पर्यटन प्रवद्र्धनमा जुट्यो सात नम्बर प्रदेश

वीरेन्द्र रावल, कैलाली, २७ चैत । पर्यटकीय गन्तव्यहरुको पहिचान र त्यसको उचित प्रचार प्रसार गर्ने मूल उद्देश्यका साथ जिल्ला समन्वय समिति कैलालीको आयोजना  र जिल्लास्थित स्थानीय निकायको सहकार्यमा आगामी बैशाख १५—१६ गतेका दिन कैलाली भ्रमण बर्षको आयोजना गरिदैछ ।
विगतमा नेपाल सरकारले नेपाल भ्रमण बर्ष भनेर काठमाडौं, पोखरा, लुम्विनी र चितवनकेन्द्रित थियो । तर प्राकृतिक रुपले निकै आकर्षक अनि सम्पदाको धनी सात नम्बर प्रदेश र ६ नम्बर प्रदेशसम्म पर्यटक पु¥याउनका लागि राज्यले जुन खालेको मार्गदर्शकको भूमिकामा आउन सक्नुपर्दथ्यो त्यो भने हुन सकेन । जसका कारण ७ नम्बर प्रदेसमा रहेका पर्यटनका सम्भावनाहरुले स्थान पाएनन् र प्राकृतिक सौन्दर्यता ओझेलमै रहन पुग्यो । बेलाबखत विभिन्न खालका महोत्सव र मेलामार्फत सात नम्बर प्रदेशमा रहेका पर्यटनका सम्भावनाहरुलाई स्थानीय स्तरमा उजागर गर्ने कार्यहरु भइरहेको भएतापनि त्यसले राष्ट्रिय रुप भने लिन सकेन । जसका कारण यस क्षेत्रको पर्यटनमा सोचेअनुरुप विकास पनि हुन सकिरहेको छैन ।
सात नम्बर प्रदेस प्राकृतिक रुपले मात्र सम्पन्न नभई यस क्षेत्रका भेष,भुषा ,रहनसहन, कला, धर्म संस्कृति प्राकृतिक सम्पदाका नीधि र हस्ताक्षर पनि हुन् ।  यस क्षेत्रमा रहेको सामाजिक एकता र सद्भावले पनि सात नम्बर प्रदेसलाई अटल प्रदेशको रुपले चिनाइरहेको छ ।
७ नम्बर क्षेत्रमा रहेका धार्मिक पर्यटनका सम्भावनालाई राज्यले बेलैमा उकास्ने र त्यस्को संरक्षण गर्ने बिषयमा चासो देखाउन सकेको भए पनि पर्यटन विकासमा निकै ठूलो उन्नति हुने सम्भावना रहन्थ्यो । तर राज्य , स्थानीय निकायले बेलैमा पनि उचित  खासै चासो देखाउन सकेको भए पनि आज ७ नम्बर प्रदेसले देसका अन्य प्रदेशभन्दा पर्यटनका क्षेत्रमा निकै ठूलो प्रगति गरिसकेको हुन्थ्यो ।  ढिलै भएतापनि जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले पर्यटन विकासका लागि कैलाली जिल्ला लगायत ७ नम्बर प्रदेसका अन्य पर्यटनका सम्भावना बोकेका स्थानहरुलाई प्रचारमा ल्याउने र पर्यटन क्षेत्रको विकासका लागि राज्यको ध्यानाकर्षण गराउने सम्बन्धमा कैलाली भ्रमण बर्षको आयोजना गरेको छ । यो निकै स्रहानीय कार्य हो । जवसम्म कैलाली जिल्लाबाट ७ नम्बर प्रदेसमा रहेका प्राकृतिक, साँस्कृतिक एवं धार्मिक पर्यटनका सम्भावनाको बारेमा प्रचार प्रशार गर्ने र त्यसलाई राज्यसमक्ष पु¥याउन सकिँदैन, तबसम्म यस क्षेत्रको  पर्यटन विकासमा पनि खासै पहल होला भन्ने आधार अगाडि देखिँदैन । त्यही प्रयोजनका लागि जिल्ला समन्वय समितिले चालेको कदम निकै समय सान्दर्भिक छ । 
