ग्रीसमा अलपत्र सयौँ आप्रवासी मेसेडोनिया प्रवेश

काठमाडौं, २ चैत । ग्रीसमा अलपत्र परेका सयौँ आप्रवासी मेसेडोनिया प्रवेश गरेका छन् । मेसेडोनियाले सीमा क्षेत्रमा कडाइ गरेपछि अलपत्र परेका हजारौँ आप्रवासी मध्ये सयौँ वैकल्पिक मार्ग फेला परेपछि त्यहाँबाट मेसेडोनिया प्रवेश गरेका हुन् । मेसोडोनियाको प्रहरीले यसरी अवैध व्यापारका लागि प्रयोग हुने गरेको मार्गबाट प्रवेश गरेका आप्रवासीलाई नियन्त्रणमा लिएको छ । ती सबै आप्रवासी फेरि ग्रीस फर्किनु पर्ने मेसेडोनिया प्रहरीको भनाइ छ । ग्रीसको इडोमेनी गाउँको शिविरमा रहेका झण्डै एक हजार आप्रवासी मेसेडोनिया प्रवेश गरेको जनाइएको छ । यसरी मेसेडोनिया प्रवेश गर्नेमा महिला तथा बालबालिका पनि छन् । मेसोडोनियाले सीमामा कडाइ गरेपछि युरोप प्रवेशका लागि भन्दै समुद्री मार्गबाट ग्रीस पुगेका झण्डै १४ हजार आप्रवासी अहिले सीमा क्षेत्रमा अलपत्र परेका छन् । मेसोडोनियाले गएको हप्ता थप आप्रवासी धान्न नसक्ने भन्दै सीमामा कडाइ गरेको थियो । सिरिया, इराक तथा अफगानिस्तानसहितका देशबाट युरोप प्रवेश गर्न चाहने आप्रवासीले ग्रीस हुँदै मेसेडोनियाको बाटो प्रयोग गर्ने गरेका छन् । 

Related News