सिरियामा देखियो यस्तो विध्वंस

​१०३ अमेरिकी क्षेप्यास्त्र मध्ये ७१ आकाशमै ध्वस्त

दृष्टिन्यूज/एजेन्सीहरु
काठमाडौं, २ बैशाख । 
युद्धग्रस्त सिरियामा दोस्रो दिन पनि अमेरिकी नेतृत्वमा रहेको गठबन्धन सेनाले हवाई आक्रमण जारी राखेको छ । यद्यपि अमेरिकी आक्रमणका विरुद्धमा रसिया समर्थित सिरियन सरकारले कडा प्रतिवाद गर्दै मिसाइलहरुलाई आकाशमै ध्वस्त पार्नेक्रम आज विहान पनि जारी रह्यो । 
सिरियाको आकाशमा रसिया र अमेरिकीबीचका युद्धले हालसम्म रसिया प्रतिरक्षात्मक रुपमा अघि बढेको देखिएको छ भने अमेरिकी नेतृत्वको गठबन्धन सेना आक्रमक रुपमा रसायनिक हतियारको भण्डारण गरेको क्षेत्रमा प्रहार गर्ने क्रम जारी राखेको छ । आइतवार विहानै सिरियाको दमास्कस नजिकै रसायनिक हतियार भण्डारण गरेको आशंका गरिएको तीन स्थानमा लक्षित गरेर अमेरिकी सेनाले बमबारी गरेको थियो ।


अमेरिकी, बेलायती तथा फ्रान्सका सेनाले गरेको क्षेप्यास्त्रलाई रसियाली प्रतिरक्षा प्रणालीले आकाशमै ध्वस्त पारेपनि कैयौं क्षेप्यास्त्र भने लक्षित स्थानमा खस्न सफल भएको र त्यसले सो क्षेत्रमा रहेको भौतिक संरचना ध्वस्त बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 
अमेरिकी समाचार संस्था सिएनएनले भने सिरियामाथिको हवाई आक्रमण जायज भएको भन्दै आक्रमणले सिरियामा रहेको रसायनिक हतियार कारखाना ध्वस्त भएको जनाएको छ । त्यस्तै बीबीसीले समेत सोही आशयको समाचार प्रशारण गरेको छ । 
अलजजिराका अनुसार रसियाले अमेरिकी गठबन्धन सेनाद्वारा प्रहार गरिएका ७१ वटा क्रुस मिसाइललाई आकाशमै ध्वस्त पारिएको जनाएको छ । मस्कोमा आयोजित पत्रकार सम्मेलनमा लेफ्टीनेन्ट जर्नेल सेर्गे रुड्स्कोयले कूल १०३ वटा मिसाइल तमोहकसहित प्रहार गरिएकोमा ७१ वटा आकाशमै ध्वस्त पारेर सिरियाली जनताको रक्षा गरिएको जनाएका छन् । पछिल्लो छ महिनामा रसियाले सिरियाको हवाई प्रतिरक्षा प्रणालीमा सुधार गरेको जनाउँदै ठूलो मात्रामा प्रतिरक्षा सम्भव भएको जनाएका छन् । 


सिरियाली सरकार समाचार संस्था सानाका अनुसार अमेरिकी गठबन्धन सेनाद्वारा प्रहार गरिएका अधिकांश मिसाइल ध्वस्त गरिएको जनाएको छ । साथै विषालु ग्याँस बनाउन विद्रोहीहरुले तयार गरेको एउटा प्रयोगशाला फेला पारेको समाचार सानाले प्रशारण गरेको छ । सानाले सिरियाको औषधी कारखाना ध्वस्त पारेको उल्लेख गर्दै क्यान्सर रोगको उपचारको लागि औषधी बनाउने कारखानामाथि अमेरिकाले हवाई हमला गरेर बर्बरता प्रदर्शन गरेको जनाएको छ । 
उता, अमेरिकाले भने सिरियामाथिको सैन्य कारवाही रोकिने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पले शनिवार साँझ ट्वीट गर्दै भनेका छन्, ‘मिशन पुरा भयो ।’


सिरियामा अहिलेसम्म सिरियाली सेना तथा रसियाली सेनाले अमेरिकी गठबन्धन सेनाका विरुद्धमा कुनै प्रतिकार गरेका छैनन् र डिफेन्स (प्रतिरक्षा) मात्रै गरेका छन् । सिरियामा परिस्थिति बिग्रेमा त्यसको असर विश्वव्यापी रुपमा पर्नेछ । सिरियामा उत्पन्न समस्यामा रसिया र अमेरिकाबीचमा युद्ध भएमा कोरियाली प्रायद्धिपदेखि सिरिया, कुबेत तथा अमेरिका र रसियासमेत पर्नेछ । त्यसले नयाँ विश्वयुद्धको रुप लिनसक्ने चेतावनी अन्तर्राष्ट्रिय सञ्चारमार्फत विश्लेषकहरुले दिइरहेका छन् । 





 

Related News