​चर्चित नायिका श्रीदेवीको निधन

दृष्टि न्यूज

नयाँ दिल्ली (एजेन्सी)– बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको छ। हृदयातका कारण दुबईमा उनको निधन भएको हो। 

५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी थिइन्।  
उनको निधनले बलिउड र विश्वभरि रहेका उनका लाखौं फ्यान शोकमा डुबेका छन्। उनको निधनको खबरलाई लिएर सोसल मिडियामा आश्चर्य मान्नेको संख्या ठूलो छ। 

सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी करिअरको सुरुवात गरेकी थिइन्। उनी भारतीय सिनेमामा पहिलो सुपरस्टार अभिनेत्री हुन्। उनीभन्दा अगाडि पुरुष कलाकार मात्र सुपरस्टार थिए। उनले १९७८ मा ‘सोल्हवा सावन’ मार्फत बलिउडमा पाइला टेकेकी थिइन्। 

१९८३ मा प्रदर्शित ‘हिम्मतवाला’पछि उनको नाम चर्चित भएको थियो। श्रीदेवीको फिल्म सदमा, नागिन, निगाहे, मिस्टर इन्डिया, चालबाज, लम्हे, खुदा गवाह, जुदाई चर्चित छन्। उनले पाँचपल्ट फिल्मफेयर अवार्ड जितेकी थिइन्। 

उनको विवाह फिल्म निर्देशक बोनी कपुरसँग भएको थियो। उनको दुई छोरी छन्,जाह्नवी कपुर र खुसी कपुर।

Related News