​रुपन्देहीमा तस्करीका लागि एसपीको सेटिङ

दृष्टि न्यूज

भैरहवा, १८ पुस । नयाँ आर्थिक वर्षको सुरुमै सरुवा भई रुपन्देही गएका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीको सुरु–सुरुमा जिल्लामा चुरीफुरी निकै थियो । 
दशैसम्म आफ्ना मातहतका कार्यालय प्रमुखहरुलाई नियमित मिटिङहरुमा कहीँकतै गल्ती गरे कार्वाही गर्ने चेतावनीले प्रहरीभित्र हलचल नै ल्याएको थियो । सिमा क्षेत्रमा समेत तस्करी केही कम भएको थियो । जुन निरन्तर हुने अपेक्षा लिइएको थियो । तर पछिल्लो समय एसपी ज्ञवाली ठ्याक्कै १ सय ८० डिग्रीमा बदलिएका छन् । सघं–संस्थाले आयोजना गर्ने कार्यक्रममा सुरुमा जस्तो चर्का भाषणहरु गर्न छाडेका छन् । मातहतलाई बिफ्रिङ गर्दा समेत नम्र हँुदै गएका छन् । आजकाल उनले मासिक बैठकहरुमा तस्करी नियन्त्रणका कुरा उठाउनै छाडेका छन् । कारण उनको प्रहरीभित्र राम्रा होइन हाम्रालाई प्रोत्साहन र तस्करहरुसँगको उठबस बाक्लिँदै गएको छ । 
सुरुमा शान्ति सुरक्षा र तस्करी नियन्त्रण अभियानलाई एकसाथ अगाडि बढाएका ज्ञवालीले अहिले तस्करी नियन्त्र बिर्सिएका छन् । त्यसो त जिल्लामा पछिल्ला दिनहरुमा हत्या हिसांका घटनाहरुसमेत बढ्न थालेका छन् । 
दिनहुँ जसो अवैध सामान पक्राउ गर्ने जिल्ला प्रहरी र त्यस मातहतका इकाईहरुले अहिले सामान पक्राउ गर्न छाडेका छन् । त्यसो त लागूऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता निकै कम भएको छ । सुरुमा लागूऔषध नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका एसपी ज्ञवालीले त्यसो गर्न नसकेपछि आजकाल सघंसंस्थाका कार्यक्रमहरुमा समेत सितीमिती जाँदैनन् । सुरुका केही दिनमा लागूऔषध नियन्त्रणका लागि तत्परता देखाएर केहीलाई पक्राउसमेत गरेका थिए । उनको लागूऔषध नियन्त्रण अभियान पनि अहिले सेलाएको छ । 
सिमा क्षेत्रमा तस्करी एक्कासी बढेको छ । प्रदेससभा तथा प्रतिनिधिसभा निर्वाचनको आसपासमा एसपी ज्ञवालीले आकर्षक र सिमा क्षेत्रका चौकीहरुमा आफ्ना विश्वासपात्र र नातेदारलाई इन्चार्ज बनाएर रकम असुलीमा लागेका छन् । उनीहरुमार्फत सिमा क्षेत्रबाट कपडा, हार्डवेयर र गोरुको तस्करी खुलाइएको छ । उनले मुख्य सहयोगीको रुपमा सही चिन्तामणी न्यौपानेलाई अघि सारेका छन् । गोरु तस्करी क्षेत्र रहेकाले जिल्लाकै आकर्षक चौकीमध्ये पर्ने प्रहरी चौकी कालीदहमा कार्यरत न्यौपानेलाई कार्तिकमा जिल्ला ल्याएर एसपीले उनलाई समग्र जिल्लाको घुमुवा इन्चार्ज बनाएका थिए । कालीदहमा आफू अनुकूलकै ताराप्रसाद खनाललाई पठाए । रुपन्देही प्रहरी स्रोतका अनुसार एसपी ज्ञवालीले जिल्लामा घुमुवा इन्चार्ज भई सबैतिर तस्करसँग सेटिङ मिलाएपछि न्यौपानेलाई अहिले इप्रका बेथरीको इन्चार्ज बनाएर पठाएका छन् । कालीदहमा रहँदा न्यौपाने माथि बिभागले कार्वाहीको सिफारिस गरेको थियो । तर एसपीले उनको कर्तुक ढाकछोप गर्दै झनै चल्ताफुर्ता बनाएका हुन् । बेथरीमा अहिले उनको काम कुखुरा, हार्डबेयर, कपडा तथा स्थानीय उद्योगहरुमा असुली हो । 
प्रहरी चौकी मेउडीहवामा गोकर्ण चौहान, प्रहरी चौकी मैनिहवामा शालिकराम खनाल, इप्रका बेलहीयामा प्रहरी जवान दीपक बुढाथोकीलाई राखेर एसपीले सिमा क्षेत्रबाट तस्करीको लाइन चलाएका छन् । बुढाथोकी सुरुमा बेलहीया प्रसासन फाँटमा थिए । यीमध्ये न्यौपाने, खनाल, बुढाथोकी एसपीकै गृहजिल्ला दाङका हुन् । 
यिनीहरुलाई आर्कषक क्षेत्रमा खटाएर जिल्लामा बोर्डीगार्ड राजन केसीलाई हर्ताकर्ता बनाएका छन् । केसीको दरबन्दी स्याङजा भए पनि उनी लामो समयदेखि रुपन्देहीमा कार्यरत छन् । उनी अहिले एसपीका विश्वासपात्र हुन् भने एसपीले आफूबारे आउने टिकाटिप्पणी बुझ्न उनलाई कार्यालयभित्रै आन्तरिक सुराकीको रुपमा समेत परिचालन गरेका छन् । त्यसबाहेक केसीले रातमा चौकी चौकीमा गएर इन्चार्जहरुलाई टर्चर दिँदै आएका छन् । दाङमा दरबन्दी रहेका नारायण सुवेदीलाई बुटवलमा काज ल्याई फेरि उपकाज गराएर भैरहवा भन्सार पठाइएको छ । सुवेदीले भन्सारबाट एजेण्ट र फुटकर तस्करहरुसँग मिलेर एसपी ज्ञवालीको लागि काम गरिरहेका छन् । 

Related News