परेकी कादिफ फुच्चे फजिलकी पत्नी बन्न कसरी राजी भई ? यस्ता रहस्यमय प्रश्नका जवाफका लागि भने मौरिन फ्रिलीद्वारा अंग्रेजीमा अनुदित तथा फेबर एण्ड फेबरद्वारा प्रकाशित ४३६ पृष्ठको उपन्यास पढ्नैपर्छ ।
नाट्यशालाबाट फर्कँदै गर्दाे सुरक्षाकै लागि सेनाले एक घन्टापछि छुट्ने रेल चढाएर कालाई जर्मनी पठाउने योजना बनाउँछ । सेना इपेकलाई यो खबर पुर्‍याउँछ । इपेक बाबु र बहिनीको मायाले निकै विह््वल हुन्छे । यसैबीच ऊ सरकारले ब्लू र हान्डेको हत्या गरेको खबर पाएर निकै विचलित हुन्छे र कासँग फ्रांकफर्ट नजाने निर्णय गर्छे । इपेकको सम्झनाले फ्रांकफर्टमा का निकै दु:खी जीवन बिताउँछ । यही दु:खबीच कसैले उसको पिठ्यूँमा गोली ठोक्छ । 

Related News