सुन काण्डमा ‘ठूला माछा’ पर्ने !

दृष्टि न्यूज

काठमाडौं, १८ वैशाख । तत्कालीन आईजीपी प्रकाश अर्यालको नेतृत्व भ्रष्ट हुँदा नेपाल प्रहरी बदनाम भएको छ । दरबारमार्गको सामूहिक बलात्कार काण्डदेखि सुनसरीको बलात्कारमा मिलापत्र हुँदै अहिले सुन तस्करी प्रकरणसम्म प्रहरी अधिकारीहरु मुछिएका छन् । जसले गर्दा प्रहरीभित्रै धेरै अपराधकर्ममा संलग्न व्यक्तिहरु रहेको देखाएको छ । 
विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको पहिलो चरण प्रहरीले सकाएको छ । तर, दोस्रो चरणको अनुसन्धानमा थप प्रहरी अधिकारीहरुसमेत पर्ने देखिएको छ । 
प्रहरीले शाक्य हत्यामा संलग्न भएका प्रहरीहरुलाई मात्र अहिले पक्राउ गरेको हो । विमानस्थलबाट ६ वर्षदेखि भइरहेको सुन तस्करी प्रकरणमा संलग्न थप प्रहरी तथा एयरलाइन्सका कर्मचारीहरुमाथि अर्काे चरणमा अनुसन्धान हुने छानबिन समितिका एक अधिकारीले दृष्टिलाई बताएका छन् । दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकृत मात्र होइन, तिनलाई राजनीतिक संरक्षण दिने नेता, कार्यकर्ता पनि अनुसन्धानको घेरामा आउने स्रोतको दाबी छ । यस घटनाले शेरबहादुर देउवाले प्रहरी आईजीमा खेलेको भूमिका पनि सुन काण्डमा जोडिने अनुमान गरिएको छ । जयबहादुर चन्दलाई आईजी  बनाउनेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ताको सिलसिलालाई पनि सुन काण्डको रहस्यसँग जोडेर हेरिन थालिएको छ । देशमा सुशासन कायम गर्ने ओलीको बचनबद्धताको अग्निपरीक्षा पनि यही अनुसन्धानबाट प्रारम्भ हुने छ । किनभने सुन काण्डमा ठूला माछा पर्ने सम्भावना बढेको छ । 
३३ किलो सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा छानबिन समितिले ६ प्रहरी अधिकारीलाई हिरासतमा लिइसकेको छ । पूर्वडिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान बिष्णु खड्का पक्राउ परेका छन् । एसएसपी श्याम खत्री फरार छन् । 
स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकारीहरु फस्ने सम्भावना छ । सुन तस्करका नाइके चुडामणि उप्रेतीको पूर्व आईजिपीहरु प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालसँग निकट सम्बन्ध थियो । सोही आधारमा प्रकाश अर्याललाई नै फोन गरी उप्रेतीले शाक्य हत्या मिलाउने प्रयास गरेका थिए । अर्यालसँग उप्रेतीको दुईतर्फी सम्पर्क नै देखिएको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा पनि सेटिङमै हुँदै आएको छ ।
त्यस्तै विमानस्थलमा काम गरेका अन्य प्रहरी अधिकारीहरुसँग समेत उप्रेतीको सम्बन्ध देखिएको र दोस्रो चरणको अनुसन्धानमा ती प्रहरी अधिकारीहरुलाई तान्ने तयारी भइरहेको छ । 

Related News