समिट एयरको जहाज लुक्ला विमानस्थलमा बालबाल बच्यो (भिडियोसहित)

दृष्टि न्यूज

​काठमाडौं, ३ बैशाख ।
सोलेखुम्वुको लुक्लामा आज विहान समिट एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको छ । अवतरणको क्रममा जहाजले सन्तुलन गुमाउँदा पाइलटले रिभर्स ब्रेक लगाएर जहाजलाई नियन्त्रणमा लिई सकुशल पार्किङस्थलसम्म पु¥याउन सफल भएका कारण दुर्घटना टरेको हो । 
जहाज अवतरणको क्रममा धावनमार्गमा करिब एक किलोमिट गुडिसकेपछि सन्तुलन गुमाएर बायाँतर्फ मोडिन पुगेको थियो । तत्कालै पाइलटले जहाजलाई नियन्त्रणमा लिन रिभर्स ब्रेक लगाउँद जहाजको पछाडिको ब्याकअप सपोर्टले भुईमा छुट पुगेको छ । एक्कासी ब्रेक लगाउँदा जहाज जमिनमा उफ्रिन खोजेको थियो । समिट एयरका रिजर्भेशनका कर्मचारी विष्णु दुलालले जहाज ठूलो दुर्घटना नपरेको दावी गरे । उनले भने, ‘रिभर्स ब्रेक लगाउँदा पछाडिको ब्याकअप सपोर्टले जमिनमा छोएको मात्रै हो । जहाजमा कुनै क्षति पुगेको छैन ।’



१८ जना भारतीय पर्यटकहरु लिएर लुक्ला पुगेको जहाज बिहान पौनै ११ बजे नर्मल ल्यान्डिङ गर्ने बेला धावनमार्गमा समस्यामा परेको थियो । जहाज १८० डिग्रीमा धावनमार्गमा गुड्नुपर्नेमा एक किमी जति दुर पार गरेपछि एक्कासी १७५ डिग्रीमा मोडिन खोज्दा रिभर्स ब्रेक लगाएर नियन्त्रणमा लिइएको थियो । जहाज अवतरणको भिडियो समेत युट्युवमा सार्वजनिक भएको छ । जहाजलाई अनुभवी पाइलट रवीन्द्र रोकायाले उडाएका कारण सकुशल नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । 



लुक्ला एयरपोर्टका स्टेसन म्यानेजर योगेन्द्र कुँवरले धावनमार्गको स्लोपमा आइपुग्दा रिभर्स ब्रेक लगाउँदा जहाज देब्रे मोडिएर हल्लिएको बताए । तर, जहाज हल्लिएपछि रिभर्स ब्रेक लगाएको भिडियोमा देखिएको छ । क्यापिटल नेपाल डटकमले युट्युवमा राखेको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

Related News