​सुधाको ठगी धन्दा

दृष्टि न्यूज

काठमाडौं, २७ चैत । नेपालमा एनजीओ खेती एकदमै मौलाएको छ । समानान्तर सरकारजस्तै गरी एनजीओहरु फस्टाएको छ । कुनै पनि क्षेत्रमा सफल हुन नसकेका व्यक्तिहरु एनजीओका नाममा समाजसेवी बन्ने गरेका छन् । 
एनजीओको नाममा अनेक धन्दा गर्नेहरु नेपालमा सक्रिय छन् । एनजीओ चलाएर बसेका राष्ट्रसंघका पूर्व अधिकारी पेटर बाल यौन दुराचार मुद्दामा शनिबार नगरकोटमा पक्राउ परे । 
एनजीओको आवरणमा मानवतस्करी प्रयास गरेको आरोपमा एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । महाराजगञ्जमा वेमेन्ट ड्रिम्स एण्ड ब्युटी सैलुन नामक कम्पनी र सामाजिक संस्था चलाउँदै आएकी सुधा बस्नेतलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो । उनले आफ्नो संस्थाबाट अमेरिका लैजाने भन्दै ठगी गरेकी हुन् । तर, अमेरिका पठाउन नसकेपछि पीडितहरु प्रहरीमा पुगेका हुन् । पीडितहरुसँग उनले पासपोर्ट समेत लिएको अनुसन्धानमा खुलेको छ । 
प्रहरीले उनीविरुद्ध बैकिङ कसुर मुद्दा चलाएको छ । अमेरिका पठाउन नसकेपछि उनले पीडितहरुलाई चेक दिएकी थिइन्् । तर, पटक–पटक बैंक धाउँदा पनि चेक नसाटिएपछि उनीहरुले चेक बाउन्स गरेर उजुरी गरेका हुन् । 
ठगी गरेको भन्दै अन्य पीडितहरुले पनि उनीविरुद्ध उजुरी दिएका छन् । सुधाले आफूलाई समाजसेवी तथा व्यवसायी भनेर चिनाउने गरेकी थिइन् । तर, पैसाको लोभमा फस्दा उनी प्रहरी हिरासतमा पुगेकी छिन् । 

Related News