ऊ डाइरेक्टरको पछि लागी

सहरको जीवन निकै फरक थियो । कति पत्रकार र फोटोग्राफर उसका वरिपरि झुम्मिन थालिसकेका थिए । मनोरञ्जन साप्ताहिकमा उसको मिडपेज ब्लोअप छापिइसकेको थियो । कामना र दैनिक पत्रिकाले पनि उसको सौन्दर्यबारे चर्चा गर्न थालिसकेका थिए । त्यो सबैको श्रेय यही डाइरेक्टरलाई जान्छ । उसले सोची, केही पाउनु छ भने केही त गुमाउनैपर्छ । (त्यसै दुवै हातमा लड्डु कहाँ हुन्छ मैयासाहेब ?) लोग्नेमान्छेसँग रात बिताउने कल्पनाले उसको मन ढक्क फुल्यो । मन भारी भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । उसले मुटु दरो पारी । कुनै दिन एउटी साथीले दिएको सल्लाह सम्झी र औषधि पसलबाट निरोधक चक्की प्रोजेस्टिन किनी । ऊ डाइरेक्टरले भनेको ठाउँमा पुगी । डाइरेक्टर ऊ आउनेमा ढुक्क थियो । कपालमाथि गगल्स भिरेर उसैको बाटो हेरिरहेको थियो । उसले पुरुषलाई राम्ररी स्पर्शसमेत गरेकी थिइन । ऊ थुरथुर काम्न थाली । डाइरेक्टर अनुभवी थियो । अन्तिम अवस्थासम्म उसले आफूलाई जोगाउने प्रयास गरी । ‘मेरो पहिलोपटक हो, सर, मलाई डर लाग्छ, प्लीज †’
‘सबै केटीहरू यसै भन्छन् ।’ असह्य पीडा, भय र लाजले ऊ तीन दिनसम्म थला परी । पछि उसलाई बानी पर्‍यो । अब ऊ नै डाइरेक्टरलाई बोलाउन थालेकी थिई ।
ऊ छिटै सफल भई । सफलताका लागि प्रतिभा र रूपमात्र भएर हुँदैन, लगन र समर्पण पनि चाहिन्छ । यो उसले राम्ररी बुझेकी छ । मोडलिङ फिल्डमा धेरै प्रतिस्पर्धा छ । भीजेमध्ये कति अहिलेसम्म पैसा पाउँदैनन् । उसका लागि त्यो स्थिति छैन । ऊ भर्खरै घोषित भएकी छ फिसटेल साबुनको नयाँ ब्रान्ड फेस । उसको विज्ञापन निकै हिट भएको छ । त्यसमा ऊ एउटा पुरुषसँग सहवास गरिरहेकी हुन्छे । उसको क्रन्दन निकै उत्तेजक छ । उनीहरू दुवै सहवासको चरम आनन्द लिन्छन् । अन्त्यमा ऊ फिसटेल साबुनमा परिणत हुन्छे । मिडियामा यसबारे निकै विवाद भएको छ । त्यसले उसलाई झनै हिट बनाएको छ । ऊ खुसी छे । एक नवनायकले त्यो विज्ञापन हेरेर आफू ‘मास्टरबेट’ गर्न बाध्य भएको अन्तर्वार्ता दिएको थियो । यस्ता विवादले उसलाई झन्झन् प्रसिद्ध बनाइरहेका थिए ।