कैलाली जिल्ला आफैमा पनि धार्मिक, साँस्कृतिक एवं प्राकृतिक रुपले सम्भावना भएको जिल्लाको रुपमा लिन सकिन्छ । कैलाली जिल्लामार्फत सात नम्बर प्रदेसमा रहेका पर्यटनका सम्भावनाको बारेमा आन्तिरक एवं बाह्य पर्यटकहरुलाई जानकारी दिन सक्ने सूचना बोर्ड स्थापना गरी सात नम्बरका पर्यटनका सम्भावना भएका र पर्यटकीय क्षेत्रहरुका बारेमा  जानकारी आदान प्रदान गर्न सक्ने क्षेत्रको रुपमा विकास गर्न पनि सकिन्छ ।
कैलाली जिल्ला यस्तो जिल्ला हो जहाँ  फागुनदेखि बैशाख  महिनासम्म लाली गुराँस फुलेको हेर्न सकिन्छ । कैलाली जिल्लामा नेपालकै सबै भन्दा अग्लो  चुरे पर्वत माला पनि छ । सात नम्बर प्रदेसको  प्रवेशद्धार कर्णाली चिसापानी,देखि उत्तरमा त्रिवेणी धाम क्षेत्र, दक्षिणमा टीकापुर बंगला पार्क उत्तरपश्चिममा राजकाँडा क्षेत्रबाट  सूर्य उदाएको हेर्न सकिने मालिका मन्दिर क्षेत्र, मध्यवर्ती क्षेत्रमा अवस्थित  घोडाघोडी ताल,घोडाघोडी मन्दिर, बेहेडाबाबा मन्दिर, गोदावरी धाम, बर्दगोरिया, कम्पासेधुरा डाँडा, खानीडाँडा, बुढितोला क्षेत्र, नैनादेवी वनदेवीजस्ता प्राचिन मन्दिर, जाखोर ताल, बेहेडा बाबा क्षेत्र, कोइलीहवा ताल र पूर्व दक्षिणवर्ति सत्ती क्षेत्रमा रहेको पुरानो प्रकाशेश्वर मन्दिर लगायतका दर्जनौं क्षेत्रहरु धार्मिक पर्यटनका लागि निकै प्रख्यात क्षेत्रको रुपमा लिन सकिन्छ । समग्रमा भन्नु पर्दा कैलाली जिल्ला ताल तलैया, वन जंगलले भरिपूर्ण जिल्लाको रुपमा स्थापित छ ।  कैलाली जिल्ला प्राकृति सौन्दर्यका लागि निकै उर्वर भूमि पनि हो । यसै जिल्लाबाट सात नम्बर प्रदेसमा रहेका अतिनै महत्वपूर्ण एवं धार्मिक, साँस्कृतिक एवं प्राकृतिक सम्पदाको खाँनीका रुपमा रहेका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ । 
अछाम जिल्लाको साँफेबगर नजिकै रहेको पुरा तात्विक एवं सम्पदासूचिमा सूचिकृत बैद्यनाथ धाम, देखि लिएर जनालीकोटमा रहेको जनालीकोट मन्दिर, पूर्वी क्षेत्रमा रहेको विनायस्थित पञ्चदेवल, क्षेत्रहरु  र बाह्रबण्ड अठार खण्डका रुपमा चिनिने अग्लो भागमा अवस्थित रामारोशन ताल क्षेत्र अछाम जिल्लाका पर्यटकीय गन्तव्य अन्तगरत पर्दछन् भने  नेपालमै लोपोन्मुख तर अछाम जिल्लामा मात्र पाईने नौमुठे गाई एक अर्को पर्यटनको सम्भावना बोकेको चिनोपनि हो । यस्तै अछामा जिल्लामा मनाईने धमारी, पुत्ला,पञ्चेवाजा, हुडकेउली, होली र देउडापनि अछाम जिल्लाका धार्मिक एवं साँस्कृतिक सम्पदाका रुपमा लिईन्छ ।
