​पर्यटनको विकासमा निगमको भूमिका

दृष्टि न्यूज

हरि गोपाल प्रधान । स्थापनाकालदेखि नै राष्ट्रिय ध्वजावाहकका रुपमा रहेको नेपाल वायुसेवा निगम यतिखेर आरोह अवरोहको दोसाँधमा भए पनि सम्वन्धित सबैबाट उपयुक्त सहयोग पाएमा यसको भविष्य उज्ज्वल रहने स्पष्ट  छ । त्यसो हुन सके यसबाट राष्ट्रिय आर्थिक विकासका लागि महत्वपूर्ण योगदान हुन सक्नेछ । 
निगमले २०१५ साल आषाढ १७ गते देखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेको छन् । अधिकांश विकट पहाडी ठाउँहरुमा समेत निगमले स्थापनाकालदेखि आफनो सेवा उपलब्ध गराएको छ ।
बैदेशिक मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय उडान लगायत ग्राउन्ड ह्यान्डलिङ (भुमिस्थ सेवा) अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवावापत आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले सम्पूर्ण विदेशी एयरलाइन्सहरुलाई सेवा प्रमुखताका साथ अगाडि बढाउन प्रयासरत छ । नेपाल अन्तर्राष्ट्रिय उड्डयन संघ (आइकाओ) ले नेपाल माथि लगाइएको गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटाइएको छ ।
देशमा महाभूकम्पको बेला विदेशबाट निःशुल्क सामानहरुको ल्याउनुका साथै, राजधानीमा हवाई इन्धन आपूर्ति नहुँदा निगमका विमानहरुले विदेशबाट इन्धन आपूर्ति समेत गरेका थिए भने काबुलमा विस्फोटमा परेका निर्दोष नेपालीहरुको शव ल्याउने काम पनि गरेको थियो । 
नाफा आर्जनमा मात्र आफूलाई सिमित नराखी यसले सेवा भावनालाई प्राथमिकता दिँदै आएको छ । अन्य यातायातका साधन नभएमा दुर्गम क्षेत्रका जनतालाई अपेक्षाकृत सस्तो दरमा सेवा उपलब्ध गराउनुका साथै त्यस्ता ठाउँमा दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्रीहरु पु¥याउनमा समेत सक्रियता लिँदै आएको छ । तर यस वापत सरकारबाट कुनै अनुदान भने प्राप्त हुँदैन ।
आन्तरिक उडानमा घाटा सहेर पनि निगमले आफूलाई बढी सेवामुखी बनाएको छ भने बाह्य उडानहरु पनि अन्य विमान सेवाहरुभन्दा तुलनात्मक रुपले सस्तो बनाइएको छ । नियमित, स्तरीय एवंंं विश्वसनीय सेवा दिनु निगमको प्रमुख लक्ष्य हो । अहिले आन्तरिक तथा बाह्य सेवामा निगमले वर्षेनी लाखौं स्वदेशी विदेशी यात्रु तथा पर्यटकहरु ओसार पसार गर्दछ र करोडौं रुपिया बराबरको विदेशी मुद्रा आर्जन गरेर देशको अर्थव्यवस्थामा सघाउ पु¥याएको छ । तर विमानको कमीले प्रतिस्पर्धामा अनेक असुविधा र कठिनाई पनि यसले सहनु परेको छ । यसबाट सुचारु रुपमा विमान सेवा संचालन गर्नमा निगमलाई अनेक बाधा छन्, तापनि सम्भव भएसम्मका सेवा निगमले उपलब्ध गराइरहेको छ ।
विदेशका धेरै मुलुकहरुमा राष्ट्रिय ध्वजावाहकका रुपमा नेपालको छविलाई विश्वमा फैलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशिल रहेको छ । विदेशतर्फमा भारतका विभिन्न स्थानहरु जस्तै नयाँ दिल्ली, मुम्वई, बैगलौर, अन्य सेक्टरहरुमा क्वालालम्पुर, दोहा, दुवई, बैंकक, हङकङ आदिजस्ता थुप्रै स्थानहरुमा सेवा पु¥याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरु कटौती गरेको भए तापनि आगामी दिनमा निगमबाट खरिद गरिने एयरबस ए३३० वाइडवडी आगमन सँगै नयाँ गन्तव्यहरु ओसाका, दक्षिण कोरिया, रियाद, अष्टे«लिया, ग्वाङजाऊ, दमाम तथा कटौती भइसकेका स्थान सिंगापुर, साँधाई, फ्राङ्कफोर्ट, लन्डन, जापानमा पनि अब उडानहरु भर्नु अत्यावश्यक भइसकेको छ ।
तर अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङलो भएकोले अव पर्यटकहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि हुने आशा पलाएको छ । नेपाल वायुसेवा निगमले दुई वर्ष अघिदेखि दोहा उडान थालेको र विश्वका ठूला ठूला वायुसेवा निगमहरुले उडान गर्ने दोहासँग सिधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरु नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरुको संख्यामा उल्लेख्य रुपमा अन्य देश भएर नेपालमा आउने पर्यटकहरुलाई सवभन्दा महँगो भाडादर पर्ने आएता पनि पर्यटक आवागमनमा बृद्धि हुने आशा पलाउनु पनि स्वाभिवकै हो । खाडी राष्ट्रहरुमा काम गरिरहेका करिव ६ लाख नेपाली मजदुरहरुको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दोहासँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरुले भारत हुँदै नेपाल आउनुपर्ने वाध्यता पनि हट्न गएको छ र, नेपालीको रगत पसिनाको कमाई स्वदेशी एयरलाइन्समा सीमित भएको छ ।
नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनकालागि नेपाल वायुसेवा निगम, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल, नेपाल पर्यटन बोर्ड, नीजीस्तरका हवाई कम्पनीहरु तथा विभिन्न ट्राभल एजेन्सी र होटलहरुको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न संघ संस्थाहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्वन्ध रहेको छ । तर सम्वन्धित सम्पूर्ण निकायहरुका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्दा त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफनो लक्ष्य प्राप्तिका लागि कठिनाई भइरहेको छ ।
त्यसवाहेक नेपालमा पूर्णरुपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय हुनुपर्दछ । पोखरा र लुम्बिनीका विमानस्थलहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा कार्यलाई जतिसक्दो छिटो निर्माण गरी विकास गरिनु पनि आवश्यक छ । अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरुको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटकहरु बढी हुने मुलुकहरुसँग बढी सम्वन्ध विस्तार गर्ने हो भने ३८ वटा मुलुकको सट्टा त्यो भन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
निगमले कार्ययोजना तयार गर्दा विमान थप्ने कुरालाई विशेष प्राथमिकतामा राखेको छ । विमान कम्पनीसँग पर्याप्त मात्रामा विमान नभएको अवस्थामा यसले विकास र गन्तव्य विस्तार गर्न सक्दैन । निगम व्यवस्थापले समयवद्ध तथा चरणवद्ध रुपमा विमानहरु थप्दै जाने कार्ययोजना बनाइ तदनुरुप सक्रिय भएको छ । व्यवस्थापकीय सुधारतर्फ पनि निगम सक्रिय हुँदै आएको छ । नयाँ जनशक्तिको प्रवेशका साथै भएकालाई आवश्यक तालिम उपलब्ध गराई सक्षम एवं प्रतिस्पर्धी बनाउने कामलाई निरन्तरता दिइएको छ ।
यी सव कुराहरुमा ध्यान दिँदै तद्नुरुपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरुमा बजार प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरुप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरु चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सिमित नराखी नियमित उडानहरुलाई प्राथमिकता दिई थप सुविधा र सुहलियत प्रदान गरिनुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पाकिङ्ग गरेर राखेको स्थान) पूर्व तर्फको खाली जग्गालाई साना तिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थीत गर्न सकिन्छ भने दक्षिण तर्फको हालको एयरपोर्टलाई लम्वाई तर्फ गरी ८ वटा विमान पार्किङ्ग क्षेत्रबाट १२ वटा देखी १५ वटा सम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ प्राधिकरणले यसतर्फ पनि समयमै ध्यान पु¥याउनु आवश्यक छ ।
निगममा विमानचालकहरुको अभाव ठूलो समस्या हो । जहाजहरु थप्दै जाने रणनीति बनाउनु, बैदेशिक उडानहरु थप गर्दै जाने स्थिति रहनु, आन्तरिक उडान  गर्नुपर्ने स्थलहरु बृद्धि हुँदै जानु, नीजि क्षेत्रका वायुसेवाहरुसँग प्रतिस्पर्धामा उत्रनु जस्ता कारणहरुले निगमलाई चुनौति थपिएको बेलामा पाइलटको अभाव हुनु सानो समस्या होइन । निगमका पाइलटहरुलाई नीजि कम्पनीहरुले आफूतिर लोभ्याउन आकर्षक तलव दिन थालेकाले हालसालै निगम व्यवस्थापनले पनि विमान चालकको तलवमा पर्याप्त बृद्धि गरेको छ । तर यो समाधान अस्थायी बाटो मात्रै हो । यसबाट पाठ सिकेर अव स्थायी बाटो खोज्नुपर्ने देखिएको छ । 
जे होस् निगम भित्रका आन्तरिक समस्याहरुको समाधान गर्नका लागि सरकार र निगम व्यवस्थापन इमानदारीपूर्वक लाग्नै पर्छ । हाल कुशल व्यवस्थापकले यस तर्फ अभिलिखित कार्य अगाडि बढाएमा निगमको उत्तरोत्तर प्रगति हुने कुरामा दुईमत नहोला ।

Related News