​अक्षरमा ट्रम्प

दीपेश केसी । ट्रम्प धन र मन दुवै भएका जब्बरी हुन् । वैभवलाई हदैसम्म उपयोग गरिरहेका छन् । विश्वका अर्बपति मध्येका भइकन उनको जस्तो शानको जीवन सबैले जिएका छैनन् । जीवन जिउनुलाई कला मान्छन् । कलायुक्त जीवन जिए । यही कलाबाट दाम, नाम र शक्ति तीनवटै प्राप्त गरे । जीवनमा सोच, मोज र भोग धेरै गरे । आफ्ना जीवनी सम्बन्धि पुस्तकमा विलासी जीवनबारे उल्लेख गरेका छन् । असाध्यै खर्चालु जीवन जिउँछन् । उनी जति धनी छन् उति नै शक्तिशाली पनि छन् । विश्वका पचास चर्चित सेलिब्रेटीमध्येमा पर्छन् । यसले पनि उनलाई विलासी बनाएको छ । आफू बस्ने घर र कोठालाई विशेष बनाएका छन् । न्युयोर्कस्थित ट्रम्प टावरमा अवस्थित सबैभन्दा माथिल्लो तीनवटा तल्लामा ट्रम्प बस्छन् । यो उनको परिवारको स्थायी बसोबासस्थल हो । ट्रम्पका लागि यो गर्व र आनन्द दुवै हो । यसको मूल्य १० करोड डलर अर्थात् ११ अर्ब नेपाली रुपैयाँ बराबरको छ । त्यहाँबाट न्युयोर्कको सेन्ट्रल पार्क र मानहट्टनको मनमोहक दृश्य देखिन्छ । न्युयोर्कको छिमेकी राज्य न्युजर्सी पनि देखिन्छ । अर्पाटमेन्टमा सुनौलो, गुलाबी रङ्गलाई विशेष महत्व दिइएको छ । २४ केजी सुनले सजाइएको छ । जसको डिजाइन फ्रान्सका विलासी राजा लुइ चौधौंको भर्लेलिस दरबारकै जसरी चर्चित अमेरिकी डिजाइनर एंगेलो डंगियाले गरे । फोहरा र सिलिङलाई आकर्षक र दुर्लभ चित्रकलाले सजाइएको छ । यो बनाउनमा ३० करोड अमेरिकी डलर खर्चिएको छ । दी जेन्टलम्यान जर्नलका अनुसार यसको एक टुक्रा हिस्सा स्टार फुटबल खेडाी क्रिस्टियानो रोनाल्डोले झण्डै दुई करोड अमेरिकी डलरमा खरिद गरिसके । 
अठारौं शताब्दीका फ्रान्सेली शैलीको कलाबाट प्रभावित भएर फर्निचर सजाइएको छ । मूलढोका सुन र हीराले सजाइएको छ । सिलिङमा ग्रीक कलाको चित्र कोरिएको छ । लाखौं डलर मूल्यका कला र मूर्तिले अर्पाटमेन्ट सजाएका छन् । ट्रम्प सुनका सौखिन हुन् । कोठाको टेबल वत्ती समेत सुनकै छ । ग्रीकको एथेन्सको शैलीबाट समेत उनको घर प्रभावित छ । ग्रीक शैलीको मार्बल छापिएको छ । आराम गर्ने कोठाको भित्ताहरूमा विश्वका सुन्दर आकृति देखि ग्रीसको प्राचीन प्रेमकथाको झल्को दिने आकर्षक कला पोतिएको छ । कोठाको बीचमा सुनकै सानो भाँडो जस्तो छ जसमा पानीको सानो फोहरा बनाइएको छ । ग्रीक देवीदेवताको मूर्ति सजाइएको छ । जसमध्ये ग्रीक देवी डनको मूर्ति छ । बिछ्यौना सुनको छ । बक्सिङका महान् खेलाडी मुहमद अलीद्वारा हस्ताक्षरित पुस्तक टेबुलमा छ । एक हजार कपी अलीको हस्ताक्षरमा प्रकाशन गरिएको पुस्तकको प्रति गोटा १५ हजार डलर मूल्य