​तीन सेमी क्षेत्रफलको ‘गाभा’

श्याम रिमाल ।
 बा आउनुभो 
कोठाभित्र बस्नुभो 
अनि जानुभो ।

गत वर्ष प्रलेसको सम्मेलन उद्घाटनका बेला चैत २६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वेदव्यासका मानसिक सन्तान नेपालीहरु हाइकु लेखनमा लागेकामा निकै असन्तुष्टि पोख्दै यसरी आलोचना गरे । उनको भनाइको अर्थ के थियो भने अर्थ न बर्थका शब्दहरु लेखेर नेपाली साहित्यकारहरु हिँड्नु ठीक  होइन । साहित्यकारहरुले महाभारतमा रहेको जस्तै शाश्वत मूल्यको कृति रचना गर्नुपर्ने उनको सुझाव थियो । 
 पुर्लुक्क लडेँ
म विस्तारै उठेँ र 
 हिँड्न थालेँ ।

यसरी निकै झटारो हानेका थिए उनले । त्यसो त उनी आफैँ कवि हुन् । गत वर्ष उनले जेलमा लेखिएको ‘खर्पन’ कविता सुनाएर आफू पूर्वकवि भएको परिचय दिएका थिए–
 म यही खर्पनमा हालेर हर दिन बेलुका 
बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु 
म यही खर्पन थापेर हर दिन बिहानै 
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु 
हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा– 
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ 
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु 
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई 
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ 
तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ 
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो, 
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो 
मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन 
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन 
मान्छेहरुसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरु हो खर्पन 
मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।(पोखरा बन्दीगृह, २०४१)

ओलीको त्यो हाइकु साहित्यककार इन्द्र मालीले सुनेका–पढेका रेछन् र निकै रिसाएका रेछन् । हाइकु काव्य प्रतिष्ठान(हाइकान)ले आयोजना गरेको द्विभाषीय हाइकु वाचन गोष्ठीमा हाइकानका अध्यक्ष तथा ‘नेवाः हाइकु’ र ‘आजको हाइकु’का प्रधानसम्पादक इन्द्र मालीले त्यस दिन भनेका थिए– “हाइकु  र कवितामा फरक नै छैन, स्वतस्फुर्त रुपमा शाश्वत अनुभूति सहितको भावको प्रस्फुटन हुने हाइकुमा कल्पना र उपमाको निकै ठूलो स्थान छ । यसमा पनि अनुशासन छ, पद्यमयता, लय र ध्वनि छ ।”  नेपाली साहित्य विधामा शङ्कर लामिछानेले जापानबाट भित्र्याएको तीनहरफे हाइकु अहिले झन् फैलँदैछ, झाँगिँदैछ र यसमाा नयाँ नयाँ प्रयोग  भइरहेका  छन् । 
तीन हरफमा ५–७–५ शब्दमा कुनै स्थितिलाई वर्णन गरिने हाइकुमा प्रकृति, मौसम र संस्कृतिका कुरा विम्बका रुपमा अनिवार्य रुपमा आउँछन् जसलाई एकै सासमा पढ्न सकिन्छ । यात्राका क्रममा देखिएका कुरालाई जापानका बाशो, बुसोन, इसा, सिकी(सत्रौँ–उन्नाइसौँ शताब्दी)लगायत कविले होक्कु, हाइकाइ नो कु बाट हाइकुको रुप दिएका थिए । 
शिरीष फूल
भ्रमर चुम्बनमै 
ओइली झर्छ । 
लामिछानेले ‘शिरीषको फूल’ उपन्यासको भूमिका लेखनमा हाइकुमार्फत उपन्यासको सारलाई व्यक्त गरे (अझै विवाद छ लामिछानेकै हाइकु नहुन सक्छ भन्दै ) । 
माकुरा जाल
झोल्लिएको ओसले 

तन्कँदै गयो –यो अर्काे हाइकु हो लामिछानेको जसले एउटा विस्फोटनको सङ्केत गर्छ । 
त्यसपछि हाइकुलाई रत्नशम्शेर थापा, क्षेत्रप्रताप अधिकारी, रामदयाल राकेश, रामकुमार पाँडे, पुष्कर लोहनीलगायत नेवारी, मैथली, संस्कृत भाषामा समेत लेखियो । पछिल्लो पुस्तामा चेतनाथ धमला, सुनिल पुरी, सुषमा मानन्धर, मित्रबन्धु पौडेल आदिले यसलाई हुर्काउँदै गएका छन् । यौन हाइकुमा अधिकारी, पाँडे, लोहनी जमेका छन् । पुरी छोटा छोटा कविताका साथै गीत(आज तिम्रो सम्झनामा) र गजल लेख्छन् । यसबाट हाइकु लेख्न उनलाई झन् सजिलो भयो । ललितपुर पुल्चोक दमकल  पछाडि एक योगी झैँ चुपचाप धुम्धुम्ती बस्ने पुरीले तीन इन्च क्षेत्रफलको हाइकु सङ्ग्रह गरेर साहित्य जगत्मा चमत्कार नै गरेका छन् । सङ्ग्रहको नाम राखिएको छ ‘गाभा’ जसलाई लामिछानेप्रति नै समर्पण गरिएको छ । 
विश्वमा रोबर्ट च्याप्लिनको ‘टिनी टेड फ्रम टर्निप टाउन’ (२००७) शीर्षकको कथा किताब सबभन्दा सानो भनी गिनिस बुक्स अफ वल्र्ड  रिकर्डसमा राखिएको छ जुन ३० पेजको छ जसलाई माइक्रोस्कोपबाट मात्र पढ्न सकिन्छ । यो १००×७० माइक्रोमिटरका छन् । पुरीको गाभा भने २’×१.५’ सेमी अर्थात् ३ वर्गसेमी क्षेत्रफलको छ जसको परिकल्पना उनका ८ कक्षामा पढ्ने १४वर्षीय छोरा शुभम्को हो । प्रकाशक पत्नी सुरञ्जना हुन् ।  “छ महिना त प्रेसमा नै धाएँ”पुरीले भने, “मेरो पुस्तक संसारको दोस्रो सानो  हुुनुपर्छ ।” निष्कपट पुरीका हाइकुमा रुख, फूल, पात, चरा, इन्द्रेणी, झरी, बादल, हिमाल आदि प्रशस्त आएका छन् । कहीँ उनी आफूलाई झरेको फूलसँग दाँज्छन् भने कतै फुलेको फूल बन्न मन पराउँछन् । गोरखा भूकम्पबाट भएको सम्पदाको क्षयप्रति उनी दुःख व्यक्त गर्छन् । मानिसका पीडा पनि उनको हाइकुले समेट्छ –
लेकमा हिउँ
लेकाली गाउँहरु
दुःख पीडामा । 
पुरीले हाइकुलाई पोर्टेबल बनाएर मानिसका मनमनमा छाती छातीमा टाँस्न खोजेका छन् । हाम्रा व्यस्त राजनीतिज्ञहरुले देशलाई सूक्ष्म रुपमा बुझ्न हाइकु पनि पढ्नैपर्छ जस्तो छ । 
पानी पँधेरो
घैँटोमा दुःख बोक्दै 
मनै अँध्यारो । 

shyam_rimal@yahoo.com

Related News