पहिला त उसले कोरियोग्राफर र फोटोग्राफरलाई समेत सन्तुष्टि दिनुपथ्र्यो । तिनले चाहेमा उसको क्यारियर डामाडोल पारिदिन सक्थे । कैयन्पल्ट उसले तिनीहरूसँग पनि रात बिताइदिएकी थिई । अब ती मोराहरूले उसलाई आँखै लगाउन सक्दैनन् । ऊ धेरै माथि पुगिसकी । तिनीहरू उसका गुलाम बन्न तयार छन् । हो, तिनीहरू अरूसँग गफ लडाउँछन्, कति रात मैले त्यसलाई सुताएको छु भनेर ।
आज उसलाई जानु छ शर्मा टेलरिङको ग्रान्ड सोमा जहाँ मिस इन्डियाको पनि सहभागिता हुनेछ । उसले टपरको भूमिका निर्वाह गर्नु छ । डाइरेक्टरले भनेको थियो, नौ बजे आइपुग्छु, तयार रहनू । दुई घण्टाअघि मात्र बाबुको फोन आएको थियो ।
'छोरी, तिमी कहाँ आइपुग्यौ ?’ फेरि बाबुले फोन गर्‍यो ।
‘बा, म आउँदैछु, नौबीसेमा कसले हो बन्द गरेका छन्, ढिलो होलाजस्तो छ,’ उसले सरासर ढाँटी ।
‘छोरी, छिटै आऊ, आमा तिमीलाई नै पर्खिरहेकी छ’, बाबुचाहिँ फोनमै रुन थाल्यो ।
‘बा, म आउँदैछु, बेलुकी ढिलो भयो भने भाइलाई लिन पठाउनू,’ फेरि उसले ढाँटी ।
आमालाई सम्झेर एक छिन ऊ भावुक भई । आमा कति माया गर्थिन् उसलाई † आज तिनै मृत्युशैयामा छिन् र तिनलाई भेट्न जानसमेत फुर्सद छैन उसलाई । आमाले कुनै दिन उसलाई भनेकी थिइन्, मेरी छोरी रानी हुन्छे । अब साँच्चिकै ऊ मोडलिङ क्षेत्रकी रानी भइसकी र आमा, बाबु, गाउँ, डाँडापाखा, भाइ, गाउँले सबै उसलाई ‘बेकार’ भइसके । उसकी मायालु आमा मृत्युसँग लड्दैछिन् तर ऊ यहाँ मस्तीको जीवन बिताइरहेकी छ । आफूले ठूलै पाप गरेझैँ एक्कासि उसलाई औडाह भयो । आफ्नै जीवन धिक्कार लाग्यो । उडेर आमाकहाँ पुगूँजस्तो लाग्यो । यो कुरा डाइरेक्टरलाई भन्न सक्दिन । अर्कोतिर, अब ऊ यति ठूलो अवसर पनि गुमाउन चाहन्न । हरे, उसकी प्यारी आमा उसैलाई हेर्न अन्तिम सास रोकेर मृत्युलाई धकेलिरहेकी छन् ।
जे त पर्ला, उसले आजको सोबाट भाग्ने निर्णय गरी र गाउँ जाने तयारी गर्न थाली । त्यसका लागि डाइरेक्टर आउनुअघि निस्कनु जरुरी थियो । डाइरेक्टरलाई थाहा दिए उम्किन पाइन्न, पक्का छ । तल गाडीको हर्न बज्यो । एहे, डाइरेक्टर डाँका मुन्टिसकेछ । नौ बजे आउँछु भन्थ्यो, सवा आठै बजे अन्मरिएछ । कसैको नभएको कार † त्यसका बाउको ठाँडो, कति हर्न बजाएर मरेको ? लौ, सोझै ड्रइङ रूममा छिर्‍यो ।
उसले जबर्जस्ती आँसु पुछी । हाँसेर डाइरेक्टरलाई स्वागत गरी । डाइरेक्टरले उसलाई अँगालो हाल्यो । चुम्बन गर्‍यो । उसले धकेलिदिई ।
‘छिटो गर, हामी सवा नौ बजे त्यहाँ पुग्नुपर्छ ।’
‘हजुर नौ बजे आउँछु भनिस्या हैन ?’
