​बिशेषको फैसलाले तरंग

काठमाडौं, २७ भदौ । कुनै समय बिशेष अदालतसँग ठूला नेताहरु समेत डराउँथे । किनकि भ्रष्टाचार मुद्दामा हत्तपत्त सफाई पाउने सम्भावना कमै हुन्थ्यो । गौरीबहादुर कार्की बिशेष अदालतको न्यायाधीश भएको बेला बहुचर्चित मुद्दामा फैसला भए, जसले भ्रष्टहरुको सात्तो गएको थियो । 
तर, अहिले अवस्था ठिक उल्टो छ । गुन्डा नाइकेदेखि रंगेहात पक्राउ परेकाहरुले समेत बिशेष अदालतबाट सफाइ पाउन थालेका छन् । गत महिना गुन्डा नाइके दीपक मनाङ्गेले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए । उनले सफाइ पाएसँगै मुद्दा दायर भएका अन्य गुन्डा नाइकेहरु पनि उत्साहित भएका छन् । मनाङ्गेसहित प्रहरीले गणेश लामा, चक्रे मिलन, परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध मुद्दा हालेको थियो । जुन गुन्डागर्दी नियन्त्रणमा प्रहरीको ऐतिहासिक कदम थियो । पैसाकै बलमा गुन्डाहरुले देशमा आफ्नो प्रभाव जमाउँदै गएपछि उनीहरुले अपराधिक गतिविधिबाट कमाएको सम्पत्तिको छानबिन गरिएको थियो । तर,बिशेष अदालतले मनाङ्गेलाई सफाइ दिएपछि प्रहरीहरु निराश भएका छन् । 
आइतबारको बिशेषको अर्काे फैसलाहरुले भ्रष्टाचारीहरु पनि उत्साहित भएका छन् । रंगेहात घुससहित पक्राउ परेका प्रहरी अधिकारीहरुलाई समेत बिशेषले सफाइ दिएको छ । डेढ वर्षअघि घुससहित पक्राउ परेका डीएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई सफाइ दिएको हो । डीएसपी ज्ञवालीको साथबाट पैसा बरामद नभएकाले उनले सफाइ पाउनु ठिकै भए पनि इन्स्पेक्टर सिंहबाट त घुसको पैसा नै बरामद भएको थियो । तर, सई लालमणि पाण्डे र मध्यस्थकर्ता विश्वक्रान्ति सिंहलाई दोषी ठहर गरी अरुलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुसमेत चकित भएका छन् । 
इन्स्पेक्टर सिंहको प्रहरीमा ‘लुटेरा प्रहरी’को पहिचान छ । प्रहरीमा भर्ना हुनुअघि उनी अपराधिक गतिविधिमै संलग्न थिए । प्रहरीमा भर्ना भएको थाहा पाएपछि उनीबाट पीडितहरुले पछि उजुरी गरेका थिए । तर, पनि केही भएन । सई हुँदा उनले सुन्धारामा यार्सागुम्बा व्यापारीलाई नै लुटेका थिए । त्यो घटनामा पनि उनको जागिर जोगिएको थियो । ललितपुरको पेट्रोल पम्प्को स्वामित्व विवादमा पनि  बिश्वक्रान्ति सिंह जस्ता गुन्डालाई मध्यस्थकर्ता बनाएर उनले नै घुस लिएका थिए । तर, यस्तो घटनामा पनि उनले सफाइ पाएपछि प्रहरी अधिकारीहरु नै चकित भएका छन् । यसले रंगेहात पक्राउ परेका अन्य कर्मचारीहरुको पनि मनोबल बढेको छ । यसले कर्मचारीतन्त्रमा भ्रष्टाचार मौलाउने संकेत दिएको छ । 

Related News