अन्तरनगर मेयर कप भलिबलमा सूर्यविनायक च्याम्पियन

दृष्टि न्यूज

भक्तपुर, ९ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिका भक्तपुरमा मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सूर्यविनायक नगरपालिकाले  कैलालीको गोदावरी नपालाई ३—१ सेटमा पन्छायो । सूर्यविनायकले २३–२५, २५–२३, २५–२३, २५–१५ को जित निकालेको थियो । उपाधिसँगै सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलालीको गोदावरी नपाले ७५ हजार रुपैयाँमा प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा सूर्यविनायक चित्रबहादुर केसी मोस्ट भ्यालुयबल खेलाडी र उत्कृष्ट सर्भर बन्न सफल भए । सूर्यविनायकलाई उपाधि जिताउन योगदान गरेका उनले १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए । सूर्यविनायकका उत्सव खड्का उत्कृष्ट सेटर र कमल सुनार उत्कृष्ट ब्लकर भए । गोदावरीका तारा भट्ट उत्कृट स्पाइकर र विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।
प्रतियोगिताकै दाबेदार मानिएको ललितपुर महानगरपालिका चौथोमा सीमित हुन पुग्यो भने नेपाली भलिबलका राष्ट्रिय कप्तान इम रानामगरको नेतृत्वको ललितपुर लिगमा हराएको रूपन्देहीको तिलोत्तमा नगरपालिकासँग ३–० को सोझो सेटमा पराजित भयो । तेस्रो भएको तिलोत्तमाले ३० हजार र ललितपुरले २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा देशभरका २१ नगरपालिकाको सहभागिता रहेको थियो ।

Related News