सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट

काठमाडौं (एजेन्सीको सहयोग), २९ फागुन । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको खुलासा भएको छ । विद्रोहीसँग लड्नका लागि सेनालाई सहयोग गर्ने लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै १३ सय महिलाको बलात्कार भएको अनुसन्धानकर्ताले बताएका छन् । दक्षिणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले जनाएको छ । तर, दक्षिणी सुडान सरकारले भने यो आरोप अस्वीकार गरेको छ । आफ्नो सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरूको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानबिन भइरहेको सरकारी अधिकारीले बताएका छन् । राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरूले नियमअनुसार नै काम गरेको दाबी गरेका छन् । राष्ट्रसंघको प्रतिवेदन अनुसार सेनाले लडाकुलाई ‘गर्न सकेको गर, लैजान सकेको लैजाऊ’ भन्ने सम्झौताअनुसार काममा लगाउँछ । यो सम्झौताअनुसार लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । लडाकुले सर्वसाधारण नागरिकको निजी सम्पत्ति तथा पशुचौपाय पनि लैजाने गरेका छन् । दक्षिणी सुडानमा भइरहेको यौन हिंसा विश्वको सबैभन्दा जघन्य मानवअधिकार हनन् रहेको राष्ट्रसंघ मानवअधिकार आयुक्त जैद राद अल हुसैनले बताए । एक महिलामाथि नै १० भन्दा धेरै लडाकुले एक साथ बलात्कार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । दक्षिणी सुडानमा सन् २०१३ को डिसेम्बरदेखि गृहयुद्ध सुरु भएको हो । राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मचाडलाई सत्ता हत्याउन खोजेको आरोपमा हटाएपछि गृहयुद्ध सुरु भएको हो । अहिलेसम्म दशौँ हजारको ज्यान गएको छ भने २० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् । 

Related News