​टिच फर नेपालको वाकाथन हुने

दृष्टि न्यूज

काठमाडौं । ग्रामिण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिंडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीककारुपमा टिच फर नेपालले सिटिजन्स बैँकको प्रायोजनमा यही असार १६ गते तेस्रो वाकाथनको आयोजना गर्दैछ । कुटुम्बले सांगीतिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि हुँदैछन् ।
ललितपुरको लबिम मलबाट सुरु हुने उक्त वाकाथन कोपुन्डोल, माइतीघर, भद्रकाली, त्रिपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा सांगीतिक कार्यक्रममा परिणत हुने छ । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गर्ने छन् ।  
‘हाम्रा विद्यार्थीहरू दैनिक ५ किलोमीटर हिंडेर बिद्यालय आउने गर्छन् त्यही कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकाथानको आयोजना गरिएको हो’ टिच फर नेपाल भर्ना तथा छनोट विभागका जिग्मे शेर्पाले बताए । उनले यो कार्यक्रमले टिच फर नेपालको अभियानमा युवाहरु अझै जागरुक भएर लाग्नेमा आफू बिश्वस्त  रहेको बताए । 
‘नेपालमा शैक्षिक असमानता विद्यमान छ । हामी सबैले शिक्षामा परिवर्तन चाहन्छौं तर  परिवर्तन एक्लैले गर्न मुस्किल छ । यो परिवर्तनको प्रक्रियामा हामीलाई युवाहरुको साथ आवश्यक छ’ टिच फर नेपालका मुख्य कार्यकारी अधिकृत शिशिर खनालले बताए । ‘वाकाथनले जुलाई १ बाट सुरू हुने  टिच फर नेपालको २०१९ को प्रज्ञार्थी भर्ना र छनोटमा पनि सहयोग गर्ने र ती प्रज्ञार्थीले नै ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्यापन गराई नेपालमा रहेको शैक्षीक असमानता लगायत सामाजिक समस्याको विरुद्ध आवाज उठाउने’ विश्वास ब्यक्त गरे ।
वाकाथनमा भाग लिन एक हजार रुपैंया सहयोग रकम संकलन गर्नुपर्ने र उक्त  रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रयोग गर्ने आयोजकले बताएका छन् । टिच फर नेपालको तेस्रो वाकाथनको सहयोगी संस्थाका रुपमा बुद्ध एर रहेको छ ।

Related News