मोडल बन्न चाहन्छिन् ‘तरकारीवाली’


काठमाडौं, २० कात्तिक । ‘हेल्लो तरकारीवाली बोल्या हो ?’, भुम्लीचोक–८ की १८ वर्षीया कुसुम श्रेष्ठको मोबाइलमा तारन्तार फोन आइरहन्छ । अपरिचित व्यक्तिले फेसबुकमा राखेको एउटा तस्बिरले उनको परिचय फराकिलो भएको छ । दैनिकी बदलिएको छ । कान्तिपुर दैनिकमा सुदीप कैनीले समाचार लेखेका छन् ।

चिनेजानेका र छरछिमेकीले समेत उनलाई ‘तरकारीवाली’ भनेर सम्बोधन गर्न थालेका छन् । फोन गरेर बधाई दिने र भेट्न आउनेको धुइरो लागेको छ । कुसुम बिदाका दिन खेतीकिसानी गर्ने बाआमालाई सघाउँछिन् । त्यही क्रममा क्रेटमा गोलभेडा बोकेर चितवन, फिस्लिङस्थित पृथ्वी राजमार्ग जोड्ने झोलुंगे पुल तर्दै गर्दा पत्तै नदिई कसैले उनलाई क्यामेरामा कैद ग‍र्यो । तरकारी बिक्री गर्ने भैरवी कृषि सहकारी संस्थामा भारी बिसाएर उनी मोबाइलमा बोल्न थालिन् । त्यहाँ पनि तिनै अपरिचितले अर्को फोटो खिच्न भ्याए । 


ती दुवै तस्बिर अहिले सामाजिक सञ्जाल हुँदै सञ्चारमाध्यमसम्म फैलिएका छन् । ‘तरकारीवाली’ का नामले देशविदेशमा चर्चित भएकी छन् कुसुम । 

कुुसुमले पछि थाहा पाइन्, फोटोग्राफर रूपचन्द्र महर्जनले उनको फोटो खिचेर कात्तिक १२ गते फेसबुकमा पोस्ट गरेका रहेछन् । १५ गते उनलाई घ्याल्चोककी साथी अञ्जु रेग्मीले यसबारे जानकारी दिइन् । ‘फेसबुक त म पनि चलाउँछु तर साथीले भनेपछि मात्र थाहा पाएँ,’ उनले भनिन् । 

पृथ्वी राजमार्गबाट एक घण्टा पैदल दूरीको पहाडी गाउँस्थित उनको घरमा इन्टरनेट सुविधा छैन । मोबाइल फोनले समेत राम्ररी नेटवर्क टिप्दैन । कुसुम ४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली सन्तान हुन् । ‘नचिनेको मान्छेले फेसबुकमा फोटो राखेको छ भनेपछि घरमा कराउनुभयो,’ उनले भनिन्, ‘पछि त घरमा पनि कुरा बुझ्नुभयो, मनमा डर हट्दै गएको छ ।’

कुसुमले गत वर्ष ज्ञानमार्ग उच्चमावि घ्याल्चोकबाट सी प्लस श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी छन् । ‘स्टाफ नर्स बन्ने रहर थियो, घरको आर्थिक अवस्थाले पढ्न सकिनँ,’ उनले भनिन् । अहिले चितवनस्थित काकाको घरमा बसेर किस्ट मोडल कलेजमा व्यवस्थापन पढ्दै छिन् उनी । अहिले दसैंतिहार छुट्टीमा घर आएकी हुन् । फिस्लिङ बजारमा दैनिक तरकारीको हाटबजार लाग्छ । त्यही झोलुंगे पुल तरेर सयौं किसान हाटबजार आइपुग्छन् । 

पाकिस्तानका चियावाला अरसद खान मोडल भएजस्तै कुसुमले पनि तस्बिरमा आफ्नो प्रशंसा बढेपछि मोडलिङ गर्ने सपना देख्न थालेकी छन् । ‘खासै यही बन्ने भनेर सोचेकी थिइनँ, अबचाहिँ मोडल बन्नुपर्छ जस्तो लागेको छ,’ उनले भनिन् । सुरुमा तरकारीवालीका रूपमा प्रचार हुँदा केही धकाएकी कुसुमलाई अहिले त्यही परिचयमा सन्तुष्टि मिल्न थालेको छ । 

प्रचारमा आएको सुरुका दिन डराए पनि अहिले कुसुम र परिवारको आत्मविश्वास बढ्दै गएको काका पदमले बताए ।

श्रेष्ठ परिवार भूकम्पले क्षति पुर्‍याएको घरमा बस्दै आएको छ । ‘घर बस्न नहुने भएपछि अनुदान पाउने सूचीमा परेको छ,’ पदमले भने, ‘घर बनाउन नसक्दा चर्किएकै घरमा बस्नुपरेको हो ।’ त्रिशूली नदी तर्दै गर्दा भारतीय पर्यटकको टोली केही वर्षअघि त्यही झोलुंगे पुल चुँडिएर दुर्घटनामा परेको थियो । 

पुनर्नि्र्मित त्यही पुलमा खिचिएको कुसुमको तस्बिरलाई भारतीय सञ्चार माध्यमले ‘तरकारीवाली’ शीर्षक दिएर प्रचारमा ल्याएपछि उनको चर्चा बढेको हो । ‘देशविदेश चर्चा हुने केटी भाग्यमानी रहिछ,’ फिस्लिङमा भेटिएकी रत्नमाया श्रेष्ठले भनिन्, ‘सबैको भाग्य एक न एक दिन घुम्दै आउँदो रहेछ ।’

Related News