​पर्यटकबाट लिइने शुल्क वृद्धि गरेकोमा टानको विरोध

दृष्टि न्यूज

काठमाडौं । मकालु–वरुण राष्ट्रिय निकुञ्जले उक्त क्षेत्रमा प्रवेश गर्ने पर्यटकसँग लिने शुल्क अत्याधिक वृद्धि गरेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले विरोध गरेको छ । निकुञ्जले प्रति व्यक्ति प्रवेश गर्दा ३ हजार रुपैयाँ र क्याम्पिङ गर्नेबाट २ हजार रुपैयाँ तथा नेपाली गाइडलाई प्रवेश शुल्क १ हजार ५ सय रुपैयाँ लिने गरेको छ । 
संस्थाले देश संघीयतामा गएसँगै प्रत्येक महिना जस्तो देशभरका विभिन्न भागमा रहेका पदयात्रा क्षेत्रका गाउँपालिकाले तथा राष्ट्रिय निकुञ्जले पूर्वसूचनाविना अराजक किसिमले आफूखुसी शुल्क लिएको भन्दै विरोध गरेको हो । पर्यटकलाई बढी आर्थिक भार पार्दा यसबाट दीर्घकालीन असर पर्ने संघले जनाएको छ । यसले पर्यटन क्षेत्र अस्तव्यस्त हुने भन्दै यस्ता गैरजिम्मेवार काम गर्नुपर्ने संघले माग गरेको छ । 
स्थानीय सरकारको दबाबमा होटेल तथा लजहरूले पनि खानाको तथा पदयात्रा सहयोगीको शुल्क तोक्ने गरेकामा यसलाई गैरजिम्मेवार कदम भएको संघले जनाएको छ । यस्ता काम तत्काल नरोकेमा सम्पूर्ण पर्यटन व्यवसायी आन्दोलनमा उत्रने र यसबाट पर्ने असरको जिम्मेवारी सरकारले लिनुपर्ने संघले जनाएको छ । 

Related News