​प्रदेश नम्बर ४ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा आठ वटा ताल आपसमा जोडिने, प्रतिव्यक्ति आय दोब्बर पारिने

दृष्टि न्यूज

पोखरा ।
प्रदेश नं ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश नं ४ को सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पोखरा आसपासमा रहेका आठ वटा तालहरु आपसमा जोड्ने तथा प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर परिने लक्ष्य लिइएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ रहेको प्रदेश नं ४ को सरकारले पोखरा आसपासमा रहेको आठ वटा ताललाई मोनो रेलमार्फत आपसमा जोड्ने उल्लेख गरेको छ । प्रदेश सरकार सरकार प्रमुख गुरुङ नेतृत्वमा तयार गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका थिए । 
प्रदेश ४ को सरकारले नीति तथा कार्यक्रममा ८ प्रतिशतमा आर्थिक बृद्धिको महत्वकांक्षा लिएको छ भने प्रतिव्यक्ति आय वार्षिक २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य उल्लेख छ । त्यस्तै प्रदेश नं ४ को जनताको आयस्तर बृद्धिका लागि  कृषि उत्पादनलाई दोब्बर बनाउने, पाँचवर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने, प्रदेशको केन्द्रदेखि स्थानीय तहसम्म सडक सञ्जाल बिस्तार गर्ने, उर्जा उत्पादन र खपत बढाउने, प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना मुख्य मन्त्री गुरुङको नेतृत्वमा रहेको सरकारले अघि सारेको छ । प्रदेश नं ४ लाई पर्यटकीय स्थलको रुपमा विकास गर्न अन्तर्राष्ट्रयस्तरको खेल मैदान निर्माण, बहुउपयोगी सम्मेलन केन्द्रको निर्माण, विशेष र अत्याधुनिक सुविधा सम्पन्न मुटरोग, मृगौला र क्यान्सर अस्पतालका निर्माण गर्ने उल्लेख छ । त्यस्तै स्थानीय जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको लागि गाउँपालिकामा २५ शैय्या र नगरपालिकामा ५० शैयाको अस्पताल निर्माणको थालनी गरिने पनि नीति र कार्यक्रममा उल्लेख छ । 
प्रदेश नं ४ को नीति तथा कार्यक्रममा पोखरालाई केन्द्रमा राखी चक्रपथ निर्माणलाई पनि विशेष महत्व दिइने जनाइएको छ । 

Related News