​सन्राइज बैंकका ग्राहकले ८० भन्दा बढी अस्पतालमा छुट पाउने

दृष्टि न्यूज

काठमाडौँ । सन्राइज बैंकले देशभरका ८० भन्दा बढी निजी अस्पतालसँग सम्झौता गरेको छ । जसअनुसार बैंकका ग्राहकहरूले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् ।
कोही पनि ग्राहक यस सेवाबाट वञ्चित नहुन् भन्ने लक्ष्य रहेकाले बैंकले अरू निजी अस्पतालसँग समेत सम्झौताको क्रम जारी राखेको जनाएको छ । तोकिएका अस्पतालहरूमा छुट पाउनका निम्ति ग्राहकले बैंकको भिसाकार्ड (डेबिट वा क्रेडिट कार्ड) देखाउनुपर्नेछ । साथै ग्राहकको सहजताका लागि बैंकले १ वर्षसम्म भिसाकार्ड निःशुल्क प्रदान गरेको जनाएको छ । 
त्यसैगरी बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापछि ग्राहकले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको जनाइएको छ । उल्लेखित छुटबाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यी सबै बिमा सुविधाहरू बैंकका ग्राहकले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Related News