​तालबाराहीमा अपूर्व वैवाहिक अनुष्ठान

दृष्टि न्यूज

श्याम रिमाल । सधैंँ तालबाराही मन्दिर जाने आउने यात्रु तथा डुँगाको चहलपहल मात्र हुने फेवाताल किनारामा यसै साल मङ्सिर ६ गते  बिहान छुट्टै रौनक थियो । अघिपछि सामान्य अवस्थामा रहने डुङ्गामध्ये चार पाँच वटा  डुङ्गा त्यो दिन बेहुलीझँै चिटिक्क पारेर सिँगारिएका थिए । डुङ्गा तालमा हिँड्दा पनि पञ्चैबाजा घन्किरहेको थियो । 
दुलही पक्ष बिहानदेखि नै तम्तयार थियो जग्गे सजाउन, बिहे सामग्री तम्तयारी गर्न र जन्तीलाई खुवाइपियाइको व्यवस्था गर्न । प्रायःसबै दौरासुरुवाल र गुन्युचोलीमै थिए । तालबाराहीभर आन्तरिक र बाह्य पर्यटकको घुइँचो छँदैथियो । जन्ती कुरिरहेका दुलही पक्ष तालको पल्लो किनारमा आँखा लगाइरहेको थियो । टाढा केही डुङ्गा देखिए निकै सिँगारिएका । पञ्चैबाजा पनि घन्किरहेको थियो । डुङ्गाभरि जन्ती टन्न थिए । जन्ती आइपुग्यो । महिला, पुरुष र सानी बालिकासहित । अधिकांश ती पनि साडीचोलो र दौरासुरुवालमै ठाँटिएका थिए । दुलहा थिए न्युजिल्याण्ड बस्दै आउनुभएका धादिङका श्रीजन पाण्डे । मोनास युनिभर्सिटी अष्ट्रेलिया, इनर्जी इन्स्टिच्युटका प्रबन्धक श्रीजन पाण्डेलाई छाता ओढाउने थिए  युनिभर्सिटी अफ क्यान्टबेरी, न्यूजिल्याण्डका प्रा एण्ड्रयु ल्यापथोर्न जो आफैँ घिउरङको दौरासुरुवालमा थिए । उनकी श्रीमती सारी र सानी चार पाँच वर्षीया छोरी इवा गुन्योचोलोमा थिए । इवालाई सोही दिन नेपाली परम्परानुसार जन्तीपक्षले समारोह गरी गुन्युचोलो दिएको रहेछ । जन्तीमा अधिकांश न्युजिल्याण्ड, अष्ट्रेलिया र नेदरल्याण्डसका  प्राध्यापक, इन्जिनीयर, कानून व्यवसायी, मार्केटिङ अफिसर, सङ्गीतकार आदि थिए ।  
मोनास युनिभर्सिटी अष्ट्रेलिया, मेटेरियल्स एण्ड सिष्टमस् इन्स्टिच्युटका जनरल म्यानेजर पाण्डे नेपाली दुलहाको वेशभूषामा सजिएका थिए भने उनलाई परम्परागत रुपमा छतरी ओढाइरहेका थिए युनिभर्सिटी अफ क्यान्टबेरी, न्यूजिल्याण्डका लेक्चरर एण्ड्रयु ल्यापथोर्न । कम्मरमा खुुकुरी पनि भिरेका पाण्डे चिटिक्क देखिएका थिए । रमाइलो त के भयो भने उनलाई फूल र लावाले स्वागत गर्न बसेको दुलही पक्षसँगै चिनियाँ पर्यटकहरु पनि आए र जन्तीलाई स्वागत गरे ।  दुलही काठमाडौँ हाँडिगाउँकी डा बाराही रिमाल(स्त्रीरोगमा एमडी) थिइन् । दुलहाका मातापिता डा नारायणी (मानवशास्त्रमा पिएचडी) र डा तारानाथ पाण्डे(भूमि व्यवस्थापनमा पिएचडी) तथा रिमालका मातापिता निर्मला(शिक्षित गृहिणी र हरिप्रसाद रिमाल(नेपाल सरकारका पूर्वप्रशासक)को पनि विवाहमा सहभागिता” थियो । 
विवाह समारोह हेर्न पर्यटकको घुइँचो लागेको थियो भने केहीले तस्वीर पनि खिंचे । नेपाली वेशभूषामा रहेकी सुन्दरी बालिकामा पनि धेरैको ध्यान गयो र धेरैले उनको पनि तस्वीर पनि लिए । बेला बेलामा नौमती बाजा घन्किरहेको थियो । दश–बाह्र जनाको बाजाटोलीमा आएका मगर्नी केटीहरु आफ्नै शैलीमा नाचिरहेका थिए । उनीहरुसँग दुलहा पक्षका पुरुष र महिलाहरुले साथ दिइरहेका थिए । पछि चिनियाँ पर्यटकहरु पनि नाच्न थाले ।  