भागीरथी र टीकालाई प्रतिभा सम्मान तथा पुरस्कार

​काठमाडौं, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रतिभा सम्मान तथा पुरस्कार घोषणा गरेको छ । 

प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार बेलायतको फोकस्टोनमा बसेको बैठकले आख्यानकार भागीरथी श्रेष्ठलाई सम्मान र गीतकार टीका चाम्लिङलाई पुरस्कार दिने निर्णय गरेको हो । सम्मानमा दोसल्ला, ताम्रपत्र र नगद २० हजार अनि प्रमाणपत्रसहित पुरस्कारको राशि नगद १ लाख छ ।    

वि.सं. २००५ असोज १२ गते गुल्मीमा जन्मिएकी श्रेष्ठका ‘मालती’, ‘यस्तो एउटा आकाश’ उपन्यास, ‘मोहदंश’, ‘विभ्रम’, ‘भूमिगत रातो गुलाफ’लगायत कथा र ‘मेरा बाआमा’ संस्मरण कृति प्रकाशित छन् । यसैगरी वि.सं. २०३० माघ ४ गते खोटाङको नुनथलामा जन्मिएका चाम्लिङका ‘मुन्धुम र मालिङ्गो’, ‘जूनको बस्ती’, ‘समयको रङ’ र ‘सपनाको रङ’ गीत संग्रह प्रकाशित छन् । उनका दर्जनौं गीत संगीतबद्ध छन् । पछिल्लो समय चाम्लिङ किरात राई जातिको संस्कार तथा संस्कृतिका क्षेत्रमा क्रियाशील रहेको प्रतिष्ठानका नेपाल प्रतिनिधि एवं प्राज्ञ शशी लुमुम्बूले जानकारी दिएका छन् ।  

प्रतिष्ठानबाट यसअघि ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया र प्रद्युम्न श्रेष्ठ (सिक्किम) सम्मानित अनि नवीन विभास, कुवेर राई, श्रवण मुकारुङ, मोमिला जोशी, उपेन्द्र सुब्बा, राजकुमार दिक्पाल, भूपाल राई र बीबी अनुरागी पुरस्कृत भइसकेका छन् ।         

Related News