यस्तै बाजुरा जिल्लाको बडीमालिका क्षेत्र, बुढीन्दा ताल पनि पर्यटनको केन्द्रका रुपमा लिइन्छ । बाजुरा जिल्लामा भुवा नाच निकै प्रचलित संस्कृति हो । डोटी जिल्लामा रहेको धार्मिक पर्यटनको केन्द्र शैलेश्वरी मन्दिर स्थापित छभने गौरा त्यस जिल्लाको अर्को लोकप्रिय संस्कृति पनि हो । 
बझाङ् जिल्लामा रहेको शैपाल हिमाल, सुर्मादेवी मन्दिर धार्मिक पर्यटनका केन्द्रहरु हुन भने भुवा, देउडा लगायतका संस्कृतिहरु निकै प्रख्यात छन्  ।
डडेल्धुरा जिल्लामा रहेको उग्रतारामन्दिर निकै प्रख्यात धार्मिक पर्यटनको क्षेत्र हो । अमरगढी किल्ला यस क्षेत्रको अर्को पर्यटनको केन्द्र हो । डडेल्धुरा जिल्लामा गौरा पर्वलाई विशेष महत्व दिएर मनाएको पार्यन्छ भने जाँत जस्ता मेलाहरु विभिन्न अवसरहरुमा मनाउने प्रचलन पनि कायमै रहेको देखिन्छ । 
बैतडी जिल्लामा रहेका त्रिपुरा, निगालाशैनी, मेलौली भगवी धार्मिक पर्यटनका केन्द्रहरुका रुपमा स्थापित छन् भने बैतडी जिल्लाको कलासंसकृतिको रुपमा छलिया नाँच निकै ख्याती प्राप्त संस्कृति हो । 
दाचुर्ला जिल्लामा रहेको अग्लो  अपि हिमाल रहेको छ भने मालिकार्जुन मन्दिर त्यस क्षेत्रको धार्मिक पर्यटनको केन्द्र हो भने कला संसकृतिमा गौरा, छलिया, शौका जातीको परम्परागत नृत्य देखि लिएर आय आर्जनका लागि यार्शागुम्वापनि आकर्षणको केन्द्रका रुपमा लिन सकिन्छ । 
यता कञ्चनपुर जिल्ला वातावरणीय रुपले पनि निकै सम्पन्न जिल्लाको रुपमा लिन सकिन्छ । कञ्चनपुर जिल्लामा रहेको प्राचिन सिद्धनाथ बाबाको मन्दिर धार्मिक पर्यटनको केन्द्र हो । पूर्णागिरी माताको मन्दिरमा दर्शन गरेर फर्किने धर्मालम्वीहरुले अनिवार्य रुपमा सो मन्दिरको दर्शन गर्नेपर्ने धार्मिक मान्यता भएका कारण पनि भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको पाइन्छ ।
यस्तै कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा आरक्षमा नेपालमै लोपोन्मूख कृष्णासारको अवलोकन गर्न पाईन्छ  भने यस क्षेत्रमा विभिन्न जिल्लाबाट बसार्ई सराई गरेर मानिसहरु  आउने हुनाले यस जिल्लामा साँस्कृतिक विविधता छ । यस जिल्लामा बेदकोट ताल झिलमिला ताल पर्दछन भने लिंगा क्षेत्रपनि धार्मिक पर्यटन केन्द्रको रुपमा स्थापित क्षेत्र हुन् ।
नेपालका कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने राना थारुहरुको परमपरागत पहिरन, राना नृत्य, र थारु समुदायको झुम्रा नाच, डङगरवा नाच, लठिठ नाच, सखिया लगायतका महत्वपूर्ण संस्कृतिहरु पनि पर्यटनका निकै सम्भावना बोकेका देखिन्छन् ।

Related News