‘कमन डार्लिङ, यो स्लो मेनको जमाना होइन । जमाना रकेट युगमा छ, तिमी रिक्सा युगमै छ्यौ ।’
फेरि उसको मोबाइलको घन्टी बज्यो । भाइ रहेछ । भाइले अशुभ समाचार सुनायो । ऊ फोनमै भक्कानिएर रुन थाली । डाइरेक्टर अवाक् भयो । मोबाइल अन नै थियो ।
‘के भयो ? किन रुवावासी ?’ डाइरेक्टर क्रूर आवाजमा कड्कियो ।
‘आमाको…. आमाको डेथ भएछ’, रुँदै उसले भनी ।
‘ओह्, आई एम एक्सट्रिमली सरी ।………. भइहाल्यो, ल ढिलो नगर ।’
‘अब म घर जानुपर्छ ।’
‘डन्ट बी सिली माई डियर । तिमीले हाम्रो सम्झौतामा साइन गरिसकेकी छ्यौ । हाम्रो स्वीकृतिबिना तिमी कहीँ जान पाउँदिनौ । फेरि आजको यति ठूलो सो, जहाँ तिमी टपर छ्यौ, कसरी छाड्न सक्छ्र्यौ ? तिमी आफ्नै क्यारियर डुबाउन चाहन्नौ होला नि ?’
‘त्यसो भए आमा मर्दा पनि म घर नजाऊँ ?’
‘मलाई साँच्चीकै दु:ख लागेको छ, यस्तो बेला पनि तिमीलाई मैले नलगी हुँदैन । दसौँ लाखको बिजनेसको सवाल छ । आइ एम सरी फर द्याट । बट राइट नाऊ, यु मस्ट गो टु द सो ।’
डाइरेक्टरको कुरा सुनेर ऊ स्तब्ध भई । कति क्रूर र संवेदनाहीन छ साला धुन्नकारी ! आमाको मृत्यु हुँदा समेत कामुक भद्रभलाद्मीसामु कम्मर भाँच्दै, तिघ्रा झल्काउँदै उसले क्वाटवाक गर्नुपर्ने भयो ।
ऊ फेरि घोप्टो परेर रुन थाली । डाइरेक्टरले उसको पाखुरा समायो । सम्झौताका बुँदाहरू सुनाउन थाल्यो । कुनै दिन उसले नपढी त्यसमा सही गरिदिएकी थिई । त्यसअनुसार साच्चीकै ऊ बन्धित थिई ।
‘हाम्रो कल्चरमा छोरी नभई आमाको लास उठाउन मिल्दैन’, उसले भनी । ‘ड्याम द ब्लडी कल्चर । तिमी हाम्रो कम्पनीलाई यसरी बदनाम गर्न पाउँदिनौ जसले तिमीलाई यहाँसम्म पुर्‍यायो,’ डाइरेक्टर पनि अलि उत्तेजनामै बोल्यो ।
फेरि भाइले फोन गरेको थियो । भाइसँग एक छिन दगावाद पर्‍यो । भाइले उसलाई बेस्सरी हकार्‍यो । उसले पनि हकार्दै भनी, ‘म आउँदैमा मरेकी आमा बाँच्छिन् ? कि बाँच्छिन् ? बाँच्छिन् भने जसरी भए नि आउँला ? नत्र म आएर के हुन्छ ?’ ‘सरी डियर । तिमीलाई चोट परेका बेला उत्तेजनामा केके बोलेँ ! तर, म बाध्य छु । ढिलो नगर ।’
उसले मोबाइलको स्वीच अफ गरिदिई । आँसु पुछी । डाइरेक्टरलाई हेरेर रुन्चे हाँसो हाँसी । डाइरेक्टरले सान्त्वना दिँदै भन्यो, डन्ट वरी ।
ऊ डाइरेक्टरको पछि लागी । रोकिनसक्नु हिक्का छाड्दै कारमा बसिसकेपछि उसले सोची, ‘आमाको मृत्युको वेदना हृदयभरि बोकेर अब कसरी र्‍याम्पमा क्याटवाक गरूँ ?’

Related News