​इन्टरपोलमा किरणको सक्रियता, प्रहरीलाई एकपछि अर्काे सफलता

दृष्टि न्यूज

काठमाडौं, १ फागुन । अपराध गरेर लुक्न विदेश जानेहरु धमाधम फन्दामा पर्न थालेका छन् । नेपाल प्रहरीले विश्वका प्रहरीहरुसँग सहकार्य गरेर फरार अपराधीहरुलाई पक्राउ गर्न थालेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले सक्रियता बढाएपछि बिश्वभरीबाट अपराधीहरु पक्राउ गरेर नेपाल ल्याउन थालिएको हो । 
यही क्रममा गत साता एक मोष्ट वान्टेड मुखिया गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट उनलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याउको हो । 
२०५८ साल कात्तिक १८ मा उनी लगायतका व्यक्तिले ठमेलको जुलिया स्टुडियो ५४ डिस्कोमा सुवर्ण गुरुङको हत्या गरेका थिए । हत्यायता फरार रहेका उनको नाममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पहलमा रेड कर्नर नोटिस जारी गरिएको थियो । 
प्रहरीले उनले प्रयोग गर्ने पासपोर्ट पत्ता लगाई इन्टरपोलको ब्ल्याकलिस्टमा राखेपछि उनी मंसिर २२ मा जयपुरमा पक्राउ परेका हुन् । भारतको जयपुर विमानस्थलबाट बैंकक जान लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि नेपाल प्रहरीले कानुनी प्रक्रिया र्पुयाएर नेपाल ल्याउन प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार दिल्लीस्थित पटियाला अदालतले उनलाई नेपाललाई हस्तान्तरण गर्न मिल्ने आदेश दिएको थियो । २ महिना लामो प्रयासपछि उनलाई पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीको इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्यले बताइन् । 
अदालतको आदेशपछि भारतीय प्रहरीले उनलाई सुपुर्दगी गरेको हो । सुपुर्दगीपत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हस्ताक्षर थियो । नेपाल ल्याइएका गुरुङलाई अदालतले जेल चलानको आदेश दिएको छ । यसरी भारतले नेपाललाई आधिकारीक रुपमा अपराधी सुर्पुदर्गी गरेको यो पहिलो घटना हो । एसपी किरण बज्राचार्यको सक्रियतामा नेपाल प्रहरीले यो सफलता हात पारेको हो । 
गुरुङलाई जन्मकैदको फैसला भइसकेको छ । नेपालको विमानस्थल प्रयोग गर्दा पक्राउ पर्ने डरले उनले भारतको विमानस्थल प्रयोग गरेका थिए । तर, पनि उनको पासपोर्ट नम्बर पत्ता लागिसकेकाले उनी उम्कन सकेनन् । 
विगतमा पनि नेपाल प्रहरीले पटक–पटक भारतबाट अभियुक्तलाई पक्राउ गरेर ल्याउँदै आएको थियो । तर, कानुनी प्रक्रिया पूरा नगरी ल्याउने भएकाले प्रहरीले नेपालमै पक्राउ गरेको बताउने गरेको थियो । यसपटक भने कानुनी प्रक्रिया पूरा गरेरै ल्याइएको हो । 
एसपी बज्राचार्य इन्टरपोल शाखामा सरुवा भएयता ठुला घटनामा वान्टेड रहेका अपराधीहरुलाई बिदेशबाट पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको छ । सिआईबीमा हुँदा संगठित मानब बेचबिखनमा दर्जनौ अपराधको अनुसन्धान गरेर अन्तराष्ट्रिय अवार्ड पाएकी एसपी बज्राचार्यले इन्टरपोल शाखामा आएपछि पनि अपराधविरुद्ध आफ्नो सक्रियता कायमै राखेकी छिन् । 

Related News