रमाइलो कुरा, बाजाटोली मगर समुदायको रहेछ । डम्मर पुर्जा मगर, तिलक फगामी र द्रुतबहादुर गर्बुजा नेतृत्वको फेवा वातावरण तथा लोकसंस्कृति संरक्षण(नौमती बाजा समूह, पोखरा–६, बैदाम)ले नारा नै दिएको रहेछ, “ हाम्रो कलासंस्कृति, हाम्रो हाम्रो पहिचान” र “मौलिक लोकसंस्कृतिको संरक्षण गरौँ,समृद्ध समाजको निर्माण जुटौँ ।” बाजा बजाउने दमाईँको सहभागिताले विवाहमा साइत पर्ने भन्ने विश्वासले एक दुई जना परियारहरुलाई समूहमा राखिने चलन रहेछ । महिलाहरुले पनि नरसिंहा बजाउँदारहेछन् ।  सामान्यतया पोखरातिर नै बाजा बजाउन जानुपर्ने बिहेमा समूहले दिनको रु २२ हजार जति पारिश्रमिक पाउने रहेछ । “मगर भएर दमाईँका बजाउने  भनेर शुरुशुरुमा हामीलाई अपहेलना पनि गरियो, कसैले दमाईँको पेशा लुट्न लाग्यो पनि भने, तर अब त सामान्य नै भयो, हामीले मानिसहरुलाई रोजगारी दिएका छौँ”डम्मरले भने ।
हिन्दू परम्परानुसार त्यहाँ विवाह भने पहिलो पटक भएको तालबाराही संरक्षण समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत यस्तो परम्परा राम्रो भएको कुँवरको भनाइ थियो । यसअघि अन्यत्र विवाह गरेर बेहुलाबेहुली तालबाराही मन्दिरमा पुजारीबाट टीका र आशीर्वाद लिन मात्र आउने गर्थे ।  तालबाराहीको विवाह नै मन्दिरमा भएको पहिलो विवाह भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । “अब अरुहरु पनि आए भने कसरी व्यवस्था गर्ने होला भन्ने लागिरहेको छ”कँुवरले भन्नुभयो । मन्दिर क्षेत्र जोगाउन हालै मन्दिर परिसरको तल्लो भागमा ढलान गरिएको जानकारी उहाँले दिनुभयो । तालको एक भागमा टापुका रूपमा रहेको स्थानमा तालबाराहीको स्थापनाको विषय विसं १४६७ तिरका राजा कुलमण्डन शाहसँग पनि जोडिएको समितिले टाँसेको सूचना बोर्डमा उल्लेख छ ।
पोखराका होटेलहरुमा बसी जन्ती बनेका विदेशीले वरवधूका परिवार र धेरै आफन्त तथा नातेदारको विवाहमा सहभागिता, विवाहको लामो र जटिल प्रक्रिया, वरबधूको पहिरन र विवाहमण्डप  रङ्गीन हुनु हिन्दू विवाहको रमाइलो पक्ष भएको बताए ।  विदेशी जन्तीका सदस्यहरुले  नेपालको हिन्दू विवाह पद्धतिबारे आफ्नै देशबाट धेरथोर जानकारी लिएर आएका रहेछन् । तिनका हातमा हाम्रो  विवाह विधिबारे ब्रोसर नै थियो र प्रत्येक विधिबारे चाख लिएर अवलोकन गरिरहेका थिए । सालीहरुले जुत्ता लुकाएको विवाहको एक अंश झन् रोचक थियो । तिनै लेक्चरर र उनका पुरुष महिला साथीहरु दुलहाका सालीहरुसँग जुत्ता खोस्न आए । त्यो देखेर दुलही पक्षका पुरुषहरुले पनि ती  बहिनीहरुलाई साथ दिए र जुत्ता लुकाएरै छाडे र   केही रकम दुलहा पक्षबाट झारे । जन्ती आउनुपूर्व दुलहाका विदेशी र स्वदेशी साथीहरुले पुनहिलको चार दिनको यात्रा पनि गरेका थिए । विवाहपछि कोही काठमाडौँमा स्वयम्भूनाथ र भक्तपुर हेर्न आए भने कोही लाङटाङ यात्रामा हिँडे । यसरी प्राकृतिक मात्र होइन मुलुकलाई मनग्गे रुपमा सांस्कृतिक पर्यटन प्रवद्र्धन पनि गर्न सकिनेमा शतप्रतिशत विश्वास लिन सकिने देखियो । रम्य प्राकृतिक वातावरणमा गरिएको विवाहले दुलहादुलहीको जीवनलाई पनि अझै उज्यालो बनाउन सहयोग गर्छ भन्ने पनि स्पष्ट छ । 

Related News