पर्छ । सत्ने कोठाका सिलिङहरूमा पनि सुनका कलात्मक सजावट छन् । कोठामा प्रशस्त ऐना राखिएको छ । कोठामा प्रवेश गर्नेवित्तिक ट्रम्पले आफूलाई चारैतिर देख्नसक्छन् । बेडमा बस्दा ट्रम्प र मेलानियाले एक अर्कालाई जताततैबाट देख्नसक्छन् । परिवार भेला हुने टेबुलमा बाबु फ्रेडको तस्वीर छ । छोरा ब्यारोनको कोठा खेलौनाले भरिएको छ । जसमा सानो हवाईजहाज देखि ब्याट्रीबाट चल्ने मिनी मर्सिडिज कारसम्म छन् । छोरा ब्यारोन सानो छँदा सुनको बच्चा राखेर गुडाउने स्ट्रोलर प्रयोग गरेका थिए । 
भान्सामा सजावट उत्तिकै आकर्षक देखिन्छ । सुनले छापिएको टेबुलमा राखेर खान्छन् । सुनकै आसन र सुनकै प्लेट र ग्लास छ । घडी उत्तिकै महङ्गो र आकर्षक छ । बाबुको तस्वीर राखिएको टेबुल नजिकै बसेर विहानीको नास्ता खान्छन् । नास्तामा दुध, सुन्तलाको जुसलाई प्राथमिकता दिन्छन् । टोष्ट र फलफूल खान्छन् । सुनको प्लेट र ग्लास प्रयोग गर्छन् । सुनको ट्रे प्रयोग गर्छन् । ट्रम्पको दोस्रो घर फ्लोरिडामा छ । समुन्द्री तटमा रहेको रिसोर्ट जस्तै घर आकर्षक स्थानमा छ ।  उक्त घर आरामदायी छ । त्यहाँ आकर्षक बगैंचा र पोखरी छ । नजिकै महासागरको दृश्य हेर्न सकिन्छ । ट्रम्प परिवारसहित हप्ते बिदाको समयमा त्यही बिलासी घरमा बस्छन् । उक्त घर ८० हजार वर्गफिट जमिनमा निर्माण गरिएको छ । यसमा ५८ वेड रुम, ३३ बाथरुम र २९ डाइनिङ टेबल रहेको छ । क्यालिफोर्नियामा पनि विशेष घर छ । जसमा व्यक्तिगत र व्यवसायिक रुपमा प्रयोग गर्छन् । यो घरमा नीजि क्लब र स्पा छन् जसको मूल्य झण्डै २० करोड अमेरिकी डलर डलर हो । 
ट्रम्प लामो यात्रा गर्नुपर्दा निजी बोइङ्गमा गर्छन् । एलेक्स उडहलले जेन्टलम्यान जर्नलमा उल्लेख गरेअनुसार विमानको सुत्नेकोठा र बाथरुममा समेत सुनले सजाइएको छ । उनी निजी हेलिकोप्टरको समेत प्रयोग गर्छन् । ७० लाख डलर मूल्य पर्ने हेलिकोप्टरको भित्री सजावटमा पनि सुनको प्रयोग गरिएको छ । ट्रम्प रोल्स रकीका फ्यान हुन् र मर्सिििडज बेन्ज एसएलआर मैकल्यारेनको प्रयोग गर्छन् । निलो डियाब्लो खरिद गरेका छन् । उनीसँग कस्टम गोल्ड मोरबाइक छ जसमा २४ क्यारेटको सुन जडान गरिएको छ । विलासी जीवनले उनको खर्च निकै बढी देखिन्छ ।  यतिसम्म विलासी जीवन बिताएका ट्रम्पका लागि व्हाइट हाउसभन्दा न्युयोर्क नै प्रीय छ । उनले व्हाइट हाउस कम छोएर अमेरिकाको बागडोर सम्हाल्ने बताउँदै आएका थिए । तर, सुरक्षा प्रोटोकलका कारण कठिन छ । 
हालै बजारमा आएको दीपेश केसीद्वारा लिखित पुस्तक डोनाल्ड ट्रम्पः चमत्कारै चमत्कार पुस्तकको सम्पादित अंश

Related News