​श्रीलंकाली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

दृष्टि न्यूज

कोलम्बो, (एजेन्सी) । श्रीलंकाको पुर्नस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । 
श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मंगलबार पुर्नस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ । 
सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गत २६ अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 
संसदमा राजापाक्षको बहुमत पुग्ने नदेखिएपछि संसदको विघटन गरी आगामी ५ जनवरीमा आकस्मिक निर्वाचन हुने राष्ट्रपति सिरिसेनाले घोषणा गरेका थिए । तर। विक्रमासिंगेको दलले संसद विघटन गर्ने र निर्वाचन गर्ने निर्णयको विरोधमा अदालतमा निवेदन दिएका थिए । 
निवेदनमाथि प्रधानन्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले संसद पुर्नस्थापना गर्ने निर्णय दिएको थियो । निर्णय सुनाइँदा जम्मा भएको ठूलो भीडबाट हुन सक्ने सम्भावित आक्रोसबाट अदालत परिसरमा सुरक्षा दिन सयौँ सुरक्षाकर्मी तथा कमाण्डोलाई अत्याधुनिक हतियारसहित तैनाथ गरिएको थियो । 
अदालतले राष्ट्रपति सिरिसेनाले गरेको घोषणालाई खारेज गर्दै संसदको पुर्नस्थापना भएको निर्णय सुनाएको थियो । अदालतले राष्ट्रपति सिरिसेनाले नियुक्त गरेका विवादास्पद बनेका प्रधानमन्त्री राजापाक्षलाई २२५ सदस्यीय संसदमा बहुमत पुष्टी गरी विक्रमासिंगेलाई जिम्मेवारीबाट हटाउन सक्ने निर्णय दिएको छ । 

Related News