​तनावपूर्ण दाम्पत्य, डिभोर्सदेखि हत्यासम्म

काठमाडौं, २० चैत । देशमा संगठित अपराध कम हुँदै गएको छ । तर, सामाजिक अपराध भने डरलाग्दो रुपमा बढ्दै गएको छ । 
खासगरी बलात्कार तथा हत्याका घटना बढिरहेका छन् । हत्याको तथ्यांक केलाउने हो भने धेरैजसो आफन्तबाट मारिएका छन् । हत्याका ५० प्रतिशत घटनामा श्रीमानबाट श्रीमतीको हत्या भएको प्रहरी तथ्यांक छ । कतिसम्म हरेक दिनजसो श्रीमतीको हत्या हुन थालेको छ । यस्ता छन् पछिल्ला घटना– 
आत्महत्या प्रयासपछि श्रीमतीको हत्या 
नुवाकोट बेलकोटगढीका प्रकाश तामाङले ६ वर्षअघि नमूना गुरुङसँग विवाह गरेका थिए । विवाहपछि जीवन निकै खुशी हुने उनको अपेक्षा थियो । तर, उल्टो भयो । एक महिनामै झगडा पर्न थाल्यो । 
एक–अर्कालाई शंका गर्दै आरोप–प्रत्यारोप लगाउन थाले । विवाद चर्किंदै गएपछि पछिल्लो समय नमुना डेरा छाडेर नैकाप बस्न थालेकी थिइन् । त्यहाँको उनकी दिदी शर्मिला गुरुङको डेरा थियो ।
नमुनाको मोबाइलमा बाक्लै रुपमा फोनहरु आइरहन्थे । शंका लागेर प्रकाशले कसले फोन गरेको भनेर सोध्थे । तर, त्यसबारे नमुना विभिन्न बहाना गरेर ढाँट्थिइन् । त्यही विषयमा उनीहरुबीच झगडा चर्कन्थ्यो । बच्चा भएपछि पनि उनीहरुबीचाको झगडा रोकिएन । 
श्रीमतीलाई अन्य व्यक्तिसँग मोटरसाइकलमा घुम्न गएको देखेपछि प्रकाशले ६ वर्षअघि विष सेवन गरी आत्महत्याको प्रयास समेत गरे । तर, समयमै अस्पताल पु¥याएकाले उनको जीवन जोगियो । तर, विष प्रकरणपछि पनि दम्पतीबीचको तिक्तता साम्य भएन । आफूलाई श्रीमतीले धेरै पीडा दिएको उनी बताउँथे । 
पछिल्लो एक महिनायता नमुना डेराको कोठामा बस्न छाडेकी थिइन् । घरमा आउन पटक–पटक आग्रह गर्दा उनको जवाफ हुन्थ्यो–‘तँ विदेश गएपछि मात्र आउँछु ।’ 
श्रीमतीलाई बोलाउन उनी गत बिहीबार नैकाप पुगे । तर, दिदीको डेरामा उनी भेटिइनन् । शुक्रबार फेरि गए । नमुना लुगा धोइरहेकी थिइन् । घरमा बुबा–आमा बिरामी भएको र बच्चा हेर्ने मान्छेसमेत नभएको भन्दै घर जान आग्रह गरे । तर, उनले मानिनन् । बरु डिभोर्सको कुरा गरिन् । दुई जनाबीच विवाद मात्र भएन, कुटाकुट नै भयो । त्यही रिसमा कोठाबाट तरकारी काट्ने चक्कु ल्याएर उनले श्रीमतीमाथि अन्धाधुन्द आक्रमण गरे । 
रक्ताम्य हातसहित उनी त्यहाँबाट निस्किए । कलंकीमा आएर धादिङको महादेवबेशी जाने बस चढे । महादेवबेसीमा खोलामा गएर रगत पखाली गोगनपानीस्थित ठूलीआमाको छोरा अमर तामाङको घरमा गएर बसेका थिए । 
उता चक्कु आक्रमणबाट नमुना बेहोस भएकी थिइन् । अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भयो । आफन्तले प्रहरीलाई जानकारी दिएलगत्तै अनुसन्धान अघि बढायो । उनी धादिङ गएको पत्ता लगाई ठूलीआमाको छोराकै घरबाट प्रहरीले पक्राउ ग¥यो । 
पक्राउ परेपछि उनले आफूलाई श्रीमतीले धेरै दुःख दिएकाले आवेगमा आएर हत्या गरेको बताएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । श्रीमती पीडित प्रकाशका कुरा सुनेर प्रहरी पनि छक्क परे । श्रीमतीको यातना सहनै नसकेर त्यस्तो कदम चालेको उनको भनाइ थियो । 
प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनीमाथि कारबाही अघि बढाएको छ । जसमा उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ । दाम्पत्य जीवनको तिक्तताले नमुनाको ज्यान नै गुम्यो भने प्रकाश जेल पुगेका छन् । उनीहरुको ४ वर्षको बच्चाको बिचल्ली भएको छ । 
मुंग्राले हानेर हत्या 
शनिबार झापाको गौरीगन्ज गाउँपालिका ३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले आफनै श्रीमतीलाई कुटपिट गरी हत्या गरे । 
पतिको कुटाइबाट घाइते भएकी २८ वर्षीया निमथोकी शेर्पाको उपचारकै क्रममा मृत्यु भएको हो । घरायसी विवाद हुँदा पासाङले आवेशमा आएर काठको मुंग्राले श्रीमतीको टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते शेर्पालाई उपचारका लागि लाइफलाइन अस्पताल दमकमा भर्ना गरिएको थियो । सोही क्रममा आइतबार राति ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ । 
हत्या गरेको आरोपमा पासाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका पासाङले रिसको आवेगमा यस्तो घटना भएको बताएका छन् । 
मध्यराती श्रीमतीलाई गोली 
गत शुक्रबार मात्र बाँकेमा श्रीमती हत्याको अर्काे कहालीलाग्दो श्रीमती अर्काेसँग लागेको आरोपमा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरे । 
बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टी बस्ने ३२ बर्षीय संजय बर्माले श्रीमतीको हत्या गरेका उनलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ । 
बर्माले विहीबार राती आफ्नै घरको कोठामा २८ बर्षीया श्रीमती शान्ती देवी बर्मालाई बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका थिए । प्रारम्भिक अनुसन्धानमा उनले अरुसँग लागेको आरोप लगाएर गोली हानेको प्रहरीले जनाएका छन् । अभियुक्त मानसिक रोगी हुन् । बच्चाहरुले रोक्न खोज्दा खोज्दै उनले गोली हानेका थिए । 
लाठीले हानेर हत्या 
गत बुधबार मोरङमा पनि एक व्यक्तिले श्रीमतीको हत्या गरे । खोटाङको मझुवागढी नगरपालिका–३ काउलेमा सोमबार श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको हो । 
स्थानीय ५९ वर्षीय मकरध्वज राई र श्रीमती ५० वर्षीया आइसरी राईबीच साँझ ५ बेजतिर सामान्य विवाद हुँदा श्रीमानले बाँसको लाठीले श्रीमतीलाई प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
जिल्ला प्रहरी कर्यालय खोटाङबाट प्रहरीको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । उक्त घटनाको कारण पनि पारिवारिक विवाद नै भएको प्रहरीले जनाएको छ । 
ढुंगाले हानेर हत्या 
चैत ८ गते रुपन्देहीमा श्रीमतीको हत्या भएको थियो । घरायसी विवादमा एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । सुद्वोदन गाउँपालिका–१ सिसै बस्ने ४५ वर्षीय नरेन्द्र योगीले ३५ वर्षीया श्रीमती सुनिता योगीको हत्या गरेका हुन् । 
ढुंगाले लागेर गम्भीर घाइते भएकी सुनिताको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । 
मदिराको नशामा हत्या 
आठराई–तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा फागुन २६ गते राति श्रीमानले श्रीमतीको हत्या गरे । 
बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताए । 
मदिरा खाएका श्रीमान–श्रीमतीबीच भएको विवादका क्रममा आवेशमा आउँदा श्रीमतीको कञ्चटमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ । 
ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई सडकखण्डमा मजदुरीमा आएका थिए । विवाउत्तोर सम्बन्ध, मदिरा तथा अन्य पारिवारिक तनावले गर्दा नेपाली समाजमा डिभोर्सदेखि श्रीमती हत्याका घटना डरलाग्दो रुपमा बढेका छन् ।

Related News