​दशैंको दिन उपत्यकामा ट्याक्सीद्वारा मनपरि भाडा असुली

ट्राफिक प्रहरीले सुरु गर्यो कारवाही

दृष्टि न्यूज

काठमाडौं । 
सार्वजनिक यातायात नचलेको मौका छोपेर शुक्रबार विजयादशमीको दिन काठमाडौं उपत्यकामा ट्याक्सी व्यवसायीहरुले अत्यधिक महंगो भाडा असुली गरेका छन् । उता, महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि बढी भाडा लिने ट्याक्सी चालकहरुमाथि कारवाही गरेको छ । 

दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिए पनि ट्याक्सी चालकहरुले भने चढ्ने वित्तिकै एक हजार देखि, एक हजार पाँच सय रुपैयाँसम्म असुली गरिरहेका छन् । टीका लगाउन निस्केका यात्रु तथा लामो दुरी यात्रा गरी आएका यात्रु धेरै मारमा परेका छन् । ट्याक्सीले अत्यधिक मात्रामा यात्रुलाई ठगी गरेको गुनासो परेपछि प्रधानमन्त्री कार्यालयले नै बढी भाडा लिने ट्याक्सीको सम्बन्धमा विशेष निर्णय गरेर कारवाही गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको छ । सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Related News