​तराई–मधेशमा सेनाको चिन्ता

​रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । नेपालीहरूको महान् चाड बडादसैँको पूर्वसन्ध्यामा प्रधानसेनापति पूर्णचन्द्र थापाले एक पत्रकार सम्मेलन गराएका थिए । सामान्यतः प्रधानसेनापति स्वयंले पत्रकार सम्मेलन गर्दैनन् र सैनिक प्रवक्तामार्फत नै सेनाले आफ्नो कुरा जनसमक्ष ल्याउँदछन् । सायद नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मुलुकका विशेष परिस्थितिको सिर्जना हुनसक्ने आभास भएर नै यो पत्रकार सम्मेलन गरेका होलान् ।
थापाले मुलुकको वर्तमान अवस्थाबारे भने– ‘नेपाली सेना संविधानविरोधी र बिखण्डनवादी तत्वहरुका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सुक्ष्म रुपबाट नियालेर निरन्तर मूल्यांकन गरिरहेको छ । राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो, तर राष्ट्रसँग अन्य विकल्प पनि छन् भन्ने पक्षलाई बिर्सन मिल्दैन ।’
उनले अगाडि भने– नेपाल सरकारबाट उपयुक्त निर्देशन प्राप्त भए सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार छ । र, सोही बमोजिम मातहतमा समेत निर्देशन भइसकेको बताए । यसबाट के कुरा स्पष्ट हुन्छ भने मुलुकमा विखण्डनवादी तत्व सलबलाएका छन् र समयमै त्यस समस्याको समाधान जरुरी छ ।
यस्तै नेपाली सेनाको वर्तमान संख्या घटाउनु पर्छ भन्ने कुराको कडा प्रतिवाद गर्दै थापाले भने– ‘वर्तमान परिस्थितिमा सेनाको संख्या घटाउनु भनेको संविधानविरोधी तत्वहरुको मनोबल बढाउनु हो ।’ यसतर्फ सचेत हुनु जरुरी छ ।
पत्रकार सम्मेलनमा यस पंक्तिकारले सोधेको ‘हाल काठमाडौँ–तराई दू्रतमार्गलगायत नागरिक सरकारले गर्नुपर्ने धेरै विकास निर्माणको काममा सेना संलग्न छ । के यसले गर्दा कतै नेपाली सेना विकास निर्माणको हनी ट्रयापमा त फसेको छैन ? भन्ने प्रश्नको उत्तरमा थापाले भने– ‘विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी हो र नेपाल सरकारले यसको जिम्मेवारी दिएपछि नेपाली सेनाले त्यो पूरा गर्नैपर्छ ।’ नेपाली सेनाको ९५००० संख्यामध्ये इञ्जिनीयरिङ विभागका एक हजार जनशक्ति मात्र यस्ता काममा खटिने गर्दछन् । शान्तिकालमा सेना विकास निर्माणमा लाग्दा सेनाको व्यावसायिकतामा आँच आउँछ कि भन्ने कुरा जायज हो ।
विकास निर्माणको काममा ठूलो बजेट परिचालित हुन्छ र त्यहाँ भ्रष्टाचारको पनि त्यत्तिकै सम्भावना रहन्छ । यस्तो परिस्थितिमा नेपाली सेनाको साख जोगाइ विकास निर्माणको काम गर्न निश्चय पनि थापालाई सजिलो छैन ।
प्रधानसेनापति थापाले नेपाली सेनाको व्यावसायिकताको अभिवृद्धिको लागि पारदर्शीता, आन्तरिक सदाचार, भ्रष्टाचारमा शून्य सहनशीलता आदिको घोषणा गरेका छन् । यसै सन्दर्भमा हालै उनले नेपाली सेनाका विभिन्न तहका दुई सय बढी जवानलाई कोर्ट मार्शल गरी सेनामा कुनै पनि किसिमको भ्रष्टाचार सह्य हुने छैन भन्ने गतिलो सन्देश दिएका छन् । साथै उनले के कुुरामा चिन्ता व्यक्त गरे भने–युवापुस्ताको लागि नेपाली सेनाको सेवा आकर्षक बनाउनु पर्छ । त्यसका लागि नेपाल सरकारले विशेष पहल गर्न आवश्यक भएको छ । हाल नेपाली सेनाको अधिकृत तहका कैयौँ पदको पदपूर्ति हुनसकेको छैन । सरकारले यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्दछ ।
rmshghimire@yahoo.